बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

एमालेलाई कानुनमन्त्रीको प्रश्न : निर्वाचनको विधेयक रोकेर कसरी हुन्छ निर्वाचन ?

सोमबार, ०४ पुस २०७३, १७ : ३९
सोमबार, ०४ पुस २०७३

काठमाडौं - कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले निर्वाचनसम्बन्धी विद्येयक, महाअभियोगको प्रस्ताव र संविधान संशोधन प्रस्तावमा प्याकेजमै सहमति कायम गर्नेगरि दलहरुवीच प्रयास भैरहेको खुलासा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले सरकारले निर्वाचनसम्बन्धी विद्येयक, महाअभियोगको प्रस्ताव, संविधान संशोधन विद्येयकमा प्रमुख प्रतिपक्षी दल एमाले लगायतका विपक्षी दलहरुसँग प्याकेजमै सहमति गर्ने प्रयास गरिरहेको बताएका हुन् ।

उनले भने,‘सरकार जबरजस्ती गर्ने पक्षमा छैन, एकलौटी ढंगले अघि बढ्न चाहेको छैन, हामी त सहमतिका साथ अघि बढ्न चाहन्छौं ।’ उनले आगामी पुस ७ गते बस्ने संसद बैठकमा यी विषयमा प्याकेजमै सहमति कायम गरेर प्रस्ताव टेबुल गर्ने जानकारी दिए ।

साक्षात्कारमा बोल्दै मन्त्री नायकले प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गरेर आफूलाई राष्ट्रिय पार्टीको भूमिकाबाट पन्छाईरहेको आरोप लगाए ।

उनले भने,‘एमाले राष्ट्रिय पार्टी त हो, तर उसको भूमिका हेर्दा अहिले कता कता शंका लागेर आउँछ, कि एमाले साँच्चिकै राष्ट्रिय पार्टी हो त ? भनेर, एमालेको भूमिकाले कतै राष्ट्रलाई डुबाउन त खोजेको छैन भनेर मलाई आंशका लागेको छ ।’

उनले संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचिमै नहुँदापनि एमालेले संसद अवरुद्ध गरेर गलत काम गरिरहेको आरोप लगाए । उनले भने,‘संसदको कार्यसूचिमा संशोधन प्रस्ताव नै छैन, तैपनि एमालेले संसद अवरुद्ध गरिरहेको छ, संसदको कार्यसूचिमा त निर्वाचन छ, निर्वाचन त सबैको आवश्यकत्ता हो ।’ उनले निर्वाचन सम्बन्धी विद्येयकको कार्यसूचिलाई किन प्रवेश गर्न दिईएन भनेर प्रश्न समेत तेर्साए ।

मन्त्री नायकले निर्वाचनको वातावरण बनाउनेतर्फ सबैले सोच्नुपर्नेमा जोड दिए । उनले अघि थपे,‘मधेश, थारु र जनजातिहरुलाई पेलेर निर्वाचन हुन्छ त ? पेलेरै जाने हो त ? त्यसो गर्दा समस्याको निकास कसरी निस्किन्छ ?

उनले एमालेले राष्ट्रिय भूमिकाबाट पन्छिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोष थुपार्ने काम गरिरहेको गुनासो पोख्दै मन्त्री नायकले भने,‘एमालेले पनि राष्ट्रिय भूमिका निर्वाह गर्नुपर्छ, पन्छिएर समस्याको समाधान हुँदैन नि ?’ उनले मुलुकको निकासको लागि एमालेले पनि पहलकदमी लिनुपर्ने धारणा राखे ।

उनले देश र जनतालाई यतिवेला निर्वाचन आवश्यकत्ता रहेको स्पष्ट पारे । उनले भने,‘देश र जनतालाई अहिले निर्वाचन आवश्यक छ, तर एमालेले निर्वाचनको नौटँकी गरिहेको छ भन्ने पुष्टि भयो ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएकोले यसलाई कुनै हालतमा संसदमा पेश गर्नै नदिने चेतावनी दिएका छन् । पाण्डेले भने,‘यो राष्ट्रघाती संशोधन प्रस्ताव कुनै हालतमा संसदमा टेबुल हुन दिँदैनौं ।’

एमालेले भोटको राजनीति गरिरहेको छ : सोनल

मधेशी मोर्चाका नेता जितेन्द्र सोनलले संविधान संशोधन प्रस्तावलाई सदनमा प्रस्तुत गर्न दिनुपर्ने बताएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध गरेर असुहाउँदो काम गरिरहेको समेत आरोप लगाए । सोनलले भने,‘एमालेले पश्चगामी कदम चाल्यो ।’

उनले यसअघि पनि एमालेले ०४८ सालमा ५७ औं पटक संसद अवरुद्ध गरेको ईतिहाँस कोट्याउँदै भने,‘अहिलेपनि एमाले त्यही बाटोमा जाने हो कि भन्ने भान भैरहेको छ ।’ उनले संविधान संशोधन नभएसम्म यो संविधान कार्यान्वयन हुनै नसक्ने समेत ठोकुवा गरे । उनले भने,‘मुलुकको समृद्धिको लागि पनि यो संविधान संशोधन हुनुपर्छ, सम्पूर्ण चुनावको पक्षमा छ, तर हाम्रो पहिलो शर्त भनेको संविधान संशोधन हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप