हामीसँग हतियार छैन, कार्यकर्ता पक्राउ नगर : विप्लव माओवादी
चितवन, वैशाख २९ – प्रहरीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई दमन, धरपकड र गिरफ्तारी गरेको भन्दै नेत्र विप्लव चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ । जिल्लामा केही समययता आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गर्दै सार्वजनिक मुद्दा लगाएकोमा पार्टीले यस्ता घटना जारी राख्ने प्रतिबादसमेत गर्ने चेतावनी दिएको छ । स्थानीय तहको चुनाव बहिस्कार गरेको पार्टीले चुनाव बिथ्लोल्ने क्रियाकलाप गर्न सक्ने भन्दै सुरक्षा निकायले निगरानीमा राखेको छ । पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘केही दिन पहिलेदेखि चितवन जिल्लामा सरकारले हाम्रो पार्टीका नेता–कार्यकर्तामाथि दमन, धरपकड र गिरफ्तारलाई जारी राखेको छ । बैशाख ७ गते शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गरियो । शान्तिपूर्ण जनसभा गर्न दिइएन ।’ पार्टीले गृहमन्त्रालयको आदेश भन्दै आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुकहरुलाई घरबाटै प्रहरीले गिरफ्तार गरिरहेको बताएको छ । जिल्ला समिति सदस्यहरु, रघु, लोकराज पाण्डे, विराट, जयबहादुर कुँवर, पुरन राई, विष्णु कोइराला, टिका न्यौपनो, मीनप्रसाद पोखरेल, रोशन र अखिल नेपाल शिक्षक संघका अध्यक्ष कृष्ण परियारसहित २२ जनालाई घरबाटै गिरफ्तार गरी हिरासतमा राखिएको छ । ‘घरमा सुतिरहेका नेता–कार्यकर्ता नाबालक बच्चासहित महिला नेतृ शिक्षण पेशामा रहेका शिक्षक र बुबाको काजकिरियामापछि घरमा बसेका कार्यकर्तालाई गिरफ्तार गरी सार्वजनिक मुद्धा लगाएको छ । जिल्ला समिति सदस्य मीत्र केसी, तिलकुमार श्रेष्ठ, सिसम शाही र राजु भुसाललाई प्रहरी कार्यालयमा दैनिक तारेख लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नेता तथा कार्यकताको घर परिवारलाई धम्काउने मानसिक तनाव दिने र कुटपिट गर्ने काम भइरहेको छ । प्रहरीले आफ्नो हतियार नेता–कार्यकर्ता र समर्थकसँग भिराएर फसाउने षड्यन्त्र गरिरहेको छ । हाम्रो कुनै नेता–कार्यकर्तासँग हतियार नभएको कुरा सबैमा अवगत गराउँदछौँ ।’
जिल्ला सेक्रेटरी लालबहादुर विसीले विज्ञप्तिमार्फत गिरफ्तार भएकाहरुको रिहाई र झुट्टा मुद्धा खारेज गर्न माग गरेका छन् । उनले आफूलाई धैयर्तालाई कमजोर ठानिए सरकारी दमनको प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण