शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
निबन्ध

अलबिदा बुवा

शनिबार, २३ पुस २०७९, १० : ४७
शनिबार, २३ पुस २०७९

गोरो वर्ण, अग्लो शरीर, न दुब्लो, न मोटो, सदाबहार मध्यम खाले शरीर । मैले जीवनको सैंतिसौं वसन्त पार गर्दै गर्दाको जोस र उमङ्ग भन्दा बुवाले जीवनको छयासिऔँ वसन्त पार भैसक्दाको जोस र उमङ्गमा कति कति अन्तर ! उहाँको निडर, हक्की र जस्तोसुकै परिस्थिति पनि सहजै स्वीकार गर्न सक्ने क्षमता देखेर निकै डाहा लाग्थ्यो । 

तीन दाजुभाइ मध्येको कान्छो, आफू ५ वर्षको पनि नहुँदै आमा गुमाएको टुहुरो छोरो, आफू जवान नहुँदै बुवा गुमाएको बेसहारा छोरो, आफू जवान हुँदै गर्दा गुमाएका दुई प्रिय दाजुको अभागी कान्छो भाइ, उमेरमा सन्तानको जन्म दिन नसकेर गाउँले र छिमेकीले भन्ने गरेको कर्महारा ! हो, उहाँकै कान्छो छोरो भएर यस धर्तिमा जन्म लिएको म पनि टुहुरो र बेसहारा बनेको महिना दिन बित्यो । 

कहिलेकाहीँ त लाग्छ बुवा भन्दा म पो भाग्यमानी रहेछु । उहाँले त ५ वर्षमा जन्म दिने आमा गुमाउनु भएको रहेछ । मैले त कम्तीमा आफू ३७ औँ वसन्त पार गर्दासम्म नि आमा भनेर आमाको न्यानो काखमा लुटुपुटु गर्न पाइरहेको छु र आमालाई घुर्की लगाउन पाइरहेको छु । अरूलाई दुःख, वियोग र चोट पर्दा घण्टौँ बसेर सान्त्वना दिएर खुसी रहन सिकाउने म आफूलाई दुःख र वियोग पर्दा सम्हालिन नसक्ने भई अबुझ भएको छु । म मात्रै हैन, सबै परिवार अबुझजस्तै भएका छौँ ।

एउटा गरिब किसानको छोरो भएर जन्मिएर सानोतिनो भए नि सरकारी जागिर खानु भएको बुवाले परिवारको लागि अनि छोराछोरीको लागि गर्नुभएको त्याग र तपस्याको बयान गर्ने कुनै शब्द नै छैन । 

आफ्नो ठूलो दाजुको निधनपछि लगभग आफ्नो उमेर सरहको प्रिय भाउजूलाई आमा ठानेर मिलीजुली घर–व्यवहार सम्हाल्न पाउनु भएको उहाँले भाउजूको अपार माया, साथ र सहयोग पाउनु भयो, यसले गर्दा बुवाले आमा, बुवा अनि दुई दाजुहरू गुमाउनुको आभास गर्नु परेन । 

आदरणीय ठुली आमा अर्थात् बुवाको प्रिय भाउजूलाई यो उमेरमा आफ्नो प्रिय देवर गुमाउन पर्दाको पीडाले कति पोलेको होला ? मिलीजुली काम गर्दाको यादले कति तड्पाएको होला !

तीस वर्षसम्म बिहान दुई घण्टा र साँझ दुई घण्टा उकालो र ओरालो गर्दै जागिर खाँदा हजारौँ जुकाले चुसेको, जङ्गलमा बाघले लखेटेको, भिरबाट ढुङ्गा खसेर चोट लागेको, वर्षा यामको झरी र हिउँद महिनाको असिना पानीले चुट्नु चुटेको अनि गाउँबेशी गर्दा पराल र धानको भारी बोकेर बनेको बज्र शरीरमा लाग्दथ्यो २, ४ सय वर्ष नि केही हुँदैन । 

तर जन्मेपछि मृत्यु आखिर निश्चित छ । अजम्बरी त यहाँ कोही पनि छैन । यो सबै थाहा छ र पनि महिना दिन बितिसक्दा पनि यो मनले पत्याउन सकेको छैन । 

लाग्छ, बुवा त त्यही घरको बरन्डामा बसेर परीपट्टिको बस्ती नियाली रहनु भएको छ । आँगनीमा लौरो टेकेर मुसुमुसु हाँस्दै हिँडिरहनु भएको छ । अमेरिकामा बस्ने छोरा नातिसँग अनि काठमाडौँ बस्ने छोरा, नाति र बुहारीसँग रमाइलो गफ गर्दे हुनुहुन्छ । छोरी र ज्वाँइसँग दुःख सुख साट्दै हुनुहुन्छ । 

बुवाको अन्तिम समय सम्मको हाँसो र एक किसिमको आत्मवल अनि उर्जाले बुवालाई झन् दरविलो बनाएको जस्तो महसुस हुन्थ्यो । 

मृत्युको शैया भन्दा केही घण्टा अगाडिको बुवाको पीडा अनि छटपटी यो मानसपटलमा अविछिन्न घुमिरहन्छ । लाग्थ्यो, यत्रो दुःख, कष्ट सहेर हुर्काउनु भएको म छोरो भएर बुवालाई केही गर्न सकिन । 

आँखामा आँसुको खोलो वग्दथ्यो । घरमा भएका दिदी, बहिनी, श्रीमती अनि बूढी आमाको अनुहारमा हेर्दा लाग्थ्यो, उहाँहरूले पनि मैले केही गर्न सकेन भनेर गाली पो गरिरहनु भएका हो कि ? बुवाले पनि मेरो छोरोले मैले बोलेको केही बुझेन भनेर गाली पो गर्नु भएको छ कि ? या मलाई आशीर्वाद पो दिइरहनु भएको पो हो कि ? 

यसरी सोच्दै गर्दा झनै आँसु बग्थ्यो । कसैले नदेख्ने गरी घन्टौँ सम्म एकान्तमा रुन्थेँ । यो मन बेचैन हुन्थ्यो । कहाँ जाऊँ अनि के गरूँ जस्तो मात्र हुन्थ्यो । 

मैले मेरो बुवाको मृत्यु देख्न पर्ला र ? म मेरो बुवाको लासको पछि–पछि मलामी भएर हिँड्नु पर्ला र ? त्यो हँसिलो अनुहारमा मैले आगो बाल्न पर्ला र ? मैले अनि बूढी आमाले सेतो लुगा लगाएर क्रियामा बस्नु पर्ला र ? दिदी बहिनी अनि आफन्तको चित्कार सुन्न पर्ला र ? खोलामा गएर घिउ भात पकाएर खान पर्ला र ? आखिर यी यस्ता कुराहरू कल्पना गर्ने नसक्ने म भोग्न र गर्न तयार हुनु प¥यो । 

प्रत्येक दिन बेलुकी सुत्ने बेलामा बुबासँग एक पटक फोनबाटै भए पनि सुख अनि दुःखका कुराहरू गरेर निदाउने बानी भएको मैले बुवाको आवाज विना निदाउने बानी पार्न परेको छ । घर जाँदा बुबासँगै रातभर गफ गर्दे बस्ने अनि सधैँ उज्यालो हुने त्यो घर अनि आँगन सदाको लागि अन्धकार बनेको छ । 

तर के गर्नु, मन आखिर बुझाउन नसक्दा नसक्दै पनि आफ्नो दैनिकीलाई अगाडि बढाउनै पर्ने रहेछ । यो पापी पेट पाल्न र परिवारमा आफ्नो भूमिका निर्वाह गर्न हजुरले हिँड्न सिकाउनु भएको सत्कर्मको बाटोमा सदा हिँड्नेछु । स्वर्गमै बसेर भने पनि मलाइ सदा आशीर्वाद दिनु होला । यी केही हरफहरू लेख्दै गर्दा आँखाको कुनाबाट निस्केको आँसुले थप लेख्न नसक्ने भएँ । अलबिदा बुवा !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश अधिकारी ‘नयाँघरे’
दिनेश अधिकारी ‘नयाँघरे’
लेखकबाट थप