सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
सारांश
- सुनसरीको देवानगन्जमा प्रहरी गोलीबाट एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिएपछि राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।
- प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी सूचना अनुसार राति ९ बजेदेखि लागू हुने गरी कर्फ्यू लगाइएको हो ।
- आदेशको उल्लङ्घन गर्नेलाई जरिवाना र कैद सजाय हुन सक्ने चेतावनी दिइएको छ ।
विराटनगर । सुनसरीको देवानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिँदै पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा सोमबार साँझ जारी गरिएको सूचना अनुसार आज राति ९ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको हो ।
प्रशासनले राजमार्गको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षाका लागि भन्दै इनरुवा नगरपालिका वडा नं. ३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपली टोल), पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि ५०० मिटर क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
आदेशमा तोकिएको सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी पूर्ण रोक लगाइएको छ ।
प्रशासनले कर्फ्यू आदेशको उल्लङ्घन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी समेत दिएको छ ।
आइतबार राति कप्तानगन्जमा भएको झडप र प्रहरीको गोलीबाट ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले सोमबार दिनभर सुनसरीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले लौकी, भोक्राहा र इनरुवा खण्डमा राजमार्ग अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरेपछि र सवारी साधनमा तोडफोडको स्थिति सिर्जना भएपछि प्रशासनले यो कदम चालेको हो ।
यसअघि नै देवानगन्ज र हरिनगराका ५ वटा मुख्य बजार क्षेत्रमा कर्फ्यू जारी भइसकेको थियो । राजमार्ग क्षेत्रमा समेत कर्फ्यू लागेपछि अब सुनसरीको मुख्य यातायात र बजार क्षेत्र ठप्प हुने देखिएको छ ।
प्रशासनले भने राजमार्गमा रोकिएका सवारी साधनलाई सुरक्षा घेराभित्र राखेर गन्तव्यतर्फ पठाउने तयारी गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण