बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देवघाट मेलालाई लक्षित गर्दै नारायणगढ–मुग्लिन सडक दिउँसो पनि खुला गरिने

आइतबार, २४ पुस २०७९, ०९ : ५६
आइतबार, २४ पुस २०७९

हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ । तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए । अहिले सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ ।
 
देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन आउने गर्दछन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ । गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उनले बताए ।
 
देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ । वेणीमा वारपार गर्न २२ वटा र्याफ्टिङको व्यवस्था गरिएको छ । दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ ।
 
समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ । मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ । विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन् ।
 
सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । देवघाट जानेहरूलाई रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ । दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ ।
 
पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ । मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप