बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश १

मन्त्रालय विभाजनमा सहमति खोज्दै सत्ता गठबन्धन, भोलि सानो आकारको मन्त्रिमण्डल गठन हुने

आइतबार, २४ पुस २०७९, १७ : ४४
आइतबार, २४ पुस २०७९

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनको नियुक्तिसँगै अबको मन्त्रीमण्डलमा को–को समावेश हुने र सत्ता गठबन्धनका अन्य दलले कति मन्त्रालय पाउने भन्ने विषयमा चासो सुरु भएको छ ।  कार्कीलाई प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थन छ । 

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री कार्कीको शपथग्रहणको कार्यक्रम भोलि राखिएको छ । मुख्यमन्त्रीले भोलि नै सानो आकारको मन्त्रीमण्डल गठन गर्न प्रयास गरिरहेको बताइएको छ । हाल कायम रहेको १३ मन्त्रालयलाई ९ या ११ वटामा झार्ने कार्कीको प्रतिबद्धता छ । सरकारमा माओवादी केन्द्र र राप्रपा पनि जाने निश्चित छ । राप्रप संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारलाई समर्थन गरिसकेको हुनाले आफूहरु पनि मन्त्रीमण्डलमा सामेल हुने बताए । १ जना सांसद रहेको जसपाले मन्त्री पाउने नपाउने अनिश्चित छ । 

हालसम्म प्राप्त जानकारी अनुसार ९ मन्त्रालय रहे माओवादी केन्द्रले ३, राप्रपाले १ र एमालेले ५ मन्त्रालय राख्ने तयारी गरेको छ । ११ मन्त्रालय रहँदा एमालेले ६ माओवादीको भागमा ३ र राप्रपालाई २ दिने एमालेको तयारी रहेको बताइन्छ । मन्त्रालय भागबण्डा र मन्त्रीको छनौट गर्न केही समय लाग्ने भएकाले भोलि एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जना मन्त्री बन्ने सम्भावना छ । एमालेबाट भोलि नै मन्त्री बन्नेहरुमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी रहेका छन् । यस्तै माओवादी केन्द्रले दुर्गा प्रसाद चापागाईंको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । प्रारम्भमा उनै चापाईंले शपथ लिनसक्ने माओवादी स्रोतको भनाइ छ । यस्तै राप्रपाबाट भने सुरुमा दलका नेता भक्तिप्रसाद सिटौला सरकारमा जाने स्रोतको दाबी छ । 

नवनियुक्त मुख्यमन्त्री कार्कीले भने आगामी ५ वर्ष यहि गठबन्धनको सरकार कायम हुने बताएका छन् । मुख्यमन्त्रीको दावी पेस गर्नु अगाडि प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले आगामी ५ वर्षसम्म यहि गठबन्धन कायम हुने तर, मुख्यमन्त्री तथा मन्त्रीहरु परिवर्तन हुनसक्ने बताए ।  ‘आगामी ५ वर्ष यहि गठबन्धनको सरकार जान्छ,’ उनले भने, ‘तर, मुख्यमन्त्री र मन्त्रीहरू फेरिन सक्छन् ।’ एमाले र माओवादीबीच गठबन्धन गरेर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने सहमति बन्दा आलोपालोको सहमति भएको थियो । प्रदेश सरकारहरुमा पनि आलोपालो गर्ने सहमति शीर्ष तहमै भएको बताइएको छ । 

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको पनि दाबी थियो । आज बिहान कार्की र आङ्बोबीच एक्लाएक्लै छलफल भएको थियो । सो छलफलमा पनि आलोपालो मुख्यमन्त्री बन्नेबारे कुराकानी भएको अनुमान गरिएको छ । यद्यपि आङ्बोले आलोपालोको सहमति भएकोबारे सोधिएको प्रश्नमा कुटनीतिक जवाफ दिएका छन् । ‘अहिले एमाले दलको नेतालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो’ उनले भने, ‘बाँकी कुरा मुख्यमन्त्रीको नियुक्ति पछि सहमति हुनेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप