भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माणको प्रक्रिया शुरु, दुई बर्षभित्र पुनर्निर्माण सक्ने समझदारी
काठमाडौं, बैशाख २९–काठमाडौंमा रहेको काष्ठमण्डप मन्दिर पुनर्निर्माण गर्न चारपक्षीय समझदारी भएको छ । सिहदरवारस्थित प्राधिकरणको कार्यालयमा शुक्रबार काष्ठमण्डपको पुनर्निर्माणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानबीच समझदारी भएको हो । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यमलाल भुषाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेल र काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सो अवसरमा उद्योगमन्त्री तथा काष्ठमण्डप रहेको निर्वाचन क्षेत्रका सांसद नवीन्द्रराज जोशीले काष्ठमण्डपका लागि टिम्बर कर्पोरेसनबाट सबैभन्दा राम्रो काठ आपूर्ति गर्न मन्त्रीपरिषद्मै निर्णय भइसकेको जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले सार्वजनिक तथा निजी साझेदारी अवधारणा अन्र्तगत पुनर्निर्माण हुन लागेकाले भविष्यमा अन्य ठाँउमा पनि यस्तै गर्न सके पुनर्निर्माणले तिव्रता पाउने बताए । उनले काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने र समुदायको संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर, पारदर्शी ढंगले यसको निर्माण कार्यलाई नै नमूना बनाउन अभियानलाई आग्रह गरे । काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानले काष्ठमण्डप पुनर्निर्माणको मूल जिम्मेवारी लिनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण