बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

साहित्यकला मन्दिरको २३औं वार्षिक पुरस्कार वितरण

बिहीबार, २८ वैशाख २०७४, १६ : ४४
बिहीबार, २८ वैशाख २०७४
काठमाडौ, बैशाख २८ –लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो २३औं वर्षगाँठको अवसरमा वार्षिक पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । यस वर्षको ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’ (साहित्यतर्फ) कवयत्री तोया गुरुङ्गलाई प्रदान गरेको छ । यस्तै, ‘सरस्वती सम्मान’ (काव्यतर्फ) गीतकार कालिप्रसाद रिजाललाई, ‘इतिहास शिरोमणी बाबुराम आचार्य शोध सम्मान’ (इतिहासतर्फ) प्राध्यापक हरिकान्त लाल दासलाई, ‘नारायण गोपाल संङ्गीत सम्मान’ (आधुनिक संगीत तथा गायनतर्फ) गायक दीप श्रेष्ठलाई, ‘अरनिको ललितकला सम्मान’ (चित्रकलातर्फ) बरिष्ठ कलाकार उत्तम नेपालीलाई, ‘बालकृष्ण सम रङ्ग सम्मान’ (नाट्य लेखन र निर्देशनतर्फ) वयोवृद्ध, वरिष्ठ मैथिली नाट्य लेखक तथा निर्देशक महेन्द्र मलंगियालाई प्रदान गरेको जनाइएको छ । यस बर्षको ‘नेपाल नव प्रतिभा पुरस्कार’ (खेलकूदतर्फ) चर्चित अल्ट्रा धाविका मीरा राईलाई प्रदान गरेको छ । समारोहमा कवि गीतकार तथा संस्थाका अध्यक्ष बसन्त चौधरीको नयाँ कृति ‘जीवन मन्त्र’ को लोकार्पण समेत गरिएको थियो । समारोहमा बोल्दै संस्थाका अध्यक्ष बसन्त चौधरीले आफ्ना मातापिताको नाममा संस्थापित साहित्यकला मन्दिरले आफ्नो २३ औं वर्षगाँठ मनाइरहँदा मानसपटलमा आफ्ना मातापिताको आदर्श, मार्गदर्शन र साहित्य–कलाप्रतिको समर्पण स्मृतिका रुपमा झल्किरहेको बताए । कार्यक्रममा लुम्बिनी विश्व विद्यालयका उपकुलपति तथा इतिहारकार प्रा.डा. त्रिरत्न मानन्धरले साहित्य र कलाले तत्कालिन समाजको चित्रण गर्ने हुँदा कलाशिल्पीको आदर–सम्मान गर्नु समाज र राष्ट्रकै सम्मान भएको बताए । गङ्गादेवी चौधरी स्मृति सम्मान १ लाख १ हजार नगद, ताम्रपत्र र दोसल्ला सहितको रहेको तथा अन्य सबै पुरस्कारहरू ५१ हजार नगद, ताम्रपत्र र दोसल्ला सहित प्रदान गरिदै आइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप