शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय चुनाव : भूकम्पपीडितको शिविरमा उम्मेदवारहरु पुगेनन्

आइतबार, २४ वैशाख २०७४, १६ : १६
आइतबार, २४ वैशाख २०७४

रमेश गिरी

भक्तपुर, २४ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै छ । जिल्लाका चारवटै नगरपालिकाका टोलटोलमा चुनावी रौनक छाएको छ । तर भक्तपुरका भूकम्पपीडितको शिविरमा भने न त नेता पुगेका छन्, न त चुनावी माहोल नै छ । भक्तपुरको देकोचा, व्यासी, नःपुखु, सल्लाघारी, च्याम्हसिंहलगायतका शिविरमा दुई वर्षदेखि बस्दै आएका भूकम्पपीडितको शिविरमा भने चुनावको कुनै चहलपहल नै छैन ।

शनिबार भक्तपुर नगरपालिका देकोचास्थित भूकम्पपीडितको शिविरमा पुग्दा भोलाछेँको घर भत्किएर शिविरमा बस्दै आएका जयकृष्ण कुम्पाखाले भोट माग्न शिविरमा कोही नेता पनि नआएको बताए ।

उनले भने – “भूकम्प गएदेखि अहिलेसम्म यहाँको अवस्था कस्तो छ, समस्या छ कि छैन, कसरी बसेका छन् भनेर कोही सोध्न आएका छैनन् । चुनाव आउनै लाग्दा पनि यहाँ भोट माग्न कोही नेता आएका छैनन् ।”

भूकम्पपछि मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आएका यहाँका ५० घरपरिवारमा अहिले १६ परिवार मात्रै बस्दै आएका छन् । उनले भने – “मानवीय आस्था नेपालले राहत ल्याइदियो । बस्ने बास दियो । अहिलेसम्म पनि खानेपानीको व्यवस्था गरिदिएको छ । भोट पनि उसैले भनेका व्यक्तिलाई दिन्छौं ।”

कोही घर बनाएर त कोही भत्किएकै घर मर्मत गरेर बस्न गइसके पनि त्यसरी जाने ठाउँ नभएकाहरु बाध्यताले शिविरमा बस्दैआएका छन् ।

यही शिविरमा बस्दै आउनुभएका याछेँकी मीना सितिखुको गुनासो पनि उस्तै छ । भूकम्पगएदेखि अहिलेसम्म कोही नेता पनि नआएको गुनासो गर्दै उनले भने– “भूकम्पपछि टहरा बनाइदिन महेश बस्नेत आएका थिए । त्यसपछि कोही आएको छैनन् । अहिले भोट माग्न पनि कोही आएका छैनन् ।”

याछेँ घर भई शिविरमा दुई वर्षदेखि बस्दै आएका कृष्णश्वरी सिजख्वले पनि शिविरमा कुनै चुनावको रौनक नआएको बताए । उनी भन्छन् – “चुनाव आयो भन्छन्, खै बाहिर आयो होला । हाम्रो शिविरमा चुनाव आएको छैन । यहाँ कोही भोट माग्न पनि आएका छैनन् । त्यसैले भोट कसलाई हाल्ने हो भन्ने पनि सोचेका छैनौं ।” देकोचा शिविरमा अत्यन्तै दयनीय अवस्थामा रहँदैआएको परिवार हो अष्टबहादुर मानन्धरको । उनका दुई छोराछोरी पूरै अपाङ्ग छन् । अष्टबहादुरको कानदेखि शरीरमा विभिन्न भागमा गाँठो आएको छ तर औषधि गर्ने सामथ्र्य छैनन् । अपाङ्ग छोराछोरीलाई कसरी पाल्ने भन्ने दैनिकी पिरालो मात्रै होइन, कसरी बाँच्ने र कहाँ जाने कुनै टुङ्गो पनि नभएको मानन्धर बताउँछन् ।

गोल्मढीको सानो घर भत्किएपछि समस्यामा परेको मानन्धर दम्पती भन्छन् – “अपाङ्ग दुई छोराछोरीका लागि सहयोग गर्नेलाई भोट दिन्छौ ।” भूकम्पपीडितको व्यासीस्थित शिविरमा बस्दै आएका सुकराम घटुवाको गुनासो पनि उस्तै छ ।

उनी भन्छन् – “चुनाव त आयो नि, तर खै शिविरमा कोही नेता आएका छैनन् । परपर जान्छन् । यता कोही आउँदैनन् । त्यसैले भोट हाल्न जान मनै छैन ।”

आफ्नो मताधिकारको प्रयोग गर्नुपर्ने भए पनि भूकम्पपीडितको समस्या समाधान गर्न र उनीहरुको पीडा बुझ्न कोही नआएको उनको गुनासो छ ।

भक्तपुर–२ व्यासी शिविरमा बस्दै आउनुभएका रमिता सुवालको गुनासो पनि उस्तै छ । शिविर बाहिर चुनावको निकै चहलपहल, प्रचारप्रसार भए पनि शिविरभित्र भने कोही भोट माग्न नआएको उनले बताए । भूकम्पपीडितको समस्या समाधान गर्नेलाई मात्रै भोट दिने उनी बताउँछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप