शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

लहान यातायातमा शक्तिशाली बम विष्फोट (५ तस्बिरसहित)

बिहीबार, २८ वैशाख २०७४, १३ : १७
बिहीबार, २८ वैशाख २०७४

रामभरोसी यादब सिरहा, बैशाख २८– सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा अज्ञात समूहले बिहीबार मध्यान्ह शक्तिशाली कुकर बम विष्फोट गराएको छ । मध्यान्ह १२ बजेतिर ठूलो आवाजसहित भएको बम बिष्फोटमा कुनै मानवीय क्षति भएको छेन । विष्फोटले कार्यालयको पहिलो तल्लामा कार्यालय प्रमुखको कार्यकक्ष नजिकै रहेको शौचालयको भित्ता र झ्यालका सिसाहरु फुटेका छन् भने भित्ताहरु चर्किएका छन् । बम विष्फोटपछि त्रासले कर्मचारीहरु कार्यालय परिसरमा बसेकाले सम्पूर्ण कामकाज ठप्प बनेको छ । सेवाग्राहीको भीड लाग्ने यातायात कार्यालयमा बम विष्फोट भएपछि सेवाग्राहीहरुको भागदौड मच्चिएको थियो । कार्यालयका प्रमुख ओमकार प्रसाद न्यौपानेले आफ्नो कार्यकक्षमा कार्यालयका कर्मचारीहरुसँग छलफल गरिरहेका बेला एक्कासी ठूलो आवाजसहित विष्फोट भएको बताए । कार्यालयमा कुनै पनि समूहबाट चन्दा सहयोग नमागेको र विवाद समेत नभएकाले बिष्फोट कसले र किन गराएको हो भन्ने आफूले केही बताउन नसक्ने प्रमुख न्यौपानेले दावी गरेका छन् । यद्यपि यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र वितरणमा बिचौलिया दलालहरुमार्फत् घुस लिएर अनुमति पत्र वितरण गरिरहेको सेवाग्राहीहरुको गुनासो रहेकाले रकम लेनदेनकै कारणले अज्ञात समूहले बिष्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ । कार्यालयका नायव सुव्वा योगेश्वर खनालमार्फत् यातायताका लागि बिचौलियाहरुमार्फत् घुस लिएर दुई पाङ्ग्रे, चार पाङ्ग्रे, ठूला सवारी साधन र ट्रयाक्टरको सवारी चालक अनुमति पत्र बाँड्दा प्रयोगात्मक परीक्षामा फेल भएकाहरुसँग पनि रकम असुलेर दिइने गरिएको बताइन्छ । ना.सु खनाललाई केही महिना पहिले ‘भ्रष्टाचारी’ भन्दै नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा (माओवादी) समूहले कालो मोसो दलेका थिए । । कार्यालयमा बम बिष्फोट भएको करिब आधा घण्टापछि पाँच सय मिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालयबाट घटनास्थलामा प्रहरी पुगेको थियो । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा निर्वाचन बिथोल्ने धम्की दिइरहेको समूह वा तराईमा सशस्त्र गतिविधि गरिरहेका समूहले बम विष्फोटन भएको हुन सक्ने आशङ्का गरिएको भएपनि त्यसको पुष्टि भईसकेको छैन । ढिलो गरी घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक (डि.एस.पी.) हिराबहादुर पाण्डेले बिष्फोट गराउने सम्भावित समूहको खोजी भइरहेको बताएका छन् ।

विस्फोटपछिका तस्बिरहरू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप