आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधान संशोधन पारित नभए आन्दोलन गर्ने राजपाको चेतावनी

बुधबार, ०३ जेठ २०७४, १८ : २७
बुधबार, ०३ जेठ २०७४

काठमाडौँ, जेठ ३ – राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई सहमति अनुसार संविधान संशोधनसहित आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिएको छ ।

बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राजपाका नेताहरुले आफ्ना मागहरु सम्बोधन गरेर दोस्रो चरणको निर्वाचनका लागि वातावरण बनाउन आग्रह गरेका हुन् ।

सरकार र राजपाबीच यसअघि नै जेठ ४ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा संशोधन प्रस्ताव पारित गराउन अघि बढाउने सहमति भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूहरुले प्रधानमन्त्रीसमक्ष पहिला भएका सहमतिअनुसार आफ्ना मागहरु पूरा गर्न आग्रह गरेको जानकारी दिए ।

उनले मधेसको माग सम्बोधन नगरी चुनाव गर्न अप्ठ्यारो हुने पनि बताए । ‘हाम्रो माग सम्बोधन भएन र संविधान संशोधन भएन भने हामी फेरि आन्दोलनमा जानेछौँ,’ महतोले भने ।

बैठकमा प्रधामन्त्री प्रचण्डले मोर्चालाई सरकारले संविधान संशोधनका लागि दलहरुसँग छलफल जारी राखेको र मोर्चाका मागहरु सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको कुरा सुनाएका थिए ।

बैठकमा प्रधामन्त्री प्रचण्डले पहिलो चरणको चुनाव सम्पन्न भएपछि अब सरकार दोस्रो चरणको निर्वाचन गर्न सरकार लागि परेको बताउँदै यसबाट कुनै पनि कोही पनि पछि फर्कन नमिल्ने बताएका थिए ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रधामन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाल बलदेवले भने, ‘प्रधानमन्त्रीले अब कुनै पनि हालतमा चुनावको मिति यताउता गर्न नमिल्ने बताउँदै राजपा नेताहरुलाई तपाईंहरुले पनि साना तिना कुरा छाडेर चुनावको तयारी गर्न आग्रह गर्नुभयो ।’

बलदेवका अनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नै पहलमा सहमतिका आधारमा मधेसका मागहरु पूरा हुने बताउँदै चुनाव बहिस्कार गर्ने वा चुनाव हुन नदिने कुरा नगर्न आग्रह गरेका थिए ।

संविधान संशोधन जेठ ४ गते पारित हुन्छ कि हुँदैन भन्ने प्रश्नमा बलदेवले भने, ‘यसका लागि सरकारले विभिन्न दलहरुसँग छलफल गरिरहेको छ । भोलि एमाले र राप्रपासँग पनि छलफल हुनेछ । भोलि नै पास हुने चाहीँ ग्यारेन्टी छैन ।’ उनले यसका लागि सहमतिको प्रयास भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप