३ नम्बरका स्थानीय प्रतिनिधि धुलिखेलमाः मुख्यसचिवले भने– अब गाउँमा अंग्रेजी माध्यमबाट पढाउनुस् !
बिहीबार, २५ जेठ २०७४, १९ : २८
राजेश भण्डारी
धुलिखेल (काभ्रे), जेठ २५– नेपाली राजनीतिमा नयाँ अनुहार हुन्, धादिङ्गकी बीना लामा । भर्खरै त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स डिग्री सिध्याएकी बीनाले नेपाली राजनीतिलाई नजिकबाट नियाल्न पाएकी छैनन् । तर, गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धादिङ्गको रुविभ्याली गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएसँगै उनको काँधमा नयाँ जिम्मेवारी थपिएको छ ।
बिहीबार स्थानीय विकास मन्त्रालयले काभ्रेको धुलिखेलमा मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा तामाङ्ग पहिरनमा सजिएर प्रस्तुत भएकी बिना भन्दै थिइन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्दै रुबिभ्याली गाउँपालिकाको उपाध्यक्ष भएँ, जनताले दिएको जिम्मा पूरा गर्ने कसम खाएको छु ।’
बीना जुन गाउँपालिकाबाट उपाध्यक्ष भइन्, त्यो ठाउँ निकै दुर्गम मानिन्छ । ‘सदरमुकामबाट हिँडेर तीन दिनमा बल्ल हाम्रो गाउँपालिकामा पुगिन्छ, सडक पुगेको छैन’ उनले भनिन्, ‘त्यहाँका सर्वसाधारण बिरामी पर्दा हेलिकप्टरबाट काठमाडौं ल्याउनुपर्छ ।’
रुबिभ्याली गाउँपालिकामा एसइइ सम्म पढ्न पाईए पनि उच्च शिक्षा अध्ययन गर्ने कलेज छैन । ‘हामी त जिरो लेभलमा छौं, अब हाम्रो गाउँमै प्लस टु पढाई हुने कलेज खोल्ने प्रतिज्ञा गरेको छु,’ मन गह्रौं बनाउँदै उनले प्रतिप्रश्न गरिन्, ‘त्यहाँका मान्छे हेलिकप्टर चार्टर गरेर पैसा सिध्याउँछन्, अब हाम्रोमै किन हेल्थपोष्ट नहुने ?’
[caption id="attachment_152274" align="aligncenter" width="840"] बीना लामा[/caption]
यसरी आफ्नो गाउँमै हेल्थपोष्ट र उच्च शिक्षा पढाई हुने कलेज खोल्ने जोशका साथ निर्वाचित भएकी बिनाजस्तै प्रदेश नम्बर ३ अन्तर्गत पर्ने स्थानीय निकायका २३६ जना मेयर र उपमेरयलाई बिहीबारदेखि धुलिखेलमा जम्मा भएका छन् ।
स्थानिय विकास मन्त्रालयले बजेटको वितरण कसरी गर्ने, स्थानीय निकायले प्राप्त गरेका अधिकार के–के हुन् र संघीय सिस्टमलाई कसरी कामकाजी बनाउने भन्नेबारे मन्त्रालयले विज्ञहरु बोलाएर तीन दिनसम्म जनप्रतिनिधिहरुलाई अभिमुखीकरण प्रदान गरिने मन्त्रालयका सह–सचिव मधुसुदन बुर्लाकोटीले जानकारी दिए ।
अभिमुखीकरणको उद्घाटनसत्रलाई सम्वोधन गर्दै मुख्य सचिव डा. सोमलाल सुवेदीले कर्मचारीको भरमा लामो समय सञ्चालन भएको स्थानीय निकायमा सेवा प्रवाह गर्न नसकिएको कुरा स्किार्दै भने, ‘बजेट प्रसस्त गएको छ, न्युनतम स्ट्याण्डर्ड मापन बनाएमा मात्र प्रतिफल आउँछ, अब तपाईहरुले रिजल्ट खोज्नुस ।’
‘सवैले जनप्रतिनिधिसँगै जवाफ खोज्ने भएकाले तपाईहरु जवाफदेही बन्नुपर्छ’ डा. सुवेदीले भने, ‘सामुदायिक स्कुलमा अंग्रेजी माध्यमबाट पढाएर परिवर्तनको सुरुवात गर्दिनुस्, यसबाट बसाइसराइ रोकिन्छ ।’
सदाचार, आर्थिक अनुशासन र निरन्तर सेवामा ध्यान दिएर जनप्रतिनिधिहरुले त्यसको प्रतिफल जनतालाई वितरण गनुपर्नेमा सुवेदीले जोड दिए ।
स्थानीय तहको शासन सञ्चालन तथा ब्यवस्थापन सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रममा प्रदेश नं ३ अन्तर्गत १३ जिल्लाका दुई महानगर, १ उप–महानगर, ४१ नगरपालिका र ६९ गाउँपालिकाका २३६ प्रमुख तथा उपप्रमुख सहभागी छन् । अभिमुखीकरणको उद्घाटन् गर्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले वडालाई जनताको आधारभुत केन्द्रको रुपमा विकास गने संवैधानिक लक्ष्य भएकाले नवनिर्वाचित स्थानीय प्रतिनिधिहरुको जिम्मेवारी अझै बढेको बताए ।
[caption id="attachment_152275" align="aligncenter" width="840"] कविता ढुंगाना[/caption]
कसैले सुटुक्क मन्त्रालयबाट २ करोड उम्काए संघीयता लंगडो !
‘अर्थमन्त्री त सँगै ट्वाट लगाउने साथी जस्तै हुन् भनेर खुसुक्क २ करोडमा तोक लगाउने काम नगर्नुस्, त्यस्तो कदम संघीयतामाथिको प्रहार हो, सबै संघले बराबरी अधिकार पाएमात्र संघीय सिष्टम बजबुत हुन्छ ।’ धुलिखेल रिसोर्टको स्तुपा गार्डेनमा पूर्व मुख्य सचिव बिमल कोइरालाले मेयर र उपमेयरहरुलाई यसो भन्दै गर्दा त्यहि भिडमा थिइन् कविता ढुंगाना ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाबाट उपमेयरमा निर्वाचित ढुंगानाले कोइरालाको भनाईमा सही थप्दै भनिन्, ‘त्यस्तो संस्कृति हामीले तोड्न सक्नुपर्छ, त्यस्तो संस्कृति मौलाउन थाल्यो भने संघीयता असफल हुन्छ ।’
कानुनको विद्यार्थीसमेत रहेकी ढुंगानाले संघियता माथि प्रहार नगर्ने प्रण मात्रै गरेकी छैनन्, बेलकोटगढीलाई युवा नाडी खियाएर सुन्दर बनाउने सपना संगालेकी छिन् ।
‘बजेट वितरण र नगरपालिकाको अन्य काम कारवाही कसरी अगाडि बढाउने भन्नेबारे अभिमुखिकरणबाट प्रशिक्षित भएर फर्केपछि स्थानीय तहमा पनि अभिमुखीकरण सञ्चालन गर्छौ’ उनले भनिन्, ‘त्यसपछि हाम्रो नगरपालिका सुुन्दर बनाउने अभियानमा लाग्छौं ।’
संघीय सिस्टममा मेयर भैहालेँ भनेर ‘यो गर, त्यो गर !’ भन्दै आदेश गर्न थालेमा सिस्टम नै असफल हुने बताउँछन् पुर्व मुख्यसचिव विमल कोइराला । ‘त्यस्तो भएमा हामी घोडा पनि हुँदैनौं, खच्चर पनि हुँदैनौं बरु ऊँट जस्तै हलुका हुन्छौं किनकी संघीयतामा एकात्मकता लागू गर्न खोज्नु हुँदैन ।’
स्थानीय तहबाहेक गाउँपालिका र नगरपालिकामा कसैले पनि एक पैसा खर्च गर्न नहुने बताउँछन् कोइराला । भन्छन्, ‘सांसद विकास कोषको रकम पनि स्थानिय निकायले नै खर्च गर्नुपर्छ, संघियता भनेकै त्यहि हो ।’
[caption id="attachment_152276" align="aligncenter" width="840"] नबिता तामाङ्ग[/caption]
बावुको ‘बिडो’ थाम्दै नबिना, खुसी छिन् भगवती
निमा छिरीङ्ग शेर्पाले २०५४ सालमा रसुवाको पर्वतीकुण्ड गाविसको उपाध्यक्ष जितेका थिए । आज ठ्याक्कै २० बर्षपछि उनकै छोरी नबिता तामाङ्गले सोही पदमा जित हासिल गरेकी छिन् ।
कलिलो उमेरमै पर्वतीकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदमा पुगेकी नविना एमालेनिकट अनेरास्ववियुको रसुवा जिल्ला कार्यसमिति सदस्य थिइन् । हिजो निर्वाचनको बेला बाचा गरेका प्रतिबद्धताहरु पूरा गर्नेगरी काम गर्ने अठोट लिएकी नविना धुलिखेल अभिमुखीकरणले गाउँपालिकामा कसरी काम गर्ने, समस्याको समाधान कसरी गर्ने भन्नेबारे सिकेर फर्कने अपेक्षा सहित धुलिखेल पुगेको बताइन् ।
[caption id="attachment_152277" align="alignleft" width="840"] भगवती नेपाल[/caption]
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकी भगवती नेपाल हजुरआमा उमेरकी स्थानीय प्रतिनिधि हुन् । उमेरले पाको भैसके पनि मेलम्ची नगरपालिकाको उपमेयरको चुनाव जितेकी भगवतीलाई बिहीबार धुलिखेलमा भेट्दा उनी प्रफुल्ल मुद्रामा थिइन् ।
‘भुकम्पबाट क्षतिग्रस्त घर पुनर्निमार्णका लागि ढुंगा माटोबाट बन्ने घरको नक्सा बनाउन नगरपालिकाबाटै इन्जिनियर पठाउने र नगर यातायात सञ्चालन गर्ने भनेर हामीले पहिलो निर्णय गरेका थियौं’ भगवतीले भनिन्, ‘अनेमसंघको इलाका कमिटीमा बसेर राजनीति शुरु गरेको थिए, अहिले यहाँ पुगेँ निकै खुसी लागेको छ ।’
पहिले लबी र पैरवी गर्ने भूमिकामा भए पनि अहिले काम गर्ने ठाउँमा पुगेको उल्लेख गर्दै उनले भनिन्, ‘संविधानले हामीलाई यत्तिको अधिकार दिएको छ, तर अवसरसँगै चुनौती पनि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण