शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बालबालिकाको निमोनियाबारे १३ तथ्य

बुधबार, ०१ मङ्सिर २०७३, १७ : ३३
बुधबार, ०१ मङ्सिर २०७३

‘वाचा पूरा गरौँ, निमोनिया अहिलेदेखि नै रोकौँ’ भन्ने नाराका साथ केही दिनअघि विश्व निमोनिया दिवस मनाइयो । पाँच वर्षमुनिका बालबालिकाको ज्यान लिने प्रमुख कारक निमोनिया रोगबारे जनचेतना जगाउने काम नोभेम्बर १२ का दिन संसारभर भयो । नेपालले सन् २००९ देखि यो दिवस मनाउन थालेको हो । बालबालिकाको निमोनियाबारे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. दिनेश धरेलले केही तथ्य प्रस्तुत गरेका छन् :१. निमोनियाका कारण गत वर्ष मात्रै विश्वमा पाँच वर्षमुनिका नौ लाख २० हजारभन्दा बढी बालबालिकाको ज्यान गयो । यो विश्वकै कुल मृत्युको १६ प्रतिशत हो । निमोनियाका कारण मर्ने बालबालिकाको यो संख्या प्राणघातक एचआइभी र एड्स, क्षयरोग, औलो, जिका र इबोला सबैबाट हुने मृत्युको योगफलभन्दा पनि बढी हुन आउँछ । साधारणजस्तो लाग्ने निमोनिया रोगले नेपालमा पनि अरू रोगको तुलनामा सबैभन्दा बढी पाँच वर्षमुनिका बच्चाको ज्यान लिने गरेको छ ।

२. निमोनिया फोक्सोमा असर गर्ने श्वासप्रश्वासको संक्रमण हो । जब निमोनिया गराउने किटाणु श्वासमार्ग हुँदै फोक्सोसम्म पुग्छ, तब हावा भरिनुपर्ने फोक्सोभित्रका साना थैलीहरूमा पानी-पिप जम्न पुग्छ । यो अवस्थामा शरीरमा अक्सिजनको मात्रा पूरा गर्न कठिन भई सास फेर्न गाह्रो हुन्छ । ३. खोकी लाग्नु, छिटो–छिटो सास फेर्नु, कोखा हान्नु, घ्यार–घ्यार गर्नु र छाती दुख्नु निमोनियामा देखिने केही लक्षण हुन् । संक्रमणले कडा ज्वरो आउने हुन्छ, तर कहिलेकाहीँ ज्वरो नआउन पनि सक्छ । समयमा उपचार हुन सकेन भने किटाणु रगत हुँदै शरीरभरि फैलने वा फोक्सोबाहिर पिप जम्ने हुन्छ । अनि, बच्चा सिकिस्त भएर ज्यानसमेत जान सक्छ । ४. धेरैजसो निमोनिया श्वासप्रश्वासबाट एक–अर्कोमा सर्ने गर्छ । सामान्यतया श्वासमार्गमा किटाणुको प्रवेश हुँदैमा निमोनिया हुँदैन, किनकि एउटा स्वस्थ बच्चाको शरीरले उक्त संक्रमणको प्रतिरोध गर्छ । रोगसँग लड्ने क्षमता कमजोर भएका बच्चाहरू (पूर्णतया स्तनपान गर्न नपाएका शिशु, कुपोषित बच्चा, एचआइभी संक्रमित आदि)मा निमोनिया लाग्ने तथा ज्यानै लिने जोखिम बढी हुन्छ । ५. चुरोट वा दाउराको धुवाँले अनि हावा राम्ररी पास हुन नपाउने कोठामा धेरैजना बस्ने गर्दा निमोनियाको जोखिम बढ्छ । ६. बच्चालाई चिसो गढेर निमोनिया भएको हामी बारम्बार सुन्ने गर्छौं । नुहाइदिएर, एकैछिन चिसो ठाउँमा पुगेर वा हामीले सर्दी लाग्ने ठानेका कुनै खानेकुरा खाएर बच्चालाई निमोनिया लाग्ने होइन । यो त आँखाले देख्न नसकिने किटाणुको संक्रमणले गर्दा देखिने रोग हो । यस्ता किटाणुहरू ब्याक्टेरिया, भाइरस वा फंगाईमध्ये कुनै समूहमा पर्छन् । ७. बच्चाहरूमा सबैभन्दा बढी देखिने ज्यान लिन सक्ने खालको कडा निमोनिया दुईखाले ब्याक्टेरियाले गराउँछ । यी दुवै किटाणुबाट बचाउने खोप नेपालको नियमित खोप तालिकामा संलग्न छ र निःशुल्क उपलब्ध छ । एउटा किटाणुको संक्रमण ६, १० र १४ हप्तामा लगाउने खोपले रोक्छ भने अर्को ६ र १० हप्ता अनि नौ महिनामा लगाउने खोपले रोक्छ । धेरै हदसम्म प्रभावकारी भए पनि खोप लगाउ“दैमा कहिल्यै निमोनिया हुँदैन भन्नेचाहिँ होइन । ८. नवजात शिशुमा देखिने निमोनिया भने आमाको योनिमार्गबाट आउने फरक खालको ब्याक्टेरियाले गराउँछ । यो निकै कडा खालको हुन्छ । यीबाहेक विभिन्न उमेर र जोखिम समूहमा अन्य ब्याक्टेरियाले पनि निमोनिया गराउन सक्छ । ९. भाइरसले गर्ने संक्रमणले धेरैजसो फोक्सोमा असर गर्दैन । यसको अर्थ भाइरल संक्रमणले श्वासप्रश्वासमा असर गरेर खोकी लाग्ने भए पनि प्रायः निमोनिया हुँदैन । तर, दुई वर्षमुनिका (विशेषगरी महिना नपुगी जन्मेका बच्चाहरू) बच्चाहरूमा एक प्रकारको भाइरसले निमोनिया गराएर कहिलेकाहीँ ज्यानसमेत लिन सक्छ । १०. निमोनिया पत्ता लगाउन खासै कुनै परीक्षण आवश्यक पर्दैन । दक्ष स्वास्थ्यकर्मीले बच्चाको लक्षण हेरेरै या शरीर जाँच गरेर निमोनिया हो-होइन छुट्याउन सक्छन् । यो कुरा सबै तहको स्वास्थ्य संस्थामा सम्भव हुन्छ । कहिलेकाहीँ भने छातीको एक्स–रे र रगतको जाँच पनि आवश्यक हुन सक्छ । ११. ब्याक्टेरियाले गराउने निमोनियाका लागि उपयुक्त खालको एन्टिबायोटिक खानैपर्छ । खाने औषधिले नभेटेमा वा कडा निमोनिया भएमा भर्ना गरेर सुईबाट एन्टिबायोटिक लगाउनुपर्ने पनि हुन सक्छ । कहिलेकाहीँ अक्सिजन, सलाइन मात्र नभएर आइसियूमा राखेर मेसिनबाट सास फेराउनुपर्ने पनि हुन्छ । सानो बच्चामा हुने एक खालको भाइरल निमोनियामा पनि यस्तो गम्भीर अवस्था आउन सक्छ । १२. शिशुलाई जन्मनेबित्तिकै सुरु गरेर ६ महिनासम्म आमाको दूध मात्र खुवाउने अनि उमेरअनुसार पोषिलो खानेकुरा खुवाउनाले कडा निमोनियाको खतराबाट मुक्त गर्न सकिन्छ । नियमित सुईको आवश्यकता पनि पर्छ । नेपालमा गत वर्षदेखि मात्र सुरु भएको पिसिभी खोप (महँगो तर सरकारले निःशुल्क उपलब्ध गराएको) शिशुलाई निमोनियाबाट जोगाउने अमूल्य उपहार हो । १३. रुघाखोकी वा ज्वरो आउँदैमा जथाभावी एन्टिबायोटिक प्रयोग नगरेर सही पहिचान गरी सही प्रकारको एन्टिबायोटिक खुवाउने हो भने निमोनिया लागेको भए पनि सजिलै निको पार्न सकिन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप