बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

जहाँ विद्यार्थीहरु भोकभोकै विद्यालय जान्छन् ...

मङ्गलबार, २६ पुस २०७३, ११ : ३२
मङ्गलबार, २६ पुस २०७३

पर्वत– सरकारी वेवास्ताका कारण पर्वतको नाग्लीवाङमा रहेको जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीहरु गुणस्तरिय शिक्षा पाउँनबाट बञ्चित भएका छन् ।

२०५७ सालबाट सञ्चालनमा आएकोे यो विद्यालयमा अधिककांश दलित समुदायका विद्यार्थीहरु अध्यनरत छन् । स्थानीयवासीको पहलमा कक्षा तीनसम्म अध्यापन हुनेगरि स्थापना भएको विद्यालय सरकारी वेवास्ताकै कारण स्तरोन्ती समेत हुन सकेको छैन ।

अझ रोचक पक्ष त के छ भने स्थापना भएको झण्डै १६ बर्ष वित्न लाग्दा पनि यो विद्यालयमा एकपटक मात्र पनि कुनै जिल्ला शिक्षा अधिकारीले पाइला राखेका छैनन् । विद्यालयमा शिक्षकको अभाव, बालबालिकालाई पिउने पानीको समस्या, शैक्षिक सामग्री र शिक्षक अभावले गाँजेको शिक्षकहरुले बताएका छन् ।

समस्या सुनाउँदै प्रधानाध्यापक तारा महत भन्छिन्, ‘शिक्षालाई प्रविधियुक्त बनाउन अन्य विद्यालयमा आईसिटी, कम्प्युटर, अङ्गे्रजी माध्यममा अध्यापन हुँदा याँहा भने कालोपाटीमै अध्यापन गराउनु परेको छ ।’ गुणस्तरीय शिक्षाका लागि लोकप्रिय नारा ल्याईएपनि अभावबै अभावले अध्यापनमा प्रभाव परेको उनको भनाई छ ।

उनी थप्छिन्, ‘याँहा अध्ययन गर्ने बालबालिका अत्यन्त कमजोर आर्थिक अवस्थाका छन् । जाडो मौसममा पनि एकसरो लुगामा विद्यालय आउँछन्, कतिपयले खाना खान्छन् त कतिपयले अरुले दिएको तथा बासी खाना पाए खाएर नत्र भोकै विद्यालय आउने गरेका छन् ।’

विद्यालयमा ईसिडी देखि कक्षा तीनसम्म ४७ जना विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन् । यीमध्ये ३८ जना विद्यार्थी त दलित मात्रै रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर खड्का भन्छन्, ‘कक्षा एकदेखि तीनसम्म दुई जना शिक्षकले अध्यापन गराउँदै आईरहेका छौँ, ती मध्ये एक जना राहत तथा एक जनाको अस्थायी दरबन्दी रहेको छ ।’

उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालयले २०६८ सालमा नयाँ दुईकोठे पक्की भवनका लागि सात लाख ५० हजार तथा गतसाल भवन मर्मतका लागि २५ हजार छुट्याएको थियो । त्यस्तै शौचालय निर्माणका लागि दुई लाख रकम विनियोजन गरि आफ्नो उपस्थिती देखाएको शिक्षा कार्यालयबाट विद्यालयको निर्माणको झन्डै दुई दशक हुन लाग्दा पनि एउटा जिल्ला शिक्षा अधिकारी उक्त विद्यालयमा पुग्न सकेका छैनन् ।

शिक्षा कार्यालय पुग्न नसकेको उक्त विद्यालयमा भने सामाजिक क्षेत्रमा अग्रणी संस्था रोट्रयाक्ट क्लव अफ पर्वत र रोट्रयाक्ट क्लव अफ काठमाण्डौ नर्थले सोमबार संयुक्त कार्यक्रम गरि विद्यालयका सबै विद्यार्थीलाई स्वेटर वितरण गरेको छ । नाग्लीवाङ्गका युवा समाजसेवी सोम जिसीको अनुरोधमा दुवै क्लवले संयुक्त कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सहयोग गरेका हुन । कार्यक्रममा विद्यालयका ४७ जना विद्यार्थीलाई दुवै क्लवका पदाधिकारीहरुले खाजा खर्च कटाएर जाडो मौसममा उपयुक्त हुने कपडा वितरण गरेको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप