लागुऔषध बोक्ने युवा पक्राउ गर्न खोज्दा बेपत्ता, बागलुङ सदरमुकाम बन्द
बागलुङ, २५ जेठ । लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका युवाको खोजी गर्न माग गर्दै पीडित पक्षले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् ।
मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बानपा–३ का १७ वर्षीय सुनिल पुन हराएपछि परिवार र आफन्तजन आन्दोलित बनेका हुन् ।
भागेर नदी तर्ने क्रममा बीचमै बेपत्ता भएको भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । बागलुङबाट कुश्मातर्फ जाँदै गरेको ध१ज ४१४ नंको ट्याक्सीमा सवार पुनसहित अन्य दुई युवा लागुऔषधसहित फेला परेका थिए । खानतलासीका क्रममा ट्याक्सीभित्र लागुऔषध फेला परेको थाहा पाउनेबित्तिकै पुन कालीगण्डकी नदीतिर भागेको जिप्रका, बागलुङका प्रनाउ अनिलकुमार खड्काले बताए ।
ट्याक्सीमा रहेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामालाई भने नियन्त्रणमा लिइएको उनको भनाइ छ । उनीहरुको साथबाट लुकाइछिपाइ राखेको लागुऔषध डाइजेपाम–३ एम्पुल, नुर्फिन–तीन, फेनार्गन–चार, नाइट्राजेपाम–तीन र चार थान सुई प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै युवामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने डरले नदी तरेर भाग्ने क्रममा बीचमै बेपत्ता भएको हुन सक्ने अनुमानमा प्रहरीले मङ्गलबार रातिदेखि नै पुनको खोजी कार्य सुरु गरेको थियो । दुई दिन बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि पुनका परिवार र आफन्तजन आन्दोलनमा उत्रेका हुन् । उनीहरुले आज बिहान १० बजेदेखि बागलुङ सदरमुकाममा यातायात र पसल बन्द गराएका छन् । घटनाको सत्यतथ्य छानबिन र बेपत्ता पुनको अवस्था सार्वजनिक नगरेसम्म विरोधका कार्यक्रम जारी राख्ने पीडित पक्षका भुवन कँडेलले बताए ।
यता, प्रहरीले भने पोखराबाट आएको सशस्त्र प्रहरीको खोताखोर टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको जनाएको छ । “नदी किनारलगायत सम्भावित क्षेत्रमा अस्तिदेखि नै खोजी कार्य चलिरहेको छ”, प्रनाउ खड्काले भने – “घटनाप्रति प्रहरी संवेदनशील भएर लागेको छ ।” परिवार र आफन्तजनले भने प्रहरीले घेरा हालेर पक्राउ गर्न खोज्दा पुन डरले नदीभित्र पसेको बताएका छन् ।
प्रहरीले नदीले बगाएको प्रत्यक्ष रुपमा नदेखेको बताए पनि स्थानीय बासिन्दा र केही प्रत्यक्षदर्शीले पौडी खेल्दै पारि तर्न खोजेका पुन नदीको बीच भागमा पुगेर हराएको जनाएका छन् । पीडित पक्षले सहज रुपमा पक्राउ नगरेर प्रहरीले अनावश्यक तनाव दिएपछि नदीतिर भाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै प्रहरीको आलोचना गरेका छन् । प्रहरीले भने पक्राउ गर्न लाग्दा पुन आफैँ भागेर बेपत्ता भएको जनाएको छ । पीडित पक्षले मङ्गलबार पनि घटनाको विरोधमा केहीबेर सडक बन्द गराएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण