बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
वामपन्थी नेता हेमन्तप्रकाश ओलीसँग 'वारपार'

‘यो कठपुतली सरकार हो, जगमै खोट छ’

बिहीबार, ०४ असार २०८३, २० : ००
बिहीबार, ०४ असार २०८३

काठमाडौँ । पछिल्लो निर्वाचनपछि नेपालका वामपन्थी दलहरू निकै कमजोर अवस्थामा पुगेका छन् । यी दलहरू फेरि पुनर्स्थापित होलान् कि नहोलान् भन्नेमा विभिन्न कोणबाट बहस पनि भइरहेका छन् । 

हेमन्तप्रकाश ओली क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हुन् । उनी परिवर्तनका लागि जनयुद्ध भएपनि पुरानै ढाँचाको सत्तामा गएर बस्दा त्यसले अपेक्षित परिणाम दिन सकेको स्वीकार गर्छन् । ‘त्यसबेलाका नेताहरूमा सत्ता र शक्तिको लोभ पैदा भयो, जसले गर्दा क्रान्ति दिशाहीन हुन पुग्यो,’ रातोपाटीको ‘वारपार’मा अन्तर्वार्ताका क्रममा उनले भने । 

संघीय लोकतान्त्रकि गणतन्त्र स्थापनापछि मात्रात्मक रूपमा उपलब्धिहरू भए पनि गुणात्मक उपलब्धि हासिल नभएको उनी निष्कर्ष निकाल्छन् । ‘गुणात्मक उपलब्धि भनेको त जनगणतन्त्रको स्थापना हुनुपर्थ्यो,’ उनलाई लाग्छ । 

वामपन्थी दलहरू कहाँ, किन र कसरी चुके ? यसै विषयमा केन्द्रित रहेर वामपन्थी नेता ओलीसँग गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) : 

तपाईं ६० वर्षको उमेरमा हुनुहुन्छ र ४५ वर्ष सक्रिय रूपमा वामपन्थी आन्दोलनमा बिताउनुभएको छ । अहिले नेपालको वामपन्थी आन्दोलन जुन अवस्थामा छ, त्यसलाई हेर्दा तपाईंको भूमिका वामपन्थी आन्दोलनलाई बलियो  बनाउन भयो कि कमजोर ?

४५ वर्षको लामो यात्रा खेर गएको छैन । हामीले पञ्चायती व्यवस्थाका विरुद्ध लड्यौँ र त्यसलाई ढाल्न सफल भयौँ । त्यसपछि बहुदलीय व्यवस्था आयो, तर त्यसमा पनि राजतन्त्र रह्यो । त्यसको अन्त्यका लागि हामी जनयुद्धमा होमियौँ ।

Hemanta Prakash Oli

१० वर्षको जनयुद्धपछि राजाको अन्त्य भयो र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । धर्मनिरपेक्षता, समानुपातिक समावेशी, संघीयता जस्ता महत्त्वपूर्ण उपलब्धि हासिल भए । यद्यपि हाम्रो लक्ष्य यहाँसम्म मात्रै सीमित थिएन । 

हाम्रो लक्ष्य त वैज्ञानिक समाजवाद र नयाँ जनवादी क्रान्ति थियो । क्रान्ति पूरा गर्ने बाटोमा हामीले केही गल्ती गर्‍यौँ, हाम्रा नेताहरूले सम्झौताको बाटो समाते । त्यसैले आन्दोलनले खोजेको पूर्ण गति प्राप्त गर्न सकेन ।

तपाईंले भन्नुभयो- क्रान्तिले सही बाटो लिएन । तर १० वर्षको जनयुद्ध र पछि लामो समयसम्मको वामपन्थी राजनीतिले देशलाई यो स्थानसम्म त ल्यायो नि, होइन र ?

मात्रात्मक रूपमा उपलब्धिहरू भएका छन्, तर गुणात्मक उपलब्धि भएनन् । गुणात्मक उपलब्धि भनेको त जनगणतन्त्रको स्थापना हुनुपर्थ्यो । मार्क्सले भनेका छन् कि पुरानो सत्ता चकनाचुर नपारी सर्वहारा वर्गका उद्देश्यहरू पूरा हुँदैनन् । हामीले पुराना सेना, अदालत र कर्मचारीतन्त्रलाई भत्काउन सकेनौँ । बरु पुरानै राज्यसत्ताको मेसिनरी र संरचनालाई स्वीकार्यौँ । हामीले परिवर्तन त खोज्यौँ, तर पुरानै ढाँचाको सत्तामा गएर बस्दा त्यो आन्दोलनले अपेक्षित परिणाम दिन सकेन । त्यसबेलाका नेताहरूमा सत्ता र शक्तिको लोभ पैदा भयो, जसले गर्दा क्रान्ति दिशाहीन हुन पुग्यो ।

नेताहरूले धोका दिए भन्नुभयो । तर तपाईं स्वयम् पनि पटक–पटक पार्टी परिवर्तन गर्दै आउनुभएको छ । तपाईंले सात पटक त पार्टी बदल्नुभयो । यो सुविधाका लागि थियो कि क्रान्तिको खोजी ?

मैले पार्टी बदलेको भन्दा पनि क्रान्तिको खोजीमा हिँडेको हो । प्रचण्ड र बाबुरामहरूले जब क्रान्तिको बाटो छोडे, शहीदहरूको सपना र उत्पीडित जनताको उद्देश्य पूरा गर्न हामीले क्रान्तिकारी धारको खोजी गर्‍यौँ । हामी सातवटा पार्टीमा पक्कै छैनौँ, तर एकताको प्रक्रियामा रहँदा र क्रान्तिकारीहरूको समूह खोज्दा धेरै आरोह–अवरोह पार गरियो । अहिले हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमार्फत तीनवटा क्रान्तिकारी धारहरूलाई एकताबद्ध गरेर अघि बढेका छौँ ।

तपाईंहरू आफैँ एकताबद्ध हुन सक्नुहुन्न, अनि जनताले तपाईंहरूलाई कसरी पत्याउने ? 

जनताले पत्याउँदैनन् भन्ने होइन । कतिपय कुराहरू समयसँगै पुष्टि हुन्छन् । जब प्रचण्ड र ओलीका गल्तीहरू जनताका सामु उदाङ्गो हुन्छन्, तब जनता पुनः क्रान्तिकारी विकल्प खोज्न आउँछन् । अहिलेको सरकार जुन तरिकाले आएको छ, त्यो जनताको वास्तविक म्यान्डेट होइन, यो ‘म्यानुपुलेसन’ हो । जनताले आक्रोशमा आएर विकल्प खोजिरहेका छन् ।

Hemanta Prakash Oli1

हामीले गर्ने भनेको क्रान्तिकारी धारहरूलाई एकताबद्ध गरेर एउटा स्वाधीन संयुक्त सरकारको निर्माण गर्नु हो ।

वर्तमान सरकारको बारेमा तपाईंको टिप्पणी के छ ? के यो सरकारले जनमतको सम्मान गरेको छ ?

यो सरकार नाटकीय ढङ्गले, अदृश्य शक्तिको ईशारामा र बाह्य शक्तिको चलखेलबाट आएको हो । यो एउटा कठपुतली सरकार हो, जसको जगमै खोट छ । १६ वर्षदेखिको कूटनीतिक र राजनीतिक अभ्यासको नतिजा हो यो । यसले जनमतको भन्दा पनि विदेशी शक्तिको स्वार्थको प्रतिनिधित्व गरेको छ । यसैले गर्दा नै यो सरकारको आयु लामो हुनेछैन ।

वामपन्थी आन्दोलनले चाहिँ समाजलाई के दियो त ?

वामपन्थी आन्दोलनले नेपाली समाजलाई चेतना दिएको छ । आजको जनता राजनीतिक रूपमा सचेत हुनु र लड्न सक्नुको मुख्य श्रेय वामपन्थी आन्दोलनलाई नै जान्छ । यसले राजतन्त्रको अन्त्य गर्‍यो र गणतन्त्र ल्यायो । केही हदसम्म सुधारका प्रक्रियाहरू सुरू भए ।

Hemanta Prakash Oli2

तर आन्दोलनले आमूल परिवर्तन दिन सकेन । अबको कार्यभार भनेको त्यसैले ल्याएको चेतनालाई प्रयोग गरेर वास्तविक समाजवादतर्फको यात्रा तय गर्नु हो ।

नेपालको वामपन्थी आन्दोलनको भविष्य कस्तो देख्नुहुन्छ ?

आन्दोलनको भविष्य सकिएको छैन । जबसम्म उत्पीडन छ, तबसम्म आन्दोलन रहन्छ । कम्युनिस्टहरू अहिले केही कमजोर देखिएका छन्, तर यो क्षणिक हो । हामी सबै क्रान्तिकारी शक्तिहरू, जो मार्क्सवाद–लेनिनवाद–माओवादमा विश्वास गर्छौँ, एक ठाउँमा आएर राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत अगाडि बढ्यौँ भने यो व्यवस्थाको विकल्प खोज्न सकिन्छ । हामीले देशलाई फेरि पनि आत्मनिर्भर र स्वाधीन बनाउनुपर्छ । हाम्रो संघर्ष जारी रहन्छ, किनभने यो देश र जनताको आवश्यकता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप