शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चार सयभन्दा बढी महिलाको निःशुल्क उपचार

शनिबार, २० जेठ २०७४, १० : २४
शनिबार, २० जेठ २०७४
बागलुङ, २० जेठ - जैमिनी नगरपालिका–९ पैंयुथन्थापमा भएको स्त्रीरोगसम्बन्धी बहृत् निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ जना महिलाले लाभ लिएका छन् । दुईदिने शिविरमा पाठेघरको जटिल समस्यादेखि सामान्य स्त्रीरोगका बिरामीले जाँच र उपचार सेवा पाएका हुन् । ग्रामीण भेगका महिलालाई लक्ष्य गरी गैरआवासीय नेपाली सङ्घ हङकङ र पैंयुथन्थाप स्वास्थ्यचौकी मिलेर शिविर चलाएका हुन् । जाँच गराएकामध्ये सात महिलाको पाठेघरको शल्यक्रिया गरिएको स्वास्थ्यचौकीका प्रमुख कुष्मराज सुवेदीले जानकारी दिनुभयो । समस्याको निदान शिविरमै भए पनि शल्यक्रिया भने धौलागिरि अञ्चल अस्पताल बागलुङमा गरिएको छ । शल्यक्रिया गर्दादेखि पूर्ण निको नहुन्जेलको सबै खर्च आयोजकले नै व्यहोर्ने भएको छ । यस्तै १९ महिलाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखिएको जनाइएको छ । “पाठेघर खस्ने, महिनाबारी अनियमित हुने, बढी रगत बग्ने, तल्लो पेट दुख्ने जस्ता समस्या भएका महिलाले शिविरबाट लाभ उठाएका थिए”, सुवेदीले बताए। आयोजकले बिरामीलाई गुणस्तरीय उपचार सेवा र औषधि वितरणको व्यवस्था मिलाएका थिए । धौलागिरि अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएका दक्ष स्वास्थ्यकर्मीले बिरामीको जाँच तथा उपचार गरेका हुन् । टाढा टाढाका गाउँबाट किशोरीदेखि ज्येष्ठ उमेरका महिलाले शिविरमा सेवा लिन आएको आयोजक गैरआवासीय नेपाली सङ्घ हङकङका अध्यक्ष ललित सुब्बाले बताए । हङकङमा रहेका नेपाली समुदायबाट आर्थिक सहायता जुटाएर निःशुल्क स्वास्थ्य शिविर राखिएको हो । अध्यक्ष सुब्बाले भने “शल्यक्रिया गर्नुपर्ने बिरामीको निको नहुन्जेको सम्पूर्ण खर्च संस्थाले व्यहोर्छ ।” रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप