सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

यसो गरे दसैँको भान्सा हुन्छ ताजा

बुधबार, १९ असोज २०७३, १३ : ०५
बुधबार, १९ असोज २०७३

दसैँमा माछा–मासुकै परिकार बढी हुने गर्छ । त्यसो त भेज आइटम पनि बनाउने गरिन्छ । घरमा एकैपटक धेरै मासु हुने भएकाले बासी रहने सम्भावना बढी हुन्छ । एकैपटक धेरै पकाएर पटक–पटक तताउँदै खाने गरिन्छ । यसकारण पनि अधिकांश नेपालीको दसैँको भान्सा ताजा हुँदैन । खाद्य प्राविधिक मदन चापागाईंले दसैँको भान्सा ताजा बनाउने उपाय सिकाएका छन्ः

-मासु–माछा, अन्डा, दूध हाई रिस्क फुडमा पर्छन् । आलो माछा–मासुलाई रेफ्रिजेरेटर छ भने त्यहाँ राख्नु नै केही लामो समयसम्म ताजा राख्ने उपाय हो । पकाइसकेको मासु पानी सुक्ने गरी फ्राई मात्रै गरिएको छ भने फ्रिजमा राखेर दुई–तीन दिनसम्म खान सकिन्छ ।

- ग्रेभी मासु छ भने विशेष विचार पुर्‍याउनुपर्छ । ग्रेभी मासु तीन घन्टाभन्दा बढी बाहिरी वातावरणमा राखेर खानु राम्रो मानिदैन । माछा–मासुमा ब्याक्टेरिया धेरै हुन्छ । मासु सेलाइसकेपछि तत्काल ब्याक्टेरिया पैदा हुन्छ र टक्सिनहरू उत्पादन गर्छन् । यस्तो मासु पछि तताएर खाए पनि ब्याक्टेरिया नष्ट हुँदैनन् । ग्रेभी मासु पकाइसकेपछि राम्रोसँग छोपेर फ्रिजमा राखियो भनेचाहिँ एक दिनसम्म खान सकिन्छ । तर, फ्रिजमै राखेर पनि एक दिनभन्दा बढी समयचाहिँ खान मिल्दैन ।

-सागसब्जीमा फुड प्वाइजन गराउने ब्याक्टेरियाहरू हुन्छन् । त्यसैले यस्ता परिकार बनाउँदा पनि सचेत हुनुपर्छ । कुहिएको, दाग लागेको तथा ढुसी देखिएका तरकारी पकाउँदा भान्सा ताजा हुँदैन ।

-तरकारी आधा घन्टासम्म मनतातो नुनपानीमा डुबाएर त्यसपछि काटेर पकाउनु राम्रो हुन्छ । यसो गर्दा तरकारीमा भएका ब्याक्टेरिया तथा विषाक्त पदार्थहरूको असर कम हुन्छ ।

-माछा–मासु पकाउँदा पनि विशेष ध्यान दिनुपर्छ । काँचो माछा–मासु राखेको भाँडाकुँडामा पकाइसकेको परिकार राख्दा फुड प्वाइजन हुन सक्छ । काँचो मासु लतपत्तिएको भाँडामा ब्याक्टेरियाहरू सक्रिय भइराख्ने भएकाले पाकेको परिकारमा त्यस्ता भाँडा लसपस हुँदा ब्याक्टेरियाहरू क्रस कन्ट्यामिनेसन भएर फैलिन जान्छन् । यस्तो अवस्थामा भाँडा सफा गरेर मात्रै प्रयोग गर्नुपर्छ । नयाँ पत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप