मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पा दुर्घटनाका घाइतेको बयान : चालकले धेरै मदिरा पिएको खुलासा

शुक्रबार, २२ पुस २०७९, १७ : २८
शुक्रबार, २२ पुस २०७९

रुपन्देही । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुर्सानेमा बिहीबार राति भएको दुर्घटनामा ६ जनाको ज्यान गयो भने १६ जना घाइतेको अहिले बुटवलका दुई अस्पतालमा उपचार भइरहेको छ ।  बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र एडमण्ड अस्पतालमा घाइतेहरुको उपचार भइरहेको हो । एडमण्ड अस्पतालमा १२ जना घाइतेको उपचार भइरहेको छ भने लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जनाको उपचार भइरहेको छ । 

एडमण्ड अस्पतालका सूचना अधिकारी मुक्ति काफ्लेका अनुसार दुईजनाको स्वास्थ्य अवस्था नाजुक छ । ती दुई घाइतेको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको काफ्लेले बताए ।   अस्पतालमा उपचार गराइरहेका घाइतेहरुले चालकले अध्यधिक मदिरा सेवन गरेर गाडी हाँकेको बताएका छन् ।  रुपन्देहीको साझण्डीबाट पाल्पाको खुर्साने हिँडेको ग १ ख ४९७७ नम्बरको बस खुर्साने पुग्नलाग्दा मधुवनको टारीखेत नजिकै राति साढे ९ बजे दुर्घटनामा परेको थियो । 

टारीखेतको नास्ता पसलमा गाडी रोकेर चालक चेतबहादुर दर्जीले मदिरा सेवन गरेकाले दुर्घटना भएको घाइतेहरुले बताएका छन् । बसका मालिक रामबहादुर बस्नेत र चालक दर्जीले धेरै मदिरा पिएको आफूले देखेको घाइते यमकला पाण्डेले बताइन् । पहिलो पटक गाडी सडकको कुनामा ठोकिँदा आफूहरु आत्तिएर झर्न खोजेको तर गाडीधनी बस्नेतले झर्न नदिएको पाण्डेले रातोपार्टीलाई बताइन् । 

एडमण्ड अस्पतालमा उपचाररत पाण्डेले भनिन्, ‘ड्राईभर र साहु अनि अर्को एकजनाले रक्सी धेरै खाएका थिए । रक्सी खाएर गाडी चलाउने बित्तिकै गाडी बाटोको कुनामा ठोकियो । त्यसपछि हामी डराएर झर्छौं, हिँडेर जान्छौंँ भनेका थियौं । तर गाडीसाहुले मरे सबै मरौंला बाँचे सबै बाँचलौं भनेर झर्न दिएनन् । केहीबेरपछि अलि पर लगेर ड्राइभरले भिरबाट फाल्यो ।’ 

अर्की घाईते निमकली पाण्डेले पनि चालक दर्जीले धेरै मदिरा पिएर एकजना यात्रुसँग झगडासमेत गरेको बताइन् ।  जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि चालक दर्जीले मदिरा सेवन गरेर गाडी चलाएको पुष्टि भएको जनाएको छ । घाइते भएका चालक दर्जीको स्वस्थ्य परीक्षण गर्दा मदिरा सेवन गरेको रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘मेडिकल रिपोर्ट अनुसार चालकले मदिरा सेवन गरेको खुलेको छ, अन्य कारणबारे पनि अनुसन्धान जारी रहेको छ ।’

चालक दर्जीसहित गाडी धनी बस्नेत पनि सामान्य घाइते भएका छन् । उनीहरुको पनि एडमण्ड अस्पतालमा उपचार भइरहेको छ । चालक दर्जीले भने, ‘खै के भयो भयो, गाडी अलि बढी मोडिएजस्तो लागेको थियो, त्यसपछि याद नै भएन ।’  पाल्पामा भएको यो गम्भीर दुर्घटनापछि यहाँका नेता तथा सामाजिक अगुवाहरुले दुख ब्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले समेत घटनाप्रति दुख ब्यक्त गरेका छन् । मृतकहरुको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने काम भइरहेको बुटवल प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप