बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

सुदूरपश्चिममा एमालेलाई नागरिक उन्मुक्तिको साथ, राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

मङ्गलबार, २६ पुस २०७९, ११ : ५४
मङ्गलबार, २६ पुस २०७९

धनगढी । कुनै पनि सरकारलाई समर्थन नगर्ने अडानमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्ततः हालको सत्ता साझेदार गठबन्धनलाई समर्थन गर्ने भएको छ ।

नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभाका प्रमुख सचेतक गंगाराम चौधरीले हालको नेकपा एमाले र माओवादी नेतृत्वको सत्ता साझेदार गठबन्धनलाई समर्थन निर्णय भएको जनाए ।

‘माओवादी र एमाले नेतृत्वमा रहेको केन्द्र र प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौ । तर हाम्रो मुद्दा सम्बोधन नभएसम्म हामी सरकारमा नगइ प्रतिपक्षमा बस्ने छौ’, उनले रातोपाटीसँग भने ।

नागरिक उन्मुक्तिको समर्थन गर्ने निर्णयपछि केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइने भएको छ । भने यता सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको जिम्मेवारी पाएको नेकपा एमालेलाई नेतृत्वको बाटो खुलेको हो ।

योसँगै नेकपा एमाले संसदीय दलको नेता रहेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने मार्ग समेत सुनिश्चित भएको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्ति नागरिक उन्मुक्तिको समर्थनले एमालेको नेतृत्वमा बहुमत सरकार बन्ने भएको हो ।

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्य चाहिन्छ । यहाँ नागरिक उन्मुक्ति पार्टीको समर्थनले केन्द्रका सत्ता साझेदार दल माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राप्रपाको जम्मा सिट सङ्ख्या २९ को बहुमतको सरकार बन्ने भएको हो ।

यहाँ नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

यसैबीच नेकपा एमालेका संसदीय दलका नेता रावलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सबै पक्षलाई मिलाएर लैजाने बताएका छन । समर्थन मात्रै जनाएको नागरिक उन्मुक्तिलाई पनि साथमा लिएर सहमतिको सरकार बनाउने उनको भनाइ छ ।

उनले भने, ‘हामीले मिलेर काम गर्नुपर्छ, प्रदेशको विकास र समृद्धिको लागि । हामी सहकार्य र साझोदारीमा विश्वास गर्छौ ।’ 

त्यस्तै, उनले भोलि २७ गते प्रदेश प्रमुख कहाँ बहुमतको सरकारको लागि दाबी पेस गर्ने बताएका छन् । प्रदेश प्रमुखको कार्यालयले भोलि दाबी पेस गर्न अन्तिम समय सीमा दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप