मौन अवधिमा अाचारसहिंता पालना भएन भन्दै आयोगमा पर्न थाल्यो उजुरी
काठमाडौं, बैशाख २९–गएराती १२ बजेदेखि मौन अवधी शुरु भएपनि सामाजिक सञ्जाल फेसबुकमा निर्वाचन आचार संहिता उल्लंघन भएको पाइएको निर्वाचन आयोगले बताएको छ ।
निर्वाचन आयोगमा फेसबुकबाट चुनावी प्रचार गर्ने काम नरोकिएको तथा मोबाइलमा एसएमएस पठाएर भोट मागेको भन्दै उजुरी पर्न थालेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले उजुरी परेपछि चुनावी प्रचार सामग्री कहिले पोष्ट गरेको, कहिले शेयर गरेको भनेर अनुसन्धान थालेको छ । “हिजो अस्ति फेसबुक वालमा पोष्ट भएको, शेयर भएको रहेछ भने केही छैन तर आज पोष्ट तथा शेयर गरेको प्रमाणित भयो भने निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा कारबाही गछौँ ।”
इन्टरनेटको सामाजिक सञ्जालमा आचार संहिता उल्लंघन भएको नभएको बारे, सरकारी कर्मचारीहरु, नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान विभाग, अपराध महाशाखा, सशस्त्र प्रहरी, नेपाली सेना सबैले हेरिरहेको प्रवक्ता शर्माले बताए ।
उनले मौन अवधीको समयमा भोट मागेको, त्यस्तो सन्देश पठाउनेको जरो पक्ता लगाएर कारबाही गरिने बताए ।
आयोगमा परे यस्ता उजुरी निर्वाचन आयोगमा हालसम्म ७० वटाको हाराहारीमा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेका छन् । चुनाव प्रचारका लागि हेलिकोप्टर प्रयोग भयो, कर्मचारीको सरुवा गरियो, मन्त्रीपरिषद बिस्तार गरियो, बिदेश भ्रमणमा गए, चुनावको मुखमा विकासमा काम गरेर प्रभाव पार्न खोजियो भन्ने उजुरी परेको प्रवक्ता शर्माले बताए ।
उनले हालसम्म आयोगले कारबाही तथा जरिवाना गर्नुपर्ने खालको उजुरी नपरेको जानकारी दिए । यद्यपी भड्किलो चुनाव प्रचार गर्ने, आचार संहिता उल्लंघन गरेर चुनावी कार्यक्रम गर्नेलाई स्पष्टिकरण भने सोधिएको उनले बताए ।
आयोगले निर्वाचन आचार संहितापालना भएको नभएको बारे अनुगमनका लागि निर्वाचन आयुक्त सुधिर कुमार साहलाई जिम्मेवारी दिएको छ । तर आयुक्त साह भने अर्का निर्वाचन आयुक्त इला शर्मा सँगै २ दिन अघि दोलखामा एमाले तथा माओबादी केन्द्रका कार्यकर्ताहरुबीच भएको झडपको घटनाबारे अवलोकन गर्न त्यसतर्फ गएका छन् ।
के छ आचारसंहितामा ? स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट संचालित सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाँइदैन ।
त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन भने उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण