बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

गाउँपालिकाले एक वर्षदेखि तलब नदिएको भन्दै ३९ सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

बुधबार, ०३ असार २०८३, ११ : ५१
बुधबार, ०३ असार २०८३

सारांश

  • दैलेखको ठाटीकाँध गाउँपालिकाले एक वर्षदेखि शिक्षक तथा कर्मचारीको पारिश्रमिक नदिएपछि ३९ सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको छ ।
  • गाउँपालिकाले ९७ जना शिक्षक तथा कर्मचारीलाई विगत एक वर्षदेखि पारिश्रमिक नदिएको र पटकपटकको सहमतिपछि पनि कार्यान्वयन नभएपछि विद्यालय बन्द गरिएको हो ।
  • आन्दोलनका कार्यक्रमअनुसार असार ५ गतेदेखि शिक्षा शाखा, लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने योजना छ ।

 सुर्खेत । एक वर्षदेखि शिक्षक तथा कर्मचारीको पारिश्रमिक नदिएको भन्दै दैलेखको ठाटीकाँधका अधिकांश  सामुदायिक विद्यालय बुधबार बन्द गरिएका छन् ।

 ठाटीकाँध गाउँपालिकाले ९७ जना शिक्षक तथा कर्मचारीले आफूहरुलाई विगत एक वर्षदेखि पारिश्रमिक नदिएको बताएका छन् । पटक–पटक सम्झौता र सहमति गर्दा पनि पारिश्रमिक नदिइएपछि बुधबार पालिकाभरका ३९ वटा सामुदायि विद्यालय बन्द गरिएको गाउँपालिका अनुदान शिक्षक संघर्ष समितिका सचिव रविलाल देवकोटाले रातोपाटीलाई बताए ।

‘हामीले हिजो (मंगलबार) नै आन्दोलनको घोषणा गरिसकेको हो, सोही अनुसार आज सबै विद्यालय बन्द गरिएको हो,’ उनले भने ।

उनका अनुसार, गाउँपालिका आफैँले अनुदान कोटामा नियुक्त गरेका शिक्षक, कर्मचारी, बालविकास सहजकर्ता र विद्यालय सहयोगीहरूको पारिश्रमिक दिएको छैन ।
उनले आन्दोलनका कार्यक्रमअनुसार असार ५ गतेदेखि शिक्षा, युवा तथा खेलकुद शाखा, लेखा शाखा तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यक्रम रहेको बताए । 

आफूहरुको मागका सम्बन्धमा गाउँपालिका अध्यक्ष रक्षबहादुर शाही सकारात्मक देखिए पनि कर्मचारी र वडाध्यक्षहरूले असहयोग गरिरहेको गुनासो गरे । गाउँपालिकाले एकातिर कार्यरत शिक्षकलाई तलब दिएको छैन भने अर्कोतिर सोही प्रकृतिका नयाँ शिक्षकहरू नियुक्त गरिरहेको उनको भनाइ छ । 

स्कुल बन्द गरिएपछि विद्यालय पुगेका विद्यार्थीहरु घर फर्किएको मालिका मावि ठिमुरेका प्रधानाध्यापक महेन्द्रबहादुर शाहीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप