बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सहमति खोज्न सभामुखसहित तीन दलको बैठक सिंहदरवारमा शुरु

सोमबार, ०४ पुस २०७३, ०६ : १३
सोमबार, ०४ पुस २०७३

काठमाडौँ – सभामुख ओनसरी घर्तीको आह्वानमा प्रमुख तीन दलको बैठक सिंहदरवारमा शुरु भएको छ । संविधान संशोधन प्रस्तावमा सहमति जुटाउनका लागि सभामुखले तीन दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाएकी हुन् ।

संविधान संशोधन विधेयक दर्ता गराउने सरकारी कदमको विरोधमा प्रमुख प्रतिपक्षी एमालेसहितका आठ दलले निरन्तर संसद् अवरोध गरिरहेका बेला सभामुखले सत्तापक्ष–प्रतिपक्षका शीर्ष नेताहरूलाई दोस्रो पटक एकैठाउँमा बोलाएकी हुन् ।

यसअघि, सभामुख घर्ती विदेश जानअघि शीर्ष दलका नेताहरुलाई छुट्टाछुट्टै भेटेकी थिइन् ।

यसअघि मंसिर २३ पनि तीन दलका शीर्ष नेताको बैठक डाक्दा प्रधानमन्त्री पुष्पकमल दाहालले समय नदिएपछि सभामुख घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै छलफल गरेकी थिइन् ।

आज बिहान प्रतिपक्षी गठबन्धनमा रहेका नेकपा एमालेसहित आठ दलको बैठक बसेको थियो । संविधान संशोधन प्रस्तावलाई जबर्जस्ती अगाडि बढाए त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

गठबन्धनमा प्रमुख प्रतिपक्षी एमाले, नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, परिवार दल, जनमुक्ति पार्टी, नेपा राष्ट्रिय पार्टी र मधेस समता पार्टी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप