सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘काठमाडौँ सेल्फी’ विश्वस्तरको कृति भएको जिकिर

बिहीबार, ०५ फागुन २०७३, २२ : १८
बिहीबार, ०५ फागुन २०७३
काठमाडौँ –  साहित्यकार प्रकाश सायमीको ‘काठमाडौँ सेल्फी’ नामक निबन्ध सङ्ग्रहमाथि आज गरिएको छलफलमा सङ्ग्रह विश्वस्तरको कृति भएको विचार छलफलमा व्यक्त गरेका छन् । स्थानीय काठमाडौँ उपत्यका सार्वजनिक पुरस्कालयद्वारा आयोजित ‘सिर्जना संवाद’ कार्यक्रममा करिब छ महिनाअघि प्रकाशित निबन्धसङ्ग्रहमाथि टिप्पणी गर्दै चलचित्रकर्मी चेतन कार्कीले कृति विश्वकै सेल्फी नै भएके टिप्पणी गरे । त्यस्तै, गीतकार सुवासचन्द्र ढुङ्गेलले विश्वस्तरबाट हेर्दा कृति उच्चस्तरीय भएको विचार व्यक्त व्यक्त गरे। कथाकार माया ठकुरीले पनि कृतिमा सायमीले आफ्नो बहुआयामिक व्यक्तित्वलाई प्रकट गरेको बताइन। उक्त कार्यक्रमका संयोजक डा सनतकुमार बस्तीले काठमाडौँ केन्द्रित नेपाली कला, सङ्गीत, उच्चस्तरीय साहित्यका विविध पक्षलाई कृतिमा समावेश गरिएको बताउँदै ‘सिर्जना संवाद’ कार्यक्रम प्रत्येक महिनाको पहिलो बिहीबार हुने गरेको जानकारी दिए । शब्दहार क्र्रियसन्सद्वारा प्रकाशित सो कृतिमा बिपी कोइराला, शङ्कर लामिछाने, धुस्वाँ सायमी, भूपी शेरचन, वासु शशी, जनकबहादुर राणा, मित्रसेन थापा, अम्बर गुरुङ, अरुणा लामा, गोपाल योञ्जन, नारायण गोपाल, दिव्य खालिङ जस्ता नेपाली र नेपालीभाषी तथा गालिब, शवाना आजमी, सत्यजित रे,गुल्जार, रजनीश, आरके लक्ष्मण आदिसँग सम्बन्धित ४३ रचना छन् । सम्पादकलाई चिठ्ठी लेख्ने नन्दनहरि ओखलढुङ्गे, रेडियोमा बढी गीत फर्मायस गर्ने ताजमा–करिम हवारी,नाट्यकर्मी सपना प्रधान, गायक रुपनारायण, अभिनेता प्रकाश अधिकारी, अभिनेत्री सूर्यमाला–चन्द्रमाला शर्मा, निर्देशक मनहरि भण्डारीको नाम हराएकामा चिन्तादेखि लिएर लेखकहरुसँग लेख रचना माग्न ताकेता गर्ने सम्पादकभैरव अर्याल, बादेपा, युवराज घिमिरे आदिलाई ‘लिभिङ इन्साइक्लोपेडिया’ लेखकले सम्झिएको छ । रेडियोमा ‘अजम्मरी गीत–सङ्गीत’, ‘अजर अमर गीतहरु’ कार्यक्रम सञ्चालन गर्ने सायमी प्रथम नेपाली गायक सेतुराम श्रेष्ठ तथा प्रथम गायिका मेलवादेवीदेखि उस्ताद बद्री र उस्ताद साइँलासम्मका कथा कण्ठस्थ छन् । त्यही वाग्प्रसाद लिएर उनी रेडियो नेपालका प्रथम गीतकार शङ्कर लामिछानेदेखि लिएर क्षेत्रप्रताप अधिकारी, नीर शाह, ईश्वरबल्लभ आदि गीतकारको जीवनी अक्षरशः भन्न सक्ने क्षमता राख्छन् । दार्जिलिङका तीस वर्षकै उमेरमा बितेका गीतकार–सङ्गीतकार शरण प्रधान र अरुणा लामाको दाम्पत्य जीवनको कारुणिक कथा, नेपाली नागरिकताविहीन दिव्य खालिङका अन्तिम दिनहरु, उदितनारायण झाको विरोधाभासी जिन्दगी पनि प्रस्तुत कृतिमा पढ्न सकिन्छ । नेपाल र भारतको संयुक्त लगानीमा बनेको तर प्रदर्शनमा नआई अवसान भएको ‘पञ्चवटी’चलचित्र तथा दुर्गालाल श्रेष्ठ र मल्ल के सुन्दरसम्मिलित ‘नेवारभाषा’मा बन्न लागेको चलचित्रको तुहाइ, ‘कञ्चनजङ्घा’चलचित्रमा गोपाल योञ्जनको बाँसुरी वाद्यवादनको प्रयोग गरिए पनि त्यसलाई श्रेय नदिएको रहस्य सायमीले बताए । मनको बोली नभएको आत्मकथा र खोल मात्र सुन्दर भएको पुस्तक, साहित्यमा हुने एकाधिकारवाद, बालबालिकामाथि हिंसा थोपर्ने आतङ्कवादी,को पनि उनले कृतिमा जमेर व्यङ्ग्य गरेका छन् ।ओशो अर्थात् रजनीशलाई नेपालमा शरण नदिइएर पर्यटन प्रवद्र्धनको ठूलो मौका गुमाएको थकथकी पनि पुस्तकमा पोखाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप