निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित निजी क्षेत्रका उद्योगी–व्यवसायीसँगको संवादलाई तीव्र बनाएका छन् ।
- प्रधानमन्त्रीले निजी क्षेत्रका छाता संगठनदेखि विभिन्न क्षेत्रसँग आबद्ध व्यवसायीसँग निरन्तर संवाद गरी उनीहरूले भोगिरहेका समस्या, नीतिगत सुधार र समाधानका उपायबारे सुझाव सुनिरहेका छन् ।
- प्रधानमन्त्री शाहले व्यवसायीका माग सुन्दै गर्दा राज्यलाई के फाइदा हुन्छ भनी प्रश्न गर्ने र अनस्पट निर्देशन दिने कार्यशैली अपनाएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित निजी क्षेत्रका उद्योगी–व्यवसायीसँगको संवादलाई तीव्र बनाएका छन् ।
प्रधानमन्त्री बालेन पछिल्ला दुई सातायतादेखि निजी क्षेत्रका छाता संगठनदेखि विभिन्न क्षेत्रसँग आबद्ध व्यवसायीसँग निरन्तर संवादमा छन् । निरन्तर संवादको मुख्य कारण निजी क्षेत्रले भोगिरहेका समस्या, नीतिगत सुधार र समाधानका उपायबारे सुझाव सुनिरहेका छन् ।
गत असार २४ गते प्रधानमन्त्री भएपछि पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बरका प्रतिनिधिहरूसँगबाट छलफल सुरु गरेका थिए । प्रधानमन्त्री शाहले त्यसपछि निरन्तर रूपमा दैनिक सेड्युलमा नै राखेर निजीका व्यवसायीहरूलाई भेट गरिरहेका छन् । पछिल्लो दुई सातामा निर्माण व्यवसायी, होटल व्यवसायी, महिला उद्यमी, जुत्ता उद्योगी, पुँजी बजार तथा बीमा क्षेत्र, तयारी पोसाक उद्योग, हस्तकला, अर्गानिक कृषि, प्लाइउड, गलैँचा, पस्मिना उद्योग र निर्यातजन्य उत्पादक क्षेत्रका व्यवसायीहरूसँग छुट्टाछुट्टै संवाद गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिलेसम्म भएका छलफलमा मुलुकमा आर्थिक समृद्धि, लगानीमैत्री वातावरण, उद्योग–व्यवसाय सञ्चालनका व्यावहारिक समस्या, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा नीतिगत सुधारका विषयहरू प्राथमिकताका साथ उठेका छन् । यी नै विषयमा व्यवसायीहरूले प्रधानमन्त्री शाहलाई सहजिकरण गरी आग्रह गरेको सचिवालयको भनाइ छ ।

अझ निजी क्षेत्रले प्रधानमन्त्रीसँग विशेषगरी सरकार–निजी क्षेत्रबिच नियमित संवादको संयन्त्र विकास गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले पनि संयन्त्र बनाउने प्रतिवद्धता जनाएको निजी क्षेत्रले बताएको छ ।
रास्वपाको सरकार बनेसँगै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्रीसँग छलफलमा सहभागी सबैले एक चरण भेट गरिसकेका छन् । उनीहरूले अर्थमन्त्री वाग्लेसँग आफ्ना माग राखिसकेका छन् । प्रधानमन्त्री शाह आफैले प्राथमिकता दिएर पुनः संवाद गर्दा निजी क्षेत्र थप उत्साहित देखिएको छ ।
प्रधानमन्त्री शाहले संवाद गरेका व्यवसायीहरूले विगतमा पनि हरेक प्रधानमन्त्रीसँग छलफल गर्ने गर्थे । तर यति धेरै चर्चा भने हुने गरेको थिएन । प्रधानमन्त्रीसँग भेट गरेका एक व्यवसायीले निजी क्षेत्रसँगको निरन्तर संवाद शिष्टाचार भेटमा मात्र सीमित नभएको बताए । यो भेटले सरकार र निजी क्षेत्रबिचको दूरी घटाएको उनको दाबी थियो । प्रधानमन्त्रीको सचिवालयको सक्रियताले प्रधानमन्त्री शाहको कार्यशैली परम्परागतभन्दा निकै भिन्न र एक्सन ओरिएन्टेड पाइएको उनको भनाइ छ ।
विगतमा सामान्यतया प्रधानमन्त्रीलाई भेट्न जाँदा व्यवसायीहरूले एउटा लामो मागपत्र तयार पार्ने गर्दथे । प्रधानमन्त्रीले त्यो पत्र बुझ्ने र फोटो खिचाउने काम गर्थे । ‘हामी अध्ययन गर्छौं’ भन्ने रेडिमेड जवाफ आउने गर्थ्यो । ‘तर बालेन शाहको हकमा यो प्रक्रिया ठ्याक्कै उल्टो देखिएको छ, व्यवसायीहरूसँग उहाँले कुनै ठुलो औपचारिकता खोजेनन्,’ उनले भने ।
सार प्रधानमन्त्रीले भेटको सुरुवातमै भने, ‘परिचय केही चाहिँदैन, फर्मल केही पनि चाहिँदैन । अब तपाईंहरू सरर आफ्ना कुरा के–के हुन् भन्नुस् ।’
अध्यक्ष पाण्डेले थपे, ‘प्रधानमन्त्रीको प्रस्तुति निकै सकारात्मक र पारिवारिकजस्तो हुन्छ । उहाँले हाम्रो कुरा सुन्नुहुन्छ र बिच–बिचमा रोकेर स्पष्टता खोज्नुहुन्छ । यो शैलीले व्यवसायीलाई आफ्नो कुरा निर्धक्क राख्न सहज बनाएको छ ।’ प्रधानमन्त्रीको यो क्याजुअल शैलीले व्यवसायीहरूमा आत्मविश्वास भरेको उनको भनाइ छ । निर्माण व्यवसायले प्रधानमन्त्री इन्जिनियर क्षेत्रकाले सबै कुरा व्यवसायीभन्दा धेरै बुझेको आफूले पाएको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीसँगको भेटमा सबैभन्दा पहिला प्रधानमन्त्री आफै तपाईंहरूका समस्या सुनौं भनेर सुरु गर्नुभयो । त्यसपछि हामीले निर्माण क्षेत्रका समस्या र माग राख्न सुरु गर्यौँ । तर प्रधानमन्त्री आफै इन्जिनियर भएकाले निर्माण क्षेत्रको धेरै जानकारी लिएर बसेकाले बिचमा दोहोरो छलफल गर्नुभयो ।’
अनस्पट निर्णय र फलोअपको संस्कृति
प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको भेट मात्रै गरेका छैनन् । उनले अनस्पट इन्स्ट्रक्सनसमेत लिन्छन् । व्यवसायीहरूले कुनै समस्या राख्नेबित्तिकै प्रधानमन्त्रीले सम्बन्धित निकायका प्रमुखलाई तत्काल फोन गर्न सचिवालयलाई निर्देशन दिने गरेका उनीहरूको भनाइ छ । फुटवेयर व्यवसायी रुद्र न्यौपानेको अनुभवमा प्रधानमन्त्रीले समस्या सुन्नेबित्तिकै समस्यासँग सम्बन्धित निकाय प्रमुख प्रहरी महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, वाणिज्य विभागका महानिर्देशकलाई फोन गर्न लगाए ।
न्यौपाने सम्झिन्छन्, ‘उहाँले हामीलाई भन्नुहुन्छ । एकछिन रोक्नुस् है, अनि त्यहीँबाट फोन गरेर कुरा गर्नुहुन्छ । उहाँको सचिवालयले सबै कुरा टिपिरहेको हुन्छ ।’
निजी क्षेसँगको भेटमा प्रधानमन्त्री शाहले निर्देशन मात्र दिँदैनन्, व्यवसायीलाई सचेत पनि गराउँछन् । उनी भन्छन्, ‘तपाईंहरू आउनुभयो, यो फर्मालिटी मात्रै पूरा भयो नभन्ठान्नुस् । तपाईंहरूले पनि फलोअप गर्नुपर्छ । बिनाफलोअप काम हुँदैन, किनभने मान्छेले बिर्सिन्छन् ।’
न्यौपानका अनुसार प्रधानमन्त्री शाहको यो भनाइले प्रधानमन्त्री कामप्रति कति सचेत र परिणाममुखी छन् भन्ने देखाउँछ ।
संवादमा राज्यको लाभ खोज्ने प्रधानमन्त्री
व्यवसायीहरूका माग सुन्दै गर्दा प्रधानमन्त्री शाहले एउटा गम्भीर प्रश्न पनि तेस्र्याउने गरेका व्यवसायी बताउँछन् । प्रधानमन्त्रीले निजी क्षेत्रले माग राख्दै गर्दा ‘तपाईंहरूको माग पूरा गर्दा राज्यलाई के फाइदा हुन्छ ?’ भन्ने प्रश्न गर्छन् । प्रधानमन्त्री हरेक विषयमा अपडेट भएर छलफलमा बस्ने गरेका न्यौपाने बताउँछन् ।
त्यस्तै इप्पानमा पूर्वअध्यक्ष गणेश कार्की भन्छन्, ‘उहाँले यो गर्दा राज्यलाई के आउँछ ? तपाईंहरू आफ्नो मात्र फाइदाको कुरा नगर्नुस्, राज्य बनाउने जिम्मा निजी क्षेत्रकै हो भन्नुहुन्छ ।’ प्रधानमन्त्रीले निजी क्षेत्रलाई राज्यको मुख्य अङ्ग र विकासको इन्जिन भएको जानकारी निजी क्षेत्रका प्रतिनिधिहरूलाई भन्ने गरेका कार्की खुलाउँछन् । कार्कीका अनुसार प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई छलफलमा भन्ने गरेका छन्, ‘राज्य सञ्चालन र विकासमा मुख्य व्यक्तिहरू भनेकै तपाईंहरू हो । हामी त एउटा माध्यम र सहजकर्ता मात्र हौँ ।’

क्षेत्रगत समस्या र प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री शाहले ग्रीन गार्मेन्ट भिलेजको नीति तथा कार्यक्रममा चर्चा भए पनि बजेटमा किन नआएको भन्नेमा चासो राखेका तयारी पोसाकका अध्यक्ष पाण्डेले बताए । पूर्वअध्यक्ष कार्कीका अनुसार बाह्य लगानी कसरी आकर्षित गर्ने, बंगलादेश र भियतनामको मोडल नेपालमा कसरी लागु गर्ने र कर्णालीका स्थानीय उत्पादनलाई विश्व बजारमा कसरी पुर्याउने भन्नेमा विषयमा प्रधानमन्त्री शाहले बढी नै चासो राखेका थिए । त्यस्तै, निर्माण व्यवसायीहरूसँगको भेटमा प्रधानमन्त्रीले इन्जिनियरिङ पृष्ठभूमिको प्रभाव देखाएका थिए । निर्माण कार्यमा हुने ढिलासुस्ती र अनियमितताप्रति उनी कठोर देखिएको व्यवसायीको भनाइ छ ।
पीसी (पर्सेन्टेज/कमिसन) कल्चरलाई जसरी भए पनि अन्त्य गर्नुपर्ने र यसमा व्यवसायीको साथ मागको निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरे बताउँछन् । प्रधानमन्त्री शाहले नेपालमा भएका खनिजजन्य र नदीजन्य सामग्रीहरू विदेश निर्यात गरेर अर्थतन्त्र बलियो बनाउन सकिने धारणा पनि राखेका उनको भनाइ छ । इप्पानका पदाधिकारीहरूसँगको संवादमा उनले आयोजनाका फाइलहरू रोकिनुका कारण, बाधा फुकाउने तरिकाबारे पनि छलफल गरेका थिए । साथै यसबारे आवश्यक प्रक्रिया थाल्न पनि सचिवालयलाई तत्काल निर्देशन दिएका थिए ।
विगतका प्रधानमन्त्री र बालेन
व्यवसायीहरूका अनुसार विगतमा गिरिजाप्रसाद कोइरालाको समयमा गार्मेन्ट सेक्टरले राम्रो प्राथमिकता पाएको थियो । त्यो बेलामा गार्मेन्ट सेक्टरका हरेक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री कोइराला पुग्ने गरेका थिए । तर, त्यसपछिका धेरै प्रधानमन्त्रीहरूसँगको भेट मागपत्र बुझाउने र फोटो खिचाउनेमा मात्र सीमित रहेको तयारी पोसाक संघका अध्यक्ष पाण्डे बताउँछन् ।
‘प्रधानमन्त्री शाहको हकमा भने व्यवसायीहरू उत्साहित छन्,’ उनीहरू भन्छन्, ‘अहिलेको भेटघाट पूर्ण रूपमा एक्सन ओरिएन्टेड छ । पोइन्ट भन्नेबित्तिकै मन्त्रालयलाई निर्देशन जाने र त्यसको फलोअप पनि हुने भएकाले हामी आशावादी छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण