बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत स्वास्थ्य चौकी निर्माण हुँदै

सोमबार, ०४ पुस २०७३, ०६ : ४४
सोमबार, ०४ पुस २०७३

बनेपा - भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न गाविसमा १२ वटा स्वास्थ्य चौकी निर्माण हुने भएका छन् ।

जिल्लाको महेन्द्रज्योति, रविओपी, खरेलथोक, ज्याम्दी, चण्डेनीमण्डन, पोखरीचौरी, सानोबाङ्थली, गोठपानी, वाल्टिङ बनखु र फलामेटार गाविसमा त्यस्ता स्वास्थ्य चौकी निर्माण हुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यी गाविसमध्ये महाभारत शृङ्खला डाँडापारिका केही र कोशीपारिका केही गाविस दुर्गम क्षेत्र मानिन्छन् ।

कर्मचारी आवाससहितका ती स्वास्थ्य चौकीमा, प्रसूति कक्ष, फार्मेसी कक्ष, उपचार कक्ष, बर्थिङ सेन्टरलगायतका कक्ष हुने र त्यसबाट बिरामीलाई सेवा दिइनेछ । सबै स्वास्थ्य चौकीमा नेपाल रेडक्रस सोसाइटीले रु तीन लाख बराबरको विभिन्न उपकरणसमेत प्रदान गर्ने नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधि शेरबहादुर कार्कीले जानकारी दिए ।

डेनिस रेडक्रस, कोरियन रेडक्रसको आर्थिक सहयोगमा निर्माण हुन लागेको एउटा स्वास्थ्य चौकीमा रु ७० लाखदेखि झन्डै रु एक करोड हाराहारीमा लगानी रहेको बताइएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले स्वास्थ्य क्षेत्रमा सरकारको मात्रै मुख ताकेर बस्न नहुनेमा जोड दिँदै विभिन्न सङ्घसंस्थाको सहयोगमा भए पनि जनताले स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।

सोसाइटीका शेरबहादुर कार्कीले भूकम्पबाट प्रभावित जिल्लालाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालनमा आएको बताए ।

नेपाल रेडक्रस सोसाइटी, काभ्रेपलाञ्चोकका सभापति रघुवर चौप्रधानले स्वास्थ्य सेवामा जनताको पहुँच स्थापनाका लागि स्वास्थ्य चौकी निर्माण थालिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप