मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा सरकार गठनको तयारीमा जुट्दै माओवादी–एमाले

मङ्गलबार, २६ पुस २०७९, ०९ : ३५

सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि नेपका (माओवादी केन्द्र) र नेकपा एमाले आजदेखि तयारीमा जुट्दै छन् । आइतबार सत्ता साझेदार दलको केन्द्रीय बैठकले कर्णालीमा माओवादीलाई मुख्यमन्त्री दिनेगरी  भागबन्डा लगाएसँगै दलहरू सरकार गठनको तयारीमा जुटेका हुन् । 
 
सोमबार प्रदेशमा शीर्षस्थ नेताहरुबीच अनौपचारीक भेटवार्ता भए पनि औपचारिक रूपमा आजदेखि छलफलमा जुट्ने तयारीमा रहेको नेताहरूले बताएका छन् । १० गते केन्द्रमा समीकरण बने पनि प्रदेशको नेतृत्व टुङ्ग्याउने विषय केन्द्रमै निर्भर रहेको भन्दै दुई दलका नेताहरुबीच छलफल हुन सकिरहेको थिएन । 

सोमबारको भेटघाटमा  सामान्य छलफल मात्रै भएको र आजदेखि औपचारिक रूपमा छलफल गरिने माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले रातोपाटीलाई जानकारी दिए । 

यता एमालेले आज दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । दलका नेता यामलाल कँडेलले सरकारमा सहभागी हुने/नहुनेबारेमा छलफल गर्नका लागि बैठक बोलाएका हुन् । बैठकमा केन्द्रले कर्णालीमा एमालेलाई मुख्यमन्त्री नदिएको र सभामुखको विषयमा समेत छलफल हुने सांसद जीतबहादुर मल्लले जानकारी दिए । 

त्यसपछि दुई दलका नेताहरुबीच सरकार गठनको बारेमा छलफल चल्ने नेताहरूको भनाइ छ । कर्णालीमा माओवादीका राजकुमार शर्मा तेस्रो मुख्यमन्त्री बन्ने करिब पक्का जस्तै छ । यद्यपि एमालेले माओवादीलाई समर्थन गर्छ की गर्दैन भन्ने खालका आशङ्काहरू पनि उब्जिएका छन् । तर एमालेका सांसदहरू केन्द्रको निर्णयलाई मानेर अघि बढ्ने बताइरहेका छन् । 

४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्दछ । तर माओवादीको १३, एमालेको १० र राप्रपाका एक गरी २४ हुन्छ । 

यता प्रदेश प्रमुख तिलक परियारले बुधवार बेलुकी पाँच बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिसकेका छन् । 

यता सभामुख पाएको एमालेभित्र सभामुख कसलाई बनाउने भन्ने विषयले खासै चर्चा पाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप