शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गोकर्णेश्वर नगरपालिका - काँग्रेस र एमालेको अग्रता

बिहीबार, ०४ जेठ २०७४, १७ : ४७
बिहीबार, ०४ जेठ २०७४
काठमाडौँ, जेठ ४ - मत गणनाको पछिल्लो परिणामाअनुसार गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेस र बूढानीलकण्ठ नगरपालिकामा नेकपा (एमाले)को अग्रता रहेको छ । गोकर्णेश्वरको १ देखि ५ नं वडासम्मको मतगणना सकिँदा प्रमुखमा काँग्रेसका सन्तोष चालिसेले पाँच हजार २७८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । एमालेका पुण्यप्रसाद चौलागाईंले चार हजार ४८६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुखमा काँग्रेसकी शान्ति नेपालले पाँच हजार २२९ र एमालेकी शान्ति श्रेष्ठले चार हजार ६३२ मत पाउनुभएको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले राससलाई जानकारी दिनुभयो । नगरको वडा नं १, ३ र ५ मा काँग्रेसले वडा अध्यक्ष जितेको छ भने २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४ मा एमालेले वडाध्यक्ष जितेको छ । नौवटा वडा रहेको नगरपालिकाको अहिले ६ नं को मतगणना भइरहेको छ । यसैगरी बूढानीलकण्ठ नगरपालिकामा १० हजार ३४२ मत गन्दा प्रमुखमा एमालेका उद्धवप्रसाद खरेलले चार हजार १४३ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ । काँग्रेसका राजु श्रेष्ठले दुई हजार ९७० मत पाउनुभएको छ । माओवादीका रवीन अधिकारीले एक हजार ३०४ र राप्रपाका सानुकान्छा श्रेष्ठले ९५५ मत पाउनुभएको नगर निर्वाचन अधिकृत सुरेश नेपालले जानकारी दिनुभयो । उपप्रमुखमा एमालेकी रमादेवी राईले चार हजार ४५९, काँग्रेसकी सुभद्रा खड्काले तीन हजार ६४, माओवादीकी हेमा अधिकारीले एक हजार २४० मत पाउनुभएको छ । नगरपालिकाका १३ वटा वडामध्ये अन्तिमतिरबाट गन्दा हालसम्म १३, १२ र ११ गरी तीनवटा वडा सकी अहिले १० नं वडाको गणना भइरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप