शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?

शनिबार, ०९ साउन २०८३, १८ : ५८
शनिबार, ०९ साउन २०८३

सारांश

  • एक र दुई रुपैयाँको सिक्कामा नेपालको चुच्चे नक्सा हटाउने निर्णयबारे विवाद भइरहँदा आकाश भैरवको मन्दिर र नेपालको नक्सा दुवै रहेको सिक्काको डिजाइन सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • राष्ट्र बैंकका प्रवक्ताका अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णय अहिलेसम्म राष्ट्र बैंकमा आइनसकेकोले कस्तो डिजाइन स्वीकृत भयो भन्न नसकिने बताएका छन्।
  • नयाँ सिक्काहरू पूर्ण रूपमा शुद्ध स्टेनलेस स्टिलबाट बन्नेछन्, जसले गर्दा सिक्काको साइज सानो हुने र तौल घट्ने राष्ट्र बैंकले जनाएको छ।

काठमाडौँ। एक र दुई रुपैयाँको सिक्कामा नेपालको चुच्चे नक्सा हटाउने निर्णयबारे विवाद भइरहँदा सिक्काको नयाँ डिजाइन सार्वजनिक भएको छ। आकाश भैरवको मन्दिर र नेपालको नक्सा दुवै रहेको सिक्काको डिजाइन सामाजिक सञ्जालमा भाइरल छ। 

यसअघि मुस्ताङको एउटा गुम्बा राखेर नक्सा हटाउन लागेको भन्दै विवाद भएको थियो। नेपालको चुच्चे नक्सा हटाउन लागिएको, अमेरिकी सहयोगमा पुनर्निर्माण भएको र खम्पा विद्रोहमा समेत प्रयोगमा आएको यो गुम्बा राख्न खोजिएको भन्दै सरकारको विरोध भएको थियो। 

सार्वजनिक भएको तस्बिरमा सिक्काको डिजाइन मात्रै नभएर सिक्का राख्ने बक्स समेत छ । यसले छापिइसकेको सिक्का सार्वजनिक भएको जस्तो बुझाउँछ । 

तर, के सिक्काको डिजाइन फोटोमा देखिएजस्तै हो ? वा सरकारले सिक्काको डिजाइन स्वीकृत गरेकै हो त ?

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल मन्त्रिपरिषद्ले गरेको निर्णय अहिलेसम्म राष्ट्र बैंकमा आइनसकेकोले कस्तो डिजाइन स्वीकृत भयो भन्न नसकिने बताउँछन् । आधिकारिक निर्णयपछि यसको स्वरूप र डिजाइन परिवर्तनको औचित्यबारे प्रस्ट पार्ने उनको भनाइ छ । चित्रका बारेमा सामाजिक सञ्जालमा विभिन्न चर्चा र तस्बिरहरू सार्वजनिक डिजाइनको बारेमा आधिकारिक रूपमा बोल्नु हतार हुने उनको भनाइ छ । 

यद्यपि अहिले राष्ट्र बैंकले सिक्काको डिजाइनमा केही आधारभूत परिवर्तन भने गर्न लागेको उनको भनाइ छ । उनका अनुसार अब बन्ने सिक्काहरू अहिलेको जस्तो मिश्रित धातु (एलोय) का हुने छैनन् । हाल प्रयोगमा रहेका सिक्काहरू स्टिलमा ब्रास कोटेड गरिएका हुन्छन् । तर, नयाँ सिक्काहरू पूर्ण रूपमा शुद्ध स्टेनलेस स्टिलबाट बन्नेछन्।

यसको मुख्य कारण स्वास्थ्य र वातावरणसँग जोडिएको छ । ब्रास कोटेड गर्दा प्रयोग गरिने इनामेलले स्वास्थ्यमा एलर्जीको जोखिम निम्त्याउन सक्ने र उत्पादनको क्रममा वातावरणीय प्रभाव समेत पर्ने भएकाले शुद्ध स्टिल प्रयोग गर्न लागिएको हो । यसो गर्दा सिक्काको साइज अहिलेको तुलनामा केही सानो हुने र तौल पनि घट्ने राष्ट्र बैंकले जनाएको छ।

प्रवक्ता पौडेलले यसो भनिरहँदा राष्ट्र बैंकका अधिकारीहरू भने यो सार्वजनिक भएर आएको सिक्का आधिकारिक हो भन्ने आधार कमजोर रहेको बताउँछन् । खासगरी नयाँ सिक्कामा उल्लेखित डिजाइन सिक्कामा हुनुपर्ने आधारभूत डिजाइन भन्दा फरक छ। 

सिक्कामा हुने केही मौलिक र ऐतिहासिक पहिचानहरू भने परिवर्तन हुने छैनन् । सिक्काको डिजाइनमा रहने शंख, चक्र, गदा, पद्म, ६४ वटा थोप्ला, ‘श्री श्री’ लेखिएको शब्द र अष्टमंगलको चित्र जस्ता धार्मिक तथा ऐतिहासिक प्रतीक हट्न नसक्ने भएकोले अहिले आएको सिक्काको डिजाइन यथार्थ हो भनेर भन्न नसकिने ती अधिकारी बताउँछन्। 

‘अहिले सामाजिक सञ्जालमा देखिएका सिक्काका तस्बिरहरू आधिकारिक नभई ‘कोमेमोरटिभ’ वा काल्पनिक डिजाइन मात्र हुनसक्छ’ ती अधिकारी भन्छन्, ‘सामाजिक सञ्जालमा त सिक्का नै छापिएजसरी बक्समा देखिएको छ । नेपालमा सिक्का छाप्ने मेसिन नभएकाले यसलाई विदेशबाटै छापेर ल्याउनुपर्ने हुन्छ । यसको लागि प्रक्रिया नै सुरु भएको छैन । यसमाथि यो रेगुलर सिक्काको डिजाइन हो भन्ने लाग्दैन।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप