शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बजार अनुगमनको कामलाई तीव्रता दिइने

सोमबार, २२ जेठ २०७४, १४ : ३६
सोमबार, २२ जेठ २०७४
काठमाडौ, जेठ २२ – सरकारले मंगलबारदेखि बजार अनुगमनलाई तीव्रता दिने भएको छ । आपूर्ति मन्त्रालय अन्तरगतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्तालाई सचेत गराउन बजार अनुगमनको कामलाई तीव्रता दिने योजना बनाइएको जनाएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपभोक्तालाई सचेत गराउन समेत बजार अनुगमनको कामलाई तीव्रता दिने निर्णय लिइएको स्पष्ट पारे । विभागले बजार अनुगमनका लागि सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने योजना पनि बनाएको छ । महानिर्देशक दाहालले अनुगमनका क्रममा विगतमा भएका त्रुटिबाट पाठ सिकेर अघि बढने बताए । काठमाडौं उपत्यकाभित्र गुणस्तरहिन सामानहरु महंगोमा विक्री वितरण भइरहेका बेला विभागले हल्ला गरेर अनुगमन गर्ने बताएपछि कालोवजारियाहरु पहिल्यै सर्तक हुने मौका मिल्ने भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन् । विभागले बजार अनुगमनका लागि ७ वटा टोली परिचालन गर्ने पनि जनाएको छ । पहिलो चरणमा दुग्ध तथा खानेपानी, माछा, मासु बधशाला तथा पसल, औषधि, फार्मेसी तथा स्वास्थ्य क्लिनिक, होटल, मिठाई तथा खाद्य र पेट्रोलियम पदार्थको विक्री वितरण तथा भण्डार केन्द्रमा अनुगमन हुनेछ । बजारमा जनसाधारणका अत्यावश्यकीय बस्तुहरु गुणस्तरीय रहे÷नरहेको अनुगमनको कामलाई पहिलो प्राथमिकतामा राखिएको विभागले जनाएको छ । विभागले बजार अनुगमनको कामलाई दैनिक कामकार्वाहीको रुपमा लिइदै आएको पनि स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप