बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

डोल्पामा आचारसंहिताको मौन अवधिले छोएन, दलहरु प्रचारप्रसारमा ब्यस्त

शुक्रबार, २९ वैशाख २०७४, १६ : ०९
शुक्रबार, २९ वैशाख २०७४
डोल्पा, बैशाख २९ – बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि बिहिवार राती १२ बजेपछि शुरु भएपनि हिमाली जिल्ला डोल्पाका राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको मौन अवधिको पालना नगरेको पाइएको छ । निर्वाचन आयोगले मौन अवधि शुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न गराउन निषेध गरेको जनाएपनि डोल्पाका राजनीतिक दलका उम्मेदवारहरु पक्षमा मत माग्न गाउँ बस्तीमा ब्यस्त बनेका छन । नेकपा एमालेबाट त्रिपुरासुन्दरी नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारी दिएका ओमबहादुर बुढा र चन्द्राकुमारी बुढा लगायतको टिमलाई बिजयी गराइदिन उम्मेदवारसंगै एमाले सभासद धनबहादुर बुढा पनि बिकट बस्तीहरुमा मतदाताहरु समक्ष पुगेका छन् । यसैगरी काग्रेसका तर्फबाट मेयर र उपमेयरका प्रत्यासी बनेका दिलबहादुर बिष्ट र बुद्दा शाही लगायतको टिम पनि आफ्नो पक्षमा मत माग्न शुक्रबार पनि घरदैलो अभियानमा व्यस्त छन् । नेकपा माअ‍ोवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरका प्रत्यासि बनेका रामलाल बिक र कालि चलाउने पनि आफ्नो पक्षमा मतमाग्न गाउँबस्तीमै पुगेका छन् । उता सदरमुकाम दुनै रहेको ठुलीभेरी नगरपालिकाको लागि मेयर उपमेयरका प्रत्यासी बनेका नेपाली काँग्रेसका मेयर उम्मेदवार सुवर्ण बुढा, एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका गणेशबहादुर शाही राप्रपाबाट उपमेयर बनेका योगेन्द्र बहादुर शाही र माओवादीको तर्फबाट उपमेयरका उम्मेदवार लक्ष्मीचन्द्र कार्कीले पनि प्रचारप्रसारलाई निरन्तरता दिएका छन् । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ६९ मा मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ ।सोही निर्देशिकाको दफा ७० को उपदफा (१) मा मतदान हुने दिन भन्दा ४८ घन्टा अघि देखि मतदान पुरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले प्रचारप्रसार गर्न सभाजुलुस गर्न नपाइने ब्यवस्था छ । तर, डोल्पामा खुलारुपमा मौन अवधिलाई समेत बेवास्ता गर्दै राजनीतिक दल दल सम्बद्ध उम्मेदवारले आफ्नो पक्षमा मत माग्ने कार्यलाई जारी राख्दै आएका छन् । जिल्लामा निर्वाचनको मौन अवधिलाइ के राजनीतिक दलहरुले बेवास्ता गरेका नै हुन त भनेर जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर बुढासँग प्रश्न गर्दा उनले भने ‘निर्वाचनको पर्यवेक्षण र अनुगमन गरिरहेका छौ, कसैले लिखत उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिए छानवीन गर्छौ ।’ निर्वाचन आचारसंहिता उल्लंघन नहोस भनेर निर्वाचन शिक्षा स्थानीय संचार माध्यमबाट सूचना जारी गरिरहेको पनि निर्वाचन अधिकारी बुढाले बताए । जिल्लास्थित मुख्य ठुला दलहरुले आफ्नो पक्षमा मत दिनका लागि र आफू मतदाताप्रति बिश्वस्त हुन ठाउँ ठाउँमा वोका (खसी) काटेर मतदातालाई प्रभावित बनाएको समेत स्थानीय मतदाताको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप