बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

जागिर खान मन्त्री भएको होइन : आचार्य

आइतबार, ०१ माघ २०७९, १० : ११
आइतबार, ०१ माघ २०७९

विराटनगर । प्रदेश १ सरकारका का नवनियुक्त मन्त्री जीवन आचार्यले आफू जागिर खान मात्रै मन्त्री नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले जनताको विश्वास र भरोटा टुट्न नदिने तथा कसैको शीर झुक्ने गरी कुनै गल्ती नगर्ने बताएका हुन् । 

‘गत मंसिर–४ गते सम्पन्न आम निर्वाचनमा अत्याधिक मतदाता करिव ८०,०००० भएको प्रदेश सभा क्षेत्र मोरङ ६(१) बाट प्रत्यक्ष निर्वाचनमा भाग लिई यस क्षेत्रका आम न्यायप्रेमी मतदाताको न्यानो माया र विश्वासका कारण उत्कृष्ट जनमत सहित निर्वाचित भएसंगै मैले प्रदेश–१ सरकारमा सहभागी हुने अवसर प्राप्त गरेको छु,’ उनले लेखेका छन्, ‘मैले निर्वाचनताका भन्ने गरेको थिएँ राजनीति मेरा लागि विशुद्धरुपमा जनताको सेवा गर्ने थलो हो । यसलाई पेशा र व्यापार बनाउन म चुनावमा होमिएको होइन, सांसद केवल जागिर वा तलव खाने पद होईन । मैले ०७४ को निर्वाचनमा झिनो मतले पराजित भएसँगै जनताका पक्षमा निरन्तर सकेको काम गरिरहें, दुःख र पीडामा सकेसम्म मल्हम लगाउने कोशिस गरि नै रहेँ । जुन कुराको पुष्टि निर्वाचन परिणामले गर्छ नै ।’

आचार्यले आफू युवा भएको कारण युवाहरुको पक्षमा काम गर्ने पनि जनाएका छन् । ‘म एक अनुशासित यूवा हुँ र म मेरो जिम्मेवारीप्रति सचेत छु । स्वस्थ आलोचना प्रति मेरो सदैव सम्मान रहनेछ, म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि मेरो कारणले कसैको शीर झुक्ने छैन, म समग्र युवाहरुलाई प्रतिनिधित्व गरेर अगाडि बढ्दै गर्दा युवाहरुलाई निराश पार्नेछैन, म सँधै तपाईहरुसँगै थिएँ, छु र रहनेछु,’ आचार्यले भनेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप