शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता

शुक्रबार, ०१ साउन २०८३, १२ : २६
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • साउने सङ्क्रान्ति मनाउनका लागि लुतो फाल्ने सामग्री जम्मा गर्ने र पूजा गर्ने चलन रहेको छ।
  • साउने सङ्क्रान्तिबाट सुरु हुने चाडपर्वको मेसो पुस १५ सम्म चल्ने परम्परा छ।
  • बढ्दो शहरीकरण र बसाइँसराइका कारण मौलिक परम्परा र संस्कृति लोप हुने अवस्थामा पुगेको छ।

बेलैमा पानी परेकाले प्रायः जसोको पाखे खेतको रोपाइँ सकियो । असार १० गते हिलोमा पसेको हाम्रो रोपाइँ पनि असारकै दिनमा सुर्कासुर्कीसमेत तुरियो । रोपाइँको अन्तिम मेलो घर नजिकैको खले गरामा थियो । मकै भाँचेर केही दिन खाली भएकाले झरीका कारण गरो धेरै जर्रिएको थियो । 

हिल्याउँदा चित्रे बन्सोको लुँडी लागेर हैरान । तैपनि साउनुभन्दा त हिल्याउन नै सजिलो । अलीकुना गरेपछि त गरो निकै ठुलो देखियो । छेउ कुना मिलाएर पानी टम्म आश्रिने गरी दाँदेले गरो सम्म्याएँ । 

असारमा कोदालो खन्नु भन्दा मलाई गोरु जोत्न जाँगर चल्छ; कोदाले र बाउसेको काम भने कृष्ण दाइले गर्नुभयो । रोपाइँको अन्तिम दिन भएकाले हली गोरुहरूको फुर्ती नै बेग्लै थियो । गरो सम्म्याएपछि जुवामा नारिएका गोरुहरूको दाँदे झिकेँ । हिल्याएर सकेपछि हलो कान्लामा अड्याएर राखेको थिएँ ।

खुन्द्रुकाको नजिकैको माधव दाइको गरामा ठुलो मूल छ । त्यहीँबाट कुलो बनाएर ल्याएको पानी चौतारोको बर पिपलको बिच भागबाट झारिएको थियो । 

भिरालो र कान्ला भएकाले पानी बग्दा साना झरना बन्थे । नजिकै बगिरहेको त्यही पानी अँजुलीले थापेर हल गोरुको सिङ, पुछार र जिउमा टाँसिएको माटो पखाली दिएँ । मुखले नबोले पनि पशुले सबै कुरा थाहा पाउँछन्; तिनका अनुहारमा चमक छाएको थियो । 

धान रोप्न ठिक्क पारेको बिउँको मुठा फुकाएर दुईवटा गाँज झिकेर पालैपालो दुवै गोरुको शिरदेखि पाउसम्म नुहाइदिएँ । बर्खभरि काम गर्दा हलोफाली लागेको वा अन्य शारीरिक कष्ट भएकोमा हात जोडेर क्षमादान मागेँ । यो हाम्रो परम्परादेखि चलिरहेको आत्मीय चलन हो ।

पाखाबारीको एउटा गरामा पछौटे छरेकाले हरियो मकै आलै छ । आलै मकै भुटेर नुन र अदुवाको पात मिलाई, ढिकीमा कुटेको चिउरासँग खाँदा निकै स्वादिलो हुन्थ्यो । साउने सङ्क्रान्ति रमाइलो चाड हो । बर्खाको भेलपहिरोको जोखिम पार गरेर साउनको सङ्क्रान्ति मनाउन पाउनु भाइबन्धुमा खुसी र उत्सवको क्षण हो । यसभित्र गहिरो रहस्य लुकेको छ; साउने सङ्क्रान्तिबाट सुरु भएको चाडबाडको मेसो पुस पन्ध्रसम्म रहन्छ ।

साउने सङ्क्रान्ति आउन तीन–चार दिन बाँकी हुँदा केटाकेटीहरू दिउँसो गोठालो जाँदा गाईबाख्रा चराउने पातीका सिठा र गिट्ठाको लहरा बाँधेर ल्याउँथे । साउने सङ्क्रान्तिमा लुतो फाल्ने सामग्री तयार गर्ने काम पनि केटाकेटीहरूकै हुन्थ्यो– सहकार्य र प्रतिस्पर्धा पनि ! 

बेल्लौरी, पानीसरो, गुह्येसरो अलि भिरमा पाइन्थे, त्यो पनि अँधेरी खोलाको भीरतिर । बर्खाको पानीले लेउ लागेका पहरो चढ्दा खुट्टा चिप्लने डर हुन्थ्यो, त्यसैले होसियारीपूर्वक बोटमा समातेर जीउ हल्का बनाई पहरो चढ्नुपर्थ्यो । बेल्लौरी, पानीसरो, गुह्येसरो जोहो गर्नैपर्ने ।

लुते झारचाहिँ बान्नामुनिको गरातिर जहाँतहीँ पाइन्थ्यो । झार उखेलेर साना मुठा बनाएर त्यसलाई जोहो गरिन्थ्यो । कुरिलो र कुकुरडाइनोको बोट भने नयाँघरमा मात्रै हुन्थ्यो; त्यो नयाँघर ठुलीआमाले बडो जतनका साथ हुर्काउनुभएको थियो । साउने सङ्क्रान्तिका दिन गाउँका सबैले त्यहीँबाट लैजान्थे । 

जङ्गलमा भएका ती जडीबुटीका महत्त्व बेग्लै छ । हामी प्रकितका पुजारी भएकाले चाडअनुसार पूजा गरिन्छ । यो पुस्तान्तर हुँदै आएको छ ।

बेलौती, सुन्तला, निबुवा र आरुको पनि जोहो गरिन्थ्यो । एउटै बोटमा बारीबाट दुई घोगा फलेको मकैको बोट पनि ल्याइयो । दिनभरको मेहनतबाट लुत्ते सामग्री तयार भयो । 

फलफूलका कलिला दाना पूजा सामगी राख्नु भनेको नझरोस् र नकुहियोस् भन्ने जनविश्वास रहेको छ ।

साँझ हल्का छिप्पियो । साउने सङ्क्रान्ति पूजाको तयारी भयो । सबैका घरमा आँगनको डिलमा लुत्ते सामग्रीसहित पूजा गर्ने चलन थियो । पूजाको विधि पूरा गरी पातीका सिठा बालियो । बोटसहितको मकै पोल्न त्यहीँ हालियो । 

राँकोमा बलेको दाउराको अगुल्टोलाई चार दिशामा फाल्ने प्रचलन थियो । यस क्रममा हातमा अगुल्टो लिएर राइनासकोटको फेदीमा साउराबासतिर फर्केर ‘लुतोपुतो लैजा है’ भन्दै फालियो । यसै गरी कुडुँलेतिर र माथिल्लो गाउँतिर गरी चारै दिशामा अगुल्टो फालियो ।

साउने सङ्क्रान्ति रात । अँध्यारो हुने । अहिलेको जस्तो बिजुली कहाँ पाउनु । टुकीमा मट्टितेल राखेर बत्ती बाल्ने चलन । अकासमा ताराको मधुरो संवाद । जुनिकरी पिलपिल्हाट । सबैतिर हरियाली । साँझ छिप्पिन थालेको बेलामा गुचमुच्च रहेका सिउँघारी गुरुङबस्तीमा बलेका राँको घरको पिढीबाट बसेर देखिने दृश्य मनमोहक लाग्थ्यो । चन्द्रागिरिको डाँडाबाट काठमाडौँ खाल्टोलाई नियाल्दाको झिलिमिली दृश्यजस्तै । 

एकआपसमा सबैले विपरीत दिशाको बस्तीलाई सङ्केत गरेर लुतो फाल्दा भटभटाउने चलन थियो । हिलोमैलोमा काम गर्दा हातखुट्टा चिलाउने, लुतो वा खटिरा आउने भएकाले लुतो फालिसकेपछि सन्चो हुने जनविश्वास थियो ।

नेपाली समाजको मौलिकपन र हामीले मनाउने सबै चाडपर्वका विशेष महत्त्व रहेको छ । अहिलेका पुस्ता माटो, बाटो र आटोसँगको सामीप्यबाट अलि टाढा भएकाले हाम्रा परम्पराहरू लोप हुने अवस्थामा छ । खासगरी पहाडबाट बसाइँपछि बस्ती मात्रै होइन आफ्ना कला संस्कृति पनि नासिँदै गएको छ । यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीलचन्द्र अधिकारी
सुशीलचन्द्र अधिकारी
लेखकबाट थप