बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

६ दिनपछि उठ्यो दुई बालिकाको शव, पाँचजनाविरुद्ध किटानी जाहेरी

बिहीबार, २५ जेठ २०७४, १७ : १४
बिहीबार, २५ जेठ २०७४

चितवन, जेठ २५- दक्षिण चितवनको माडीस्थित रामराज्यपुरका दुई बालिकाको शव छ दिनपछि आज उठेको छ । घटनाको विषयमा अनुसन्धान गरी दोषी पाइए कारबाही गर्ने प्रहरीको प्रतिबद्धतापछि आज परिवारले शव उठाएर दाहसंस्कार गरेका हुन् ।

मृतक दीपिकाकी आमा मायाँ सुनार र दीपशिलाका बुबा दिनेश दर्जीले शव बुझेर आजै देवघाटमा अन्तिम संस्कार गरेको राजनीतिक दल महिला सञ्जाल, चितवनकी अध्यक्ष सङ्गीता भट्टराईले जानकारी दिइन् ।

शनिबार साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दीपशिला परियार र ११ वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो ।

उनीहरुको शव विगत छ दिनदेखि भरतपुर अस्पतालमा थियो भने स्थानीयवासी सङ्घर्ष समिति नै बनाएर आन्दोलित थिए ।

पीडित परिवारले डुबेर हैन कसैले मारेको हो भन्दै दोषीलाई पत्ता लगाई कारबाहीको माग गर्दै आएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा पाँचजनाविरुद्ध किटानी जाहेरी परेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । किटानी परेकामा केही वनभोजमा सहभागी भएकाहरु छन् भने केही बाहिरका पनि छन् । उनीहरुको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप