शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदिरा र लागुऔषध समेत सेवन गर्छन् बसका चालक

प्रहरी चेकजाँच कम भयो : सरोकारवाला
सोमबार, २५ पुस २०७९, १० : ३३
सोमबार, २५ पुस २०७९

रुपन्देही । सार्वजनिक यातायातका साधन (बस) चलाउने चालकले मदिरामात्र होइन, लागुऔषधसमेत प्रयोग गर्ने गरेको तथ्य फेला परेको छ । प्रहरीले मदिरा सेवन गरेर सवारी चलाउनेका अतिरिक्त पछिल्लो समय लागुऔषध प्रयोग गरेको समेत चेकजाँच गर्न थालेको छ । तर प्रहरीले चेकजाँचलाई नियमित नगर्दा सार्वजनिक सवारी चलाउने चालकले मदिरा र लागुऔषध समेत प्रयोग गरेर यात्रीको जीवनमाथि खेलवाड गर्ने क्रम नरोकिएको सरोकारवालाको ठहर छ ।

अर्घाखाँचीको ठाडामा शुक्रबार बेलुका लागुऔषध सेवन गरेका चालकलाई स्थानीयको सुराकीमा प्रहरीले पक्राउ गरेको छ । लु१ख ८२१६ नम्बरको बसका चालक सुशील बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । पाण्डेका अनुसार लागुऔषध सेवन गरेका चालक बस्नेतलाई तारेखमा छोडिएको छ ।

गत बिहीबारमात्रै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुर्सानेमा मदिरा सेवन गरेका चालकले चलाएको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाले बस चालक चेतबहादुर दर्जीले मदिरा सेवन गरेर बस चलाएको पुष्टि गरेको छ । चालक दर्जीको स्वस्थ्य परीक्षण गर्दा मदिरा सेवन गरेको रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘मेडिकल रिपोर्ट अनुसार चालकले मदिरा सेवन गरेको खुलेको छ, अन्य कारणबारे पनि अनुसन्धान जारी छ ।’

उक्त बस दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल र एडमण्ड अस्पतालमा उपचार भइरहेको छ । एडमण्ड अस्पतालका सूचना अधिकारी मुक्ति काफ्लेका अनुसार घाइतेमध्य दुईजनाको स्वास्थ्य अवस्था अझै नाजुक छ ।

अस्पतालमा उपचार गराइरहेका घाइतेले चालकले अध्यधिक मदिरा सेवन गरेर गाडी चलाएकाले दुर्घटना भएको प्रतिक्रिया दिएका छन् । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्साने हिँडेको ग१ख ४९७७ नम्बरको बस खुर्साने पुग्नलाग्दा मधुवनको टारीखेत नजिकै बिहीबार राति साढे ९ बजे दुर्घटनामा परेको थियो ।

बसका मालिक रामबहादुर बस्नेत र चालक दर्जीले धेरै मदिरा पिएको आफूले देखेको घाइते यमकला पाण्डेले बताइन् । एडमण्ड अस्पतालमा उपचाररत पाण्डेले भनिन्, ‘ड्राइभर र साहु अनि अर्को एकजनाले रक्सी धेरै खाएका थिए । रक्सी खाएर गाडी चलाउने बित्तिकै गाडी बाटोको कुनामा ठोकियो । त्यसपछि हामी डरायौं र झर्न खोज्यौं तर गाडी साहुले मरे सबै मरौंला बाँचे सबै बाँचौँला भनेर झर्न दिएनन् । केही बेरपछि अलि पर लगेर ड्राइभरले भिरबाट फाल्यो ।’

अर्की घाइते निमकली पाण्डेले पनि चालक दर्जीले धेरै मदिरा पिएर एकजना यात्रुसँग झगडासमेत गरेको बताइन् । उनले भनिन्, ‘ड्राइभरले धेरै रक्सी खाएर एक जना केटालाई बियरको बोतलले हाने, त्यसपछि उनी तेरो गाडीमा चढ्दिन भनेर हिँडेर गएका हुन् ।’

प्रहरीले पहिले जस्तो नियमित चेकजाँच नगरेका कारण दुर्घटनाको जोखिम बढेको सरोकारवालाहरुको भनाइ छ । सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डेले भने, ‘प्रहरीले पहिलेजस्तो सडकमा नियमित चेकजाँच नगर्दा पनि समस्या भएको छ, मोटरसाइकल चलाउनेलाई बिहान चेकिङ गर्छ तर दिनमा र राति मदिरा खाएर बस चलाउनेलाई चेक गर्दैन ।’

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम अधिकारीले भने बेला बेलामा प्रहरीले चेकजाँच गरिहेको दाबी गर्दछन् । मदिरामात्र नभई लागुऔषध सेवन गर्नेहरूलाई पनि कारबाही गर्ने गरिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप