सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण सम्पन्न

बिहीबार, ०५ फागुन २०७३, २० : १४
बिहीबार, ०५ फागुन २०७३
काठमाडौँ – सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ । भूकम्पबाट क्षति भएका १४ जिल्लाका भत्किएका सात हजार ९ सय २३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनःनिर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराए। शिक्षा पत्रकार सञ्जालले आयोजना गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उनले सरकार, विभिन्न दातृ निकाय संस्थाको सहयोगमा ती विद्यालयको पुनःनिर्माण गरिएको बताएका हुन्। तीमध्ये जापानी सहयोग नियोक (जाइका)ले छ जिल्ला र एसियाली विकास बैंक आठ जिल्ला गरी १०२ तथा विभिन्न गैरसरकारी संस्थाले ८८ विद्यालय बनाएका छन् । बाँकी सरकारी बजेटमा विद्यालय निर्माण गरिएका छन् । सहसचिव श्रेष्ठले भूकम्पबाट क्षति भएका विद्यालय बनाउन सरकारले रु चार अर्ब बजेट विनियोजन गरेको बताए। भूकम्पबाट क्षति भएका जाइकाले २८३, एसियाली विकास बैंकको सहयोगमा १७५, चीनको सहयोगमा १२ जिल्लाका १७ विद्यालय अनुदानमा बनाउने समझदारी भएको छ । यसैगरी भारतीय सहयोगमा सात जिल्लाका ७० विद्यालयमा बनाउने तयारी भइरहेको छ । सरकारको विभिन्न दातृ निकायबाट दुई हजार ८०२ विद्यालय बनाउने लक्ष्य रहेको छ । दातृ निकायबाट रु एक खर्ब ८० अर्ब विद्यालय निर्माणका लागि कुरा भए पनि अहिलेसम्म ५५ अर्बको स्रोत पहिचान भएको उनले बताए। शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विभागले असारमसान्तसम्म ४४ जिल्लामा चार हजार ४१० कक्षाकोठा बनाउने बताए। उनले देशभरि नै दुई लाख २८ हजार कक्षाकोठा बनाउन आवश्यक पर्ने भए पनि ५७ हजार ७४६ कक्षाकोठा बनाउने विभागको योजना रहेको धारणा राखे। कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले सरकारले विद्यालय पुनःनिर्माणका लागि पर्याप्तमात्रामा बजेट नछुट्याएकाले सुस्त गतिमा काम भइरहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप