आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
चलचित्र

करियर दाउमा राखेर निर्देशन

शनिबार, २३ पुस २०७९, १७ : ०८
शनिबार, २३ पुस २०७९

फिल्म ‘गुञ्जन’ मार्फत् फिल्म निर्देशनमा मेरो डेब्यु भएको छ । निर्देशनमा कुनै योजना बनाएर म भित्रिएको होइन । 

‘गुञ्जन’ फिल्मका निर्माता भाइ हिराकृष्ण शाहीले ३÷४ वर्ष अगाडिदेखि फिल्म गर्ने भनिरहेका थिए । त्यो समय फिल्म उद्योगको माहौल राम्रो थिएन । त्यसैले, अहिले नगरौँ, माहौल राम्रो भएपछि गरौला भनेर टार्दै आएको थिएँ । 

समय बित्दै जाँदा उनले जे हुन्छ, हुन्छ गरौँ भनेर ढिपी कसे । त्यसपछि फिल्म निर्माणको तयारीमा अगाडि बढ्यौ ।

सुरुमा ‘गुञ्जन’ मा मैले सघाउने मात्र हो, निर्देशन मेरो नजिकको एक जना दाइले गर्ने तयारी गरेका थियौ । काम अगाडि बढ्दै जाँदा जसले फिल्म निर्देशन गर्ने कुरो थियो, उहाँले अर्को फिल्मको कामले नभ्याउने विवशता जनाए । 

त्यो समयसम्म फिल्म निर्माणका लागि हामी धेरै अगाडि बढिसकेका थियौ । अब कसलाई निर्देशक लिने, के गर्ने हिराकृष्ण र म नियमित छलफलमा बस्यौ । सुरुको तयारीदेखि सबै काममा म भएकोले ‘अन्यलाई दिनु भन्दा तपाईं आफैले गर्दा राम्रो हुन्छ’ भनेर हिराकृष्ण भाइले निर्देशकको अफर दिए । केही साथीभाइले पनि निर्देशनमा होमिन सुझाए । यसरी म अचानक निर्देशनमा आइपुगेँ ।

asta maharjan (3)

दुई दशकको अनुभव 

‘गुञ्जन’ निर्देशनको हिसाबले मेरो पहिलो फिल्म हो तर फिल्म क्षेत्रमा भने म २०४८ सालदेखि निरन्तर छु । त्यस वर्ष नेपाल टेलिभिजनको ‘प्रहरी अनुरोध’ सिरियलमा अमृत मगरको सहयोगबाट अभिनयमार्फत मैले कलायात्रा थाले । 

पछि अमृतमान महर्जनको सिरियल ‘मौनता’ मा काम गरें । त्यही समय नन्दुश्री वास्तवको फिल्म ‘राजकुमार’मा जोडिएँ । शोभित बस्नेतको निर्देशन रहेको फिल्म, जसमा धिरेन शाक्य हिरो थिए । किशोर मानन्धर द्वन्द्व निर्देशक रहेको त्यस फिल्ममा म द्वन्द्व कलाकारको रुपमा भित्रिएँ ।

पछि पछि फिल्मको काम त एकदमै रमाइलो लाग्न थाल्यो । फिल्मको काम मलाई दैनिक पिकनिक जस्तो लाग्न थाल्यो । त्यसैले अन्य फिल्ममा पनि द्वन्द्व कलाकारको रुपमा काम गर्न थाले । 

यस क्रममा द्वन्द्व निर्देशक रोशन श्रेष्ठ, राजेन्द्र खड्गी, एनबी महर्जन लगायतसँग भेटघाट भयो । उहाँहरुसँगको संगतले फाइटरको काम नियमित पाउन थालें । एनबी महर्जन दाइसँग बढी लगाव भएकाले उहाँसँग काम गर्दा धेरै कुरा सिक्ने मौका पाएँ । उहाँलाई नै गुरु मानियो । 

यसै क्रममा म्युजिक भिडियो निर्देशक दीपक परिकोटीले आफ्नो म्युजिक भिडियोमा द्वन्द्व निर्देशनको जिम्मेवारी दिए । लगत्तै योगेश घिमिरेको ‘सिन्दुर’, ‘गहना’ सिरियलमा पनि द्वन्द्व निर्देशकको जिम्मेवारी सम्हाले ।

त्यही समय बसन्त निरौला र लक्ष्मण रिजाल निर्देशकले निखिल उप्रेती हिरो भएको फिल्म ‘विजयपथ’ मा द्वन्द्व निर्देशको जिम्मा दिए । म्युजिक भिडियोमा द्वन्द्व निर्देशनको ब्रेक दिने दीपक परिकोटीले नै फिल्म ‘तेजा’को जिम्मेवारी सुम्पिए । त्यसपछि फिल्म ‘तहल्का डटकम’ हुँदै अहिलेसम्म करिब ३ सय हाराहारी फिल्ममा द्वन्द्व निर्देशनको तहल्का मच्चाएको छु । 

यस दौडानमा नेपाली फिल्म उद्योगका चल्तीका नायक, नायिका, निर्माता निर्देशक प्रायः सबैसँग काम गरियो । अभिनयदेखि द्वन्द्व निर्देशकसम्मको दुई दशकको लामो फिल्मी अनुभव मैले ‘गुञ्जन’ फिल्ममा खन्याएको छु ।

asta maharjan (1)

दाउमा करियर 

‘गुञ्जन’ निर्देशनमा म करियर दाउमा राखेर उत्रिएको हो । म द्वन्द्व निर्देशकको रुपमा म व्यस्त थिएँ । एकपछि अर्को फिल्म हात परिरहेको थियो । काम भएपछि नाम र दाम हुने नै भयो । कतिपय फिल्मकर्मीले त मेरो समय पनि कुर्थे । नेपाली मात्र होइन, राम्रा भोजपुरी फिल्मका पनि अफर थिए ।

त्यसैले, फिल्म निर्देशनमा होमिएपछि काम पाउँदिन कि भन्ने डर पनि थियो । तर फिल्मका लागि धेरै तयारी गरिसकेकोले पछि हट्न पनि उपयुक्त लागेन । जे त पर्ला, सफल बनाउँछु भनेर करियर दाउमा राखेर निर्देशनमा होमिएँ । 

‘गुञ्जन’ फिल्म निर्देशन गरिसकेपछि पनि अहिले द्वन्द्व निर्देशनको कामको चाप उस्तै छ । 

प्रेमबाट सुरुवात    

दुइ दशक बढी समय द्वन्द्व निर्देशन गरेको मेरो डेब्यु निर्देशनमा ‘गुञ्जन’ फिल्म आउँदै गर्दा दर्शकले फिल्ममा भरपुर एक्सन हेर्न पाउने अपेक्षा राख्नु स्वभाविक हो । 

तर मैले ‘गुञ्जन’ एक्सन नभएर प्रेमकथा पस्किएको छु । मैले धेरै फिल्ममा धेरै खालका एक्सन देखाएको छु ।  त्यसमा पनि रियलिस्टिक बेसका एक्सनमार्फत् दर्शक रिझाउँदै आएको सबैलाई थाहै छ । म द्वन्द्व निर्देशक भए पनि यो फिल्ममा द्वन्द्व विधालाई अलग्गै राखेर प्रेमकथामा पस्किएँ । त्यसको कारण हो सुरुवात द्वन्द्व भन्दा पनि मायाबाट गरौँ भन्ने लाग्यो । 

मायाबाट सुरुवात गरेपछि दर्शकको माया पाइन्छ कि भन्ने लागेको छ । अब द्वन्द्व बिधामा जानु परे जाउँला भन्ने लागेको छ । फिल्ममा द्वन्द्वका पाटा केही पनि नभएको भने होइन, केही छन् ।

मैले फिल्म एक्सन प्रधान नगर्नुको हर्को कारण पनि छ, त्यो हो पछिल्लो समय एक्सन फिल्म सफल नभएको यथार्थ । अर्को कुरो यो समय प्रेमकथाका फिल्म निर्माण नभएकोले मौका छोपौँ र लाभ उठाऔँ भन्ने हो । 

asta maharjan (4)

फिल्मी रुचिको विषयमा दर्शकहरू आ–आफ्नै तवरबाट ब्रिफिङ गर्छन् । मेरो विचारमा दर्शकले फिल्म हेर्ने भनेको मनोरञ्जनका लागि हो । मेरो फिल्म पूर्ण मनोरञ्जनात्मक छ । मलाई विश्वास छ, फिल्म ‘गुञ्जन’ सबैले रुचाउने छन् । 

हल्लाखल्ला कम

मैले काम गरेको हरेक फिल्ममा द्वन्द्वको हिसाबले नयाँपन दिँदै आएको थिएँ । ‘गुञ्जन’ मा पनि दर्शकले केही नयाँ अवश्य भेटाउनु हुनेछ । फिल्ममा कलाकारहरू सारा सिर्पाली, प्रितमराज सेन्च्युरी, कविर खड्का, सरोज खनाल लगायतको मुख्य भूमिका छ । 

फिल्ममा स्टार कलाकार भन्दा पनि कथा र चरित्रमा फिट हुने खालको लिएको छु । फिल्म हेर्ने कोहीले पनि मेरो कलाकार छनौटमा कमेन्ट गर्ने ठाउँ भेट्न हुन्न होला । 

फिल्मको रिलिज मिति नजिकिँदै गर्दा फिल्मको जति हल्लाखल्ला हुनुपर्ने हो, त्यसमा अलिक कमी भएको मैले महसुस गरेको छु । फिल्म प्रचारमा हिँड्नुपर्ने अभिनेत्री सारा अहिले दुबईमा छिन् । केही समय पर्खिएर दुबई उडेकी उनी त्यहाँ काम गर्न थालेकी छन् । त्यसैले अहिले उनी नेपाल आउन सक्दिनन् । उता सरोज खनाल अमेरिका र अन्य कलाकारहरू पनि बाहिर बाहिरै रहेकोले भनेजस्तो प्रचार गर्न सकिएको छैन । अभिनेता कविर खड्का भने दौडधुपमा छन् । कलाकार नहुँदा प्रेस मिट राखेर सबै कुरा भन्न सकिएको छैन । तैपनि सक्दो गरिराखेका छौँ ।

समीक्षकले रुचाउनेछन्

‘गुञ्जन’ पुस २९ बाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । यो मितिमा अर्को फिल्म ‘तिम्रो मेरो साथ’ पनि लाग्दैछ । यो फिल्मसँग भिड्दा मलाई अलिकति पनि डर छैन । मेरो फिल्मसँग जुन फिल्म जुध्दैछ, त्यो सबिर श्रेष्ठ दाइको हो । म भन्दा अग्रज र सिनियर निर्देशक हो उहाँ । दुवै फिल्म एकसाथ रिलिज हुँदा म एकदमै खुशी छु । ‘गुञ्जन’ राम्रो बनेकोले पनि ब्यवसायका लागि डर छैन । मेरो फिल्म दर्शकलाई मात्र होइन, समीक्षकलाई समेत मनपर्छ भन्ने विश्वास लिएको छु । 

(राटोपाटीको लागि कुबेर गिरीसँग कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अष्ट महर्जन
अष्ट महर्जन
लेखकबाट थप