शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गजेन्द्रबाबुको नाममा राजपामा लफडा, अनिल झा बाहिरिने सम्भावना

शनिबार, २३ वैशाख २०७४, १९ : २६
शनिबार, २३ वैशाख २०७४
काठमाडौ वैशाख २३– मधेशका छ दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बनेको तीन साता पनि पुगेको छैन । पार्टी एकता भएको मात्रै १७ दिन पुगेको छ तर सो पार्टीमा अनेक लफडाहरु आइरहेका छन् । पार्टी एकता हुने वित्तिकै पार्टीको नामको लफडा शुरु भएको थियो । नामका पछाडि नेपाल थपेर त्यसलाई सच्याइयो । पार्टीमा चुनाव चिन्हको लफडा कायमै छ । राजपा नेपालमा धेरै पदको वृद्धि भएको भनेर असन्तुष्टि पनि छ । अहिले आएर नयाँ लफडा आएको छ, त्यो गजेन्द्रनारायण सिहको नाम, सिद्धान्त र विचार । छ वटा मधेशवादी दल मिलेर बनेको नयाँ पार्टीको सबै थोक नयाँ नै बनाउन लागिएको छ । छ दलमध्ये कसैको केही कुरा नराख्ने सहमति भएको छ । नयाँ नाम, नयाँ चुनाव चिन्ह, नयाँ झण्डा हुँदा हुँदै नयाँ विधान, नयाँ घोषणापत्र, नयाँ विचार र नयाँ सिद्धान्त पनि तयार भइरहेको छ । तर यसमा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाको पार्टी नेपाल सद्भावना पार्टी मानिरहेको छैन । अहिले राजपाभित्र विधान र पार्टीका घोषणापत्र बनाउन दिनरात बैठकहरु बसिरहेको छ । त्यसका लागि एउटा कार्यदल बनेको छ । कार्यदलमा राजपाका नेताहरु लक्ष्मणलाल कर्ण (सद्भावना पार्टी), रामनरेश राय यादव (तराई मधेश सद्भावना पार्टी) वृषेशचन्द्र लाल (तमलोपा), सीपी सिंह (फोरम गणतान्त्रिक), कौशलेन्द्र मिश्र (नेपाल सद्भावना पार्टी) र केशव झा (राष्ट्रिय मधेश समाजवादी पार्टी) रहेका छन् । कार्यदलको बैठकमा नेपाल सद्भावना पार्टीका महासचिव रहिसकेका राजापाका नेता कौशलेन्द्र मिश्रले गजेन्द्रनारायण सिहको केही केही कुरा राख्नुपर्ने धारणा राख्दै आएका छन् । मधेश राजनीतिमा गजेन्द्रनारायण सिंहको लामो इतिहास रहेको छ, त्यसलाई विर्सन सकिँदैन, उनको योगदानको चर्चा कतै न कतै विधान र पार्टीको घोषणापत्रमा हुनैपर्ने भनेर मिश्रले दबाब दिँदै आएका छन् । स्रोतकाअनुसार, नेता मिश्रले राजपाको चुनाव चिन्ह हात राख्दा पनि हुने भनि दबाब दिएका छन् । ‘हात’ गजेन्द्रनारायण सिहले स्थापना गरेका नेपाल सद्भावना पार्टीको चुनाव चिन्ह हो । हात छापलाई चुनाव चिन्हको रुपमा स्वीकार नगरिए विधानको प्रस्तावनामा नै गजेन्द्रनारायण सिंह, बाबा रामजनम तिवारीको योगदान, उनको विचार उल्लेख हुनुपर्ने माग नेपाल सद्भावना पार्टीले गरेको छ । तर रामनरेश राय यादव, केशव झा, सीपी सिंह, लक्ष्मणलाल कर्ण, वृषेशचन्द्रहरुले नमानेको स्रोतले जनाएको छ । यसमध्ये नेपाल सद्भावना पार्टीको माग प्रति लक्ष्मणलाल कर्ण मात्र अलिअलि सकारात्मक देखिएका छन् भने वृषेशचन्द्र लालले आफूहरुलाई यो मान्नलाई कुनै आपत्ति नभएको तर अरुले नमान्ने तर्क गरेका छन् । स्रोत भन्छ– कुरा यतिसम्म अगाडि बढिसकेको छ कि राजपामा गजेन्द्रनारायण सिंहलाई कुनै स्थान नदिए अनिल झा राजपा छाड्ने मुड बनाईसकेका छन् । यस विषयमा अनिल झासँग प्रतिक्रिया लिन खोजिए पनि उनीसँग फोन सम्पर्क हुन सकेन । वैशाख १९ गते राजपाको केन्द्रीय समितिको एकता बैठकमा नेपाल सद्भावना पार्टीले गजेन्द्रनारायण सिंह र बाबा रामजनम तिवारीको तस्विर माल्यर्पणका लागि राखेको थियो । जो राजपाको अध्यक्ष मण्डलमा निर्णय भएको थिएन । तयारी बैठकमासमेत नेपाल सद्भावना पार्टीका नेताहरुले कार्यक्रममा गजेन्द्रनारायण सिँहको तस्विर राख्नेबारे कुरा उठाएका थिए तर अध्यक्ष मण्डलले सहमति दिएको थिएन । तर पनि नेपाल सद्भावना पार्टीले गजेन्द्रनारायण सिंह र बाबा रामजनम तिवारीको तस्विर राखिदियो । अरु शहीदहरुको फोटोसँगै उनीहरुको फोटो राखेका हुनाले बाध्य भएर राजपाका अन्य नेताहरुले गजेन्द्रनारायण सिंह र बाबा रामजनम तिवारीको फोटोमा माल्यार्पण गरेका थिए । स्रोत भन्छ, सबै अध्यक्षले गरेपनि महेन्द्र राय यादवले गजेन्द्रनारायण र रामजनम तिवारीको फोटोमा मल्यार्पण गरेका थिएनन् । नेपाल सद्भावना पार्टीबाट राजपामा रहेका कौशलेन्द्र मिश्रले घोषणापत्र र विधान तयारी भइरहेकाले यसमा सबैले आ–आफ्नो कुरा राखिरहेको र अन्तिम टुगो लाग्न बाँकी रहेको प्रतिकृया दिए । रामसपाका तर्फबाट राजपामा रहेका केशव झाले यस विषयमा कार्यदलको बैठकमा कुनै कुरा नउठेको प्रतिकृया दिए । उनले भने, ‘मलाई यति थाहा छ, कार्यदलले गर्ने निर्णय अन्तिम हुनेछैन, यसको टुगों अध्यक्ष मण्डलले लगाउनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप