बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय

बिहीबार, ०४ असार २०८३, २० : ०२
बिहीबार, ०४ असार २०८३

सारांश

  • प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ।
  • बैठकमा अर्थमन्त्रीले दुई विधेयक प्रस्तुत गर्नेछन् भने विभिन्न अध्यादेशहरूमाथि छलफल हुनेछ।
  • सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशहरू स्वीकृत वा अस्वीकृत गर्ने प्रस्तावहरू पेस हुनेछन्।

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्को शुक्रबार बस्ने भएको छ। बिहीबारको बैठकबाट विनियोजन विधेयक पारित भएसँगै सभामुख डीपी अर्यालले  शुक्रबार  बिहान ११ बजे अर्को बैठक बस्ने जानकारी गराएका हुन् । 

उक्त उक्त बैठकका लागि संसद् सचिवालयले ९ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकको सुरुमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुई वटा विधेयकहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। मन्त्री वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकको दोस्रो चरणमा विभिन्न अध्यादेशहरूलाई स्वीकृत गर्ने र अस्वीकार गर्ने सम्बन्धमा छलफल हुनेछ। जस अन्तर्गत ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ लाई अस्वीकार गरियोस् भनी खडक बहादुर बुढाले प्रस्ताव प्रस्तुत गर्नेछन् भने प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ का सम्बन्धमा नीता घतानीले अस्वीकार गर्ने प्रस्ताव र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सहकारी क्षेत्रसँग सम्बन्धित ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ लाई अस्वीकार गर्न आरेन राई र स्वीकृत गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्ताव पेस गर्ने कार्यक्रम तय भएको छ।

यसैगरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पनि पेस हुनेछ। यस अध्यादेशलाई अस्वीकार गर्न  कृपाराम रानाले र स्वीकृत गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप