शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै, एमालेबाट तीन जना आकाङ्क्षी

कांग्रेसले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गर्दै
शनिबार, ३० पुस २०७९, ०९ : २०
शनिबार, ३० पुस २०७९

सुर्खेत । कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय सीमा तोकिएको छ । प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । 

यस्तै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।

साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ । 

एमालेबाट सभामुखको को–को छन् आकाङ्क्षी ?

यद्यपि अहिलेसम्म सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख भाग परेको नेकपा (एमाले) ले उम्मेदवारको टुङ्गो लगाएको छैन । एमालेबाट अहिलेसम्म तीन जना सभामुखका आकाङ्क्षी देखिएका छन् । सभामुखको लागि सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम चर्चामा छ । 

तीन जना मध्ये मल्ल प्रत्यक्ष निर्वाचित हुन् भने गुरुङ र रोकाय समानुपातिकबाट निर्वाचित सांसद हुन् । एमाले सांसद टेकराज पछाईका अनुसार अहिलेसम्म उक्त विषयमा खासै छलफल नै भएको छैन । आज ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा तोकिएकाले आज दिउँसो बैठक बसेर छलफल गरिने उनले बताए । सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ । 

चर्चामा रहेका तीन जनामध्ये महिला सांसद गुरुङको सम्भावना प्रबल रहेको नेताहरूको भनाई छ । ‘भएसम्म यो पटक महिलालाई स्थान दिने भन्ने कुरा उठिरहेको छ,’ एमालेका एक सांसदले रातोपाटीसँग भने,‘ तर छलफलबाट नै टुङ्गो लाग्ने भएकाले अहिले नै भन्न सकिने अवस्था छैन ।’ 

कांग्रेसले पनि उम्मेदवारी दर्ता गर्ने

सत्ता गठबन्धन टुट्दा मुख्यमन्त्री गुमाएको नेपाली कांग्रेसले प्रदेश सभामुखमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ । सांसद हिम्मत बहादुर विष्टका अनुसार उम्मेदवारी दर्ताका लागि आज दिउँसो छलफल हुने छ । यद्यपि आन्तरिक तयारी भने भइरहेको उनले बताए । 

कांग्रेसबाट सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्ग पोखरेललाई सभामुखका लागि अघि सार्ने विषयामा आन्तरिक छलफल भइरहेको एक नेताले बताए । 

कांग्रेसका सांसद हिम्मत विष्टले गराउने छन् निर्वाचन

सभामुखको निर्वाचन कांग्रेस सांसद हिक्मतबहादुर विष्टले गराउने छन् । ज्येष्ठ सदस्यको रूपमा सभा सञ्चालन गरिरहेका एमाले सांसद विनोद कुमार शाह विना विभागीय मन्त्री बनिसकेकाले विष्टले निर्वाचन गराउने  भएका हुन् ।

कालिकोटबाट निर्वाचित विष्टले सभामुखको निर्वाचनका लागि तयारी गरिरहेको बताए ।  शाहपछि ज्येष्ठ सदस्य विष्ट हुन् । शाह ६६ वर्षका भए भन विष्ट ६४ वर्षका भए ।

323308215_1641416396276944_4138526429172352945_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप