फलदायी र सफल श्रीलङ्का भ्रमण
बिहीबार, ०४ जेठ २०७४, २१ : ४४
शीतलप्रसाद महतो
काठमाडौं, जेठ ४ – राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलङ्का र थाइल्यान्डको औपचारिक भ्रमण अत्यन्त फलदायी र सफल भएको छ ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेनाको औपचारिक निमन्त्रणामा उहाँ श्रीलङ्काको पाँचदिने भ्रमणका क्रममा थाइल्यान्ड हुँदै वैशाख ३० गते श्रीलङ्काको राजधानी कोलम्बो जानुभएको थियो । राष्टपति भण्डारी यही जेठ २ गते साँझ स्वदेश फर्कनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सो भ्रमणवाट आपसी विश्वास र सम्बन्ध सुदृढ भएको बताउँदै दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । “शान्ति, अहिंसा, करुणा र भ्रातृत्वका अग्रदूत गौतम बुद्धको जन्मभूमिको प्रतिनिधित्व गर्दै श्रीलङ्काका मैत्रीपूर्ण जनताका लागि मैले नेपाली जनताका तर्फबाट न्यानो स्नेह र सद्भाव ल्याएको छुृ”, उहाँले भन्नुभयो, “विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल र आफ्नो पुरानो इतिहासका दौरान लामो सामुद्रिक मार्गमार्फत विभिन्न सभ्यतासँग अन्तक्र्रिया गर्ने हिन्द महासागरको विलक्षण मोतीसमान रहेको श्रीलङ्काका बीच शताब्दीऔंँदेखि सुमधुर सम्बन्ध रहिआएको छ, यातायात र सञ्चार सञ्जालको विस्तारमार्फत यस सम्बन्धलाई थप सुदृढ तुल्याउनु आवश्यक छ । ”
राष्ट्रपतिले मित्रता र सहयोगको द्विपक्षीय सम्बन्ध सामाजिक, साँस्कृतिक र धार्मिक निकटताबाट अभिप्रेरित भएको उल्लेख गर्दै साठी वर्ष अघिमात्र औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरिए पनि सम्बन्ध शताब्दीयौँदेखि अक्षुण्ण रहेको तथा गौतम बुद्धको दर्शन र सन्देश दुई मुलुक र जनताका बीच सम्बन्ध स्थापनाका निमित्त आधारका रुपमा रहेको स्पष्ट गर्नुभयो ।
श्रीलङ्काले बौद्ध धर्मका अनुपम सिद्धान्तको प्रबद्र्धनमा अहं भूमिका खेलेको छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि कम्तीमा तीन पटक सो मुलुकको भ्रमण गरेको विश्वास गरिएको छ । बुद्धजन्मस्थल भएका कारण श्रीलङ्कालीहरु नेपालीसँग अत्यन्त आत्मीय छन् ।
बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले आयोजना गरेकोे संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति भण्डारीले वैशाख ३१ गते साँझ श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डीमा सम्बोधन गर्दै अहिंसा, सत्य, करूणा र सहिष्णुताजस्ता मानवीय गुणले ओतप्रोत बुद्धका शाश्वत उपदेशले दुई देशकका सभ्यतालाई दुई सहस्राब्दीभन्दा बढी समयदेखि मार्गनिर्देशन गर्दैआएको बताउनु भएको थियो ।
राष्ट्रपतिको भ्रमणबारे जानकारी गराउँदै सवारीमन्त्रीका रुपमा सहभागी सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भन्नुभयो, “राष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ भएको छ, साँस्कृतिक पर्यटन विकासका लागि थप सहयोग विस्तार हुने आधारशिला निर्माण भएको छ । निकै लामो समयको अन्तरालमा नेपालको राष्ट्र प्रमुखबाट भएको यस भ्रमणलाई श्रीलङ्का सरकारले उच्च सम्मान व्यक्त गरेको महसुस गरेका छौँ । ”
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलङ्काली समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिनुभयो । नेपाल र श्रीलङ्काबीच दौंत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा श्रीलङ्काली राष्ट्रपतिले यसै वर्ष नेपाल भ्रमण गर्ने वचन आएको छ । श्रीलङ्काली राष्ट्रपति श्रीसेनाले सम्भवतः आउँदो असोजमा नेपाल भ्रमण गर्नुहुने छ ।
श्रीलङ्काका न्याय तथा बुद्ध शासनमन्त्री डा विजयदास राजपक्षले नेपालको राष्ट्र प्रमुखबाट भएको भ्रमणलाई श्रीलङ्काले उच्च महत्वका साथ लिएको बताउँदै यसबाट द्विपक्षीय सम्बन्ध सुदृढ हुनाका साथै दुई देशका जनतासंँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा पनि दुवै देशका राष्ट्र प्रमुखबीच छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ यो भ्रमणबाट द्विपक्षीय सहयोग तथा व्यापार र वाणिज्य क्षेत्रमा समेत सहयोग अभिवृद्धि हुन्छ ।”
भ्रमणलाई सफल तुल्याउन प्रभावकारी भूमिका निर्वाह गर्नुभएका परराष्ट्र सचिव शङ्करदास वैरागीले राष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध अझ प्रगाढ भएको र आगामी दिनमा सहयोगमा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
श्रीलङ्का भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले कोलम्बोस्थित होटल हिलटन र क्यान्डीस्थित श्रीलङ्काका राष्ट्रपतिको सरकारी आवासमा आफ्ना समकक्षी श्रीसेनासँग भेटवार्ता गर्नुभएको थियो । यसैगरी राष्ट्रपति भण्डारीसँग श्रीलङ्काका पूर्व राष्ट्रपति चन्द्रिका वन्दारानायके कुमारातुङ्गा र श्रीलङ्काली संसद्का सभामुख खरु जयसूर्याले भेट गर्नुभएको थियो । उहाँहरुसँंगको भेटमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल भएको थियो ।
आफ्नो सम्मानमा श्रीलङ्काली सरकारद्वारा कोलम्बोस्थित नेलम पोकुना थेटरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रमलाई उहाँले अवलोकन गर्नाका साथै क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन र कोलम्बोस्थित केलानिया मन्दिरमा पूजार्चना गर्नुभएको थियो । उहाँले क्यान्डीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गर्नाका साथै श्रीलङ्काको महिला तथा बालवालिका मन्त्रालयले कोलम्बोमा आयोजना गरेको महिला सशक्तीकरण कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । थाइल्यान्ड र श्रीलङ्कास्थित नेपाली राजदूतावासले आयोजना गरेको प्रवासी नेपालीसँगको छलफल तथा रात्रिभोज समारोहमा पनि उहाँ सहभागी हुनुभएको थियो ।
यसअघि वैशाख २९ गते राष्ट्रपति भण्डारीले थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे थाई राजा स्व भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुएको थियो । गत वर्ष असोज २७ गते निधन हुनुभएका भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उहाँको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यही प्यालेसको एउटा गार्डेनमा गरिने छ । राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उहाँको पार्थिव शरीरमा माल्यार्पण गर्दै आएका छन् ।
धार्मिक र साँस्कृतिक सहिष्णुता अवलम्बन गर्ने नेपालमा दश वटा युनेस्को विश्वसम्पदा क्षेत्रलगायत गौतम बुद्धसँग जोडिएका प्रशस्त मन्दिर, गुम्बा र धरोहर अवस्थित छन् । हिन्दू र बौद्ध समुदायका दुवै आस्थाका भक्तजन मन्दिरमा जाने प्रचलन नेपालमा छ । बुद्ध नेपाली हिन्दूहरुका लागि पनि श्रद्धाका पात्र हुनुहुन्छ । बौद्धधर्म श्रीलङ्काको त राजकीय धर्म नै हो ।
तत्कालीन राजा महेन्द्र र वीरेन्द्रपछि उच्चस्तरमा सम्भवतः राष्ट्रपति भण्डारीबाट गरिएकोे यो भ्रमणले बौद्ध दर्शनप्रति समान आस्था राख्ने नेपाल र श्रीलङ्काका जनता जनताबीचको सम्बन्धलाई अझ बढी सबल र सदृढ बनाउनमा ठूलो सहयोग प्राप्त हुने विश्वास गर्न सकिन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण