मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्तरोन्नति नहुँदा कर्णाली राजमार्गको यात्रा पीडादायी बन्दै

शनिबार, २३ पुस २०७९, ०९ : १६
शनिबार, २३ पुस २०७९

कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि जुम्ला सम्मको २ सय ३२ किलोमिटर सडक सञ्चालनपछि यस क्षेत्रका बासिन्दाको जीवनस्तर बदलिँदै गएको छ। विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी राजमार्गबाट मुगु जिल्लामा यातायात सञ्चालन भएपछि सहज आवतजावत र वस्तु विनिमयको हिसाबले फड्को मारेको छ। 

यद्यपि राजमार्गको स्तरवृद्धि हुन नसक्दा यात्रुले पीडादायी यात्रा गरिरहनुपरेको छ। असोज महिनाको वर्षा र बाढीपहिरोले राजमार्ग क्षतविक्षत बनाएपछि सो राजमार्गको यात्रा अझ कष्टकर बन्दै आएको छ। भत्किएको राजमार्ग सञ्चालनमा समेत अनेक कठिनाइ उत्पन्न भएको छ। पहिरो पन्छाउँदै गर्दा झन् पहिरो थपिइ नै रहेको छ। 

बाढीपहिरोले भत्काएको राजमार्ग सञ्चालनमा ल्याउन मर्मत कार्य भइरहेको छ। सडक डिभिजन जुम्ला र सरोकारवाला लाग्दा पनि १५ दिनपछि सञ्चालनमा आएको राजमार्ग अहिले कैयौँ स्थानमा अस्थायी जाली प्रयोग गरी सवारी पास तथा मालवाहक साधन सञ्चालन भइरहेका छन्। पहिरोले कालोपत्रे गरिएका क्षेत्र पनि कच्ची सडकमा परिणत भएका छन्। यसले गर्दा यो राजमार्ग २०६३ मा कच्ची ट्र्याक खुलेको जस्तै महसुस भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत बताउछन्।

उनका अनुसार यो राजमार्गमा विशेष प्याकेजको आयोजना र बजेट आवश्यक हुन्छ। यसमा सरकार र कर्णालीका जनप्रतिनिधिले जोड दिनुपर्छ। सडक डिभिजन कार्यालय जुम्ला निरन्तर राजमार्ग मर्मत सम्भारमा खटिए पनि धेरै क्षेत्रमा बाढीपहिरोले भत्काएपछि थेग्न नसकिने भएको छ। सबैभन्दा बढी जुम्ला र कालीकोट खण्ड र त्यसपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ। हवाई यातायात भरपर्दो नभएको र सर्वसाधारणले हालको चर्को भाडा तिर्न नसक्ने स्थिति रहेकाले यातायातको एक मात्र विकल्प कर्णाली राजमार्ग भएको जनाइएको छ। 

यात्रा एकातिर बाध्यात्मक अवस्था छ भने मालवाहक ठूला साधनलाई त यस क्षेत्रमा सास्ती हुने गरेको छ। कर्णाली राजमार्गबाट यात्रा गर्दा यात्रुका फरक फरक पीडा छन्। जुम्लाका मनऋषि धितालका अनुसार कर्णाली र नाग्म गमगढी राजमार्गमा बाढीपहिरोको कारण माथिबाट पहिरो आउनलाई ठिक्क तयारी भएजस्तो अनुभूति हुन्छ। हिमा गाउँपालिका–१ निवासी मानबहादुर शाहीले राजमार्गको यात्रा ढुक्क नभएको बताए। राजमार्गलाई पहिलाको अवस्थामा फर्काउन कठिन छ। 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग बाढीपहिरोले क्षतविक्षत बनाएपछि पूर्वअवस्थामा ल्याउन २ अर्ब रुपियाँको योजना अघि सारेर सम्बन्धित निकायमा पेस गरिएको छ। उनले बजेटको मागपत्र अहिले अर्थ मन्त्रालयमा पुगेको जनाए।डिभिजन सडक कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर चित्र चौलागाईंले राजमार्गका विभिन्न भागमा रहेका पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप