शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

त्यो बैठक जसले डोरमणिलाई मुख्यमन्त्री बन्ने बाटो खोल्यो

शुक्रबार, २६ माघ २०७४, १४ : ५२
शुक्रबार, २६ माघ २०७४

काठमाडौं । विहिबार साँझतिर काठमाडौंमा एमाले प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्यहरुको गोप्य बैठक बस्यो । बैठकमा एमाले अध्यक्ष केपी ओली समूहका प्रदेश सांसद मात्र सहभागी थिए ।

शुक्रवार हुन लागेको प्रदेशसभा संसदीय दलको नेता चयनको रणनीति बनाउन ओली समूहका प्रदेश सांसदहरु भेला भएका थिए । भेलामा ३४ सांसद सहभागी थिए ।

त्यहाँ केही समयका लागि ओली पनि पुगे ।

ओलीले प्रदेश सांसदहरुलाई निर्देशन दिए, ‘भोट दायाँ–बायाँ होइन । डोरमणिलाई जिताउने ।’

त्यसपछि शुक्रवार एमाले प्रदेश नम्वर ३ को संसदीय दलको बैठक थियो । त्यहाँ केही सहमति बनेन । मुख्यमन्त्रीका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले दलको नेताका लागि उम्मेदवारी दर्ता गरे ।

अध्यक्ष ओलीबाट सद्भाव नपाएपछि राजेन्द्र पाण्डे ‘रेस’मै प्रवेश गरेनन् । उनले उम्मेदवारी पनि दर्ता गराएनन् ।

त्यसपछि भएको चुनावमा पौडेलले शाक्यलाई १० मतले पराजित गरे । पौडेलको पक्षमा ३४ र शाक्यको पक्षमा १० मत खसे । पाण्डे मैदानमा नत्रिएपछि डोरमणिलाई सजिलो भयो ।

एमाले स्रोतका अनुसार डोरमणि राष्ट्रपति विद्यादेवी भण्डारी नजिकका पात्र हुन् ।

पौडेल नेकपा एमालेको ३ नं प्रदेशका प्रदेश सदस्य हुन् ।

यसअघि उनी हेटौंडा नगरपालिकाका मेयर पनि भैसकेका व्यक्ति हुन् ।

उनले हेटौडा नगरपालिकामा ‘ग्रीनसिटी’ को अवधारणा ल्याएका थिए । यहि अवधारणा अनुसार हेटौंडा शहरमा सडको दुबैतर्फ रुख रोपेका छन् ।

३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेपछि पौडेलले यो प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउने बताए ।

चुनाव जितेपछि भने, ‘यो प्रदेश अहिलेपनि सबैभन्दा समृद्ध प्रदेश छ । अब म मुख्यमन्त्री भएपछि यसलाई झन् समृद्ध बनाउछु ।’

जेष्ठ सदस्यको हैसियतमा उनले शुरुमै प्रदेशसभाको बैठकको अध्यक्षता गरेका थिए ।

चर्चा बढी शाक्यको

एमालेका केही नेताहरुको दावी मान्ने हो भने ओलीले शाक्यलाई भेटेर ‘तपाईं नै हो मुख्यमन्त्री हुने’ भनेर आश्वसन दिएका थिए ।

तर, अन्तिममा शाक्यविरुद्ध अध्यक्ष ओलीले नै पौडेललाई उम्मेदवार बनाएको माधव नेपाल पक्षका नेताहरुको आरोप छ ।

३ नं प्रदेशमा एमालेका प्रदेश सभा सदस्यमा ५८ जना सांसद छन् ।

यसमध्ये ओली समूहका ३४ र नेपाल समूहका २४ जना प्रदेशसभा सदस्य छन् ।

केही महिला सांसद र केही नेवा समुदायका सांसदको सहयोगमा चुनाव आफुले जित्ने शाक्यको हिसाव थियो । तर, ओली समूहका सांसदको भोट यताउति भएनन् ।

पराजयपछि शाक्य भनिन्

सर्वसम्मतरुपमा मलाई नै दलको नेता बनाउनुपथ्र्यो । तर, केपी ओलीले मान्नु भएन । मलाई राजनीतिक रुपमा सक्ने काम नेतृत्वले गरेको हो  । नेतृत्व भन्ने बित्तिकै केपी ओली नै हुन् । आजको चुनावले मेरो राजनीतिक योगदानलाई सक्ने काम मात्र गरेन, महिलाले नेपालको कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको अपमान गरेका छ । यसले अब ओलीलाई राम्रो गदैन । आजसम्म म कसैका विरुद्ध बोलिनँ । आजबाट मलाई पनि बाटो खुलेको छ  । यीनका सबै हर्कतका विरुद्ध बोल्ने छु ।

पार्टीले मेरो मूल्याङ्कन गर्न सकेन । म ओलीको गुटबन्दीको शिकार भएँ ।  विभाजन नगर्न नेतृत्वलाई पटक–पटक आग्रह गर्दा पनि भएन । आफ्नो गुटकालाई सीधा आदेश दिएर मलाई भोट नहाल्न भनियो ।

अहिले सजिलो भएपनि यसले पार्टीलाई भलो गर्ने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप