बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
रिपोर्ट

प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?

बिहीबार, २५ असार २०८३, १३ : ००
बिहीबार, २५ असार २०८३

सारांश

  • ललितपुर महानगरपालिका इतिहास, कला र संस्कृतिले भरिपूर्ण सहरसँगै पछिल्लो समय स्मार्ट सहरका रूपमा विकसित हुँदैछ ।
  • प्रविधिको उच्च प्रयोग गरी सञ्चालित अत्याधुनिक कन्ट्रोल रुम, आपत्कालीन सेवा, विपद् व्यवस्थापन, दमकल सेवा, पार्किङ र यातायात व्यवस्थापनमा सुधार गरिएको छ ।
  • नगर प्रहरीले सेवाग्राहीका गुनासा ५ मिनेटभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ र जनताको घर-घरमा सुरक्षाकर्मीको सम्पर्क नम्बर उपलब्ध गराइएको छ ।

 

रातोपाटी संवाददाता

ललितपुर । ललितपुर महानगरमा पूरै हरियालीयुक्त वातावरण छ । सडक किनारमा गमलामा रोपिएका बिरुवा राखिएका छन् । चिटिक्क सिङ्गारिएको सडकका दुवै किनारामा बोटबिरुवाले सहरको शोभा बढाएका छन् । सहरमा एक फन्को लगाउँदा यात्रु र सर्वसाधारणले आनन्द महसुस गर्छन् ।

lalitpur mahangar (10)

इतिहास, कला र संस्कृतिले भरिपूर्ण ललितपुर महानगरपालिका पछिल्लो समय मुलुककै नमूना र स्मार्ट सहरका रूपमा विकसित हुँदैछ । यसको पछाडि नागरिकको सचेतना र जनप्रतिनिधिहरूको दूरदर्शी सोच त छँदैछ, महानगरको शान्ति सुरक्षा, यातायात व्यवस्थापन र आपत्कालीन सेवामा अहोरात्र खटिने ललितपुर महानगर प्रहरी बलको भूमिका पनि उत्तिकै प्रशंसनीय छ ।

lalitpur mahangar (2)

कुनै समय कार्यालय समयमा मात्र सीमित रहने स्थानीय प्रहरीको अवधारणालाई चिर्दै ललितपुर महानगर प्रहरीले आफूलाई चौबिस घण्टे जनसेवाको पर्याय बनाएको छ । पछिल्लो समय महानगर प्रहरी बलले अपनाएका नवीनतम अभ्यास र सुधारका कार्यहरूले नगरबासीको मन जित्न सफल भएको छ ।

lalitpur mahangar (6)

कतै आगलागी हुँदा स्विच थिचे पुग्छ, दमकल आइपुगिहाल्छ । कसैको मृत्यु भयो, निःशुल्क शववाहन तुरून्त आइपुग्छ । खोलामा बाढी आयो, डुङ्गा लिएर उद्धारकर्ता पुगिहाल्छन् । विपद् व्यवस्थापनको खबर पुग्ने बित्तिकै क्रेन तयार अवस्थामा हुन्छ । कतै ढल फुट्यो, समस्या समाधान हुन धेरै समय लाग्दैन । बेवारिसे जनावर मरेका भेटिँदा व्यवस्थापन गर्ने टोली पुगिहाल्छ ।

lalitpur mahangar (3)

  • प्रविधिको उच्च प्रयोग : ‘स्मार्ट’ कन्ट्रोल रुम

ललितपुर महानगर प्रहरीले प्रविधिलाई आत्मसात् गर्दै सञ्चालनमा ल्याएको अत्याधुनिक कन्ट्रोल रुम कार्यप्रणालीको सबैभन्दा बलियो पक्ष हो । आगलागी वा अन्य कुनै पनि आपतकालीन घटना हुँदा ७ सेकेन्डभित्रै सूचना प्राप्त गर्न सकिने गरी महानगरका १५ स्थानमा ‘इमर्जेन्सी अलर्ट सिस्टम’ जडान गरिएको छ ।

lalitpur mahangar (7)

कन्ट्रोल रुमबाटै सहरका विभिन्न स्थानमा राखिएका सीसी क्यामेरा, सडकबत्ती, ढल निकास र पार्किङको अवस्था निगरानी गरिन्छ । महानगरका गाडीहरूमा जडान गरिएको जीपीएस प्रणालीले कुन गाडी कुन स्थानमा खटिएको छ भन्ने रियल–टाइम जानकारी दिन्छ, जसले गर्दा कुनै पनि समस्या आएमा तुरुन्तै जनशक्ति परिचालन गर्न सहज भएको छ ।

lalitpur mahangar (12)

  • बाढी र विपद् व्यवस्थापनमा अग्रसरता

खोला किनाराका बस्ती र डुबानको समस्यालाई मध्यनजर गर्दै महानगर प्रहरीले ‘कर्डलेस वार्निङ सिस्टम’ जडान गरेको छ । भारी वर्षा हुँदा खोलाको जलसतह कति बढेको छ भन्ने जानकारी कन्ट्रोल रुममा स्वतः प्राप्त हुन्छ । यसले गर्दा जोखिमयुक्त क्षेत्रमा समयमै सतर्कता अपनाउन र मानवीय क्षति हुनबाट बचाउन ठुलो सहयोग पुगेको छ । अघिल्ला वर्षमा जस्तो विपदका बेला पछि परेको महसुस नगरबासीले गर्नु परेको छैन ।

lalitpur mahangar (17)

  • आगलागी नियन्त्रणमा दमकल सेवा

महानगरपालिकाले चौबिसै घण्टा तयारी अवस्थामा रहने गरी दमकल सेवा सञ्चालन गरेको छ । १७ जना दक्ष नगर प्रहरीको टोली २४ सै घण्टा खटिन्छन् । स्मार्ट बोर्डमार्फत आगलागी भएको ठाउँको सही लोकेसन र म्याप कन्ट्रोल रुममा आउने भएकाले दमकल छिटोभन्दा छिटो घटनास्थलमा पुग्न सफल हुन्छ ।

lalitpur mahangar (1)

  • पार्किङ र यातायात व्यवस्थापनमा सुधार

ललितपुरका विभिन्न क्षेत्रमा हुने ट्राफिक जाम र अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न महानगर प्रहरीले नयाँ नियमहरू लागु गरेको छ । कुमारीपाटी लगायतका व्यापारिक क्षेत्रमा समानान्तर पार्किङको अवधारणा लागु गरिएपछि सडकमा सवारीसाधनको चाप घटेको छ । सडकलाई अतिक्रमणमुक्त बनाउन र फुटपाथ व्यवस्थित गर्न महानगर प्रहरी निरन्तर खटिरहेको छ ।

lalitpur mahangar (8)

  • सरसफाइ र हरियाली प्रवर्द्धन

सहरलाई सफा, सुन्दर र हराभरा बनाउन महानगरले इभी (विद्युतीय) ब्रुमर र पानी ट्याङ्करहरुको प्रयोग गरिएको छ । पानीले सडक धुने, बोटबिरुवामा पानी हाल्ने र धुलो नियन्त्रण गर्ने काम नियमित रूपमा भइरहेको छ । सडकका बिच भागमा राखिएका गमलाले सहरको सौन्दर्य मात्र बढाएका छैनन्, यसले ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुगेको छ ।

lalitpur mahangar (16)

  • नेतृत्व र जनउत्तरदायी कार्यशैली

ललितपुर महानगर प्रहरीलाई सक्षम बनाउन ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथुको ठुलो भूमिका छ । उनी प्रहरी जवान जत्तिकै खटिन्छन् । प्रायः बिहान ७ बजेदेखि रातको ९–१० बजेसम्म फिल्डमै खटिने गरेका हाछेथुले पहिलो नम्बरमा काम र दोस्रोमा परिवारलाई राखेका छन् ।

lalitpur mahangar (13)

आफ्नो काममा ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य बज्राचार्यको पूर्ण सहयोग गरेको उनले बताए । ‘सबैको सहयोग र उत्साहले मैले दत्तचित्त भएर काम गर्न पाएको छु,’ हाछेथुले भने ।

lalitpur mahangar (9)

सेवाग्राहीका गुनासाहरुलाई ५ मिनेटभित्र सम्बोधन गर्ने प्रतिबद्धता र नगरबासीको घर–घरमा सुरक्षाकर्मीको सम्पर्क नम्बर उपलब्ध गराइएको छ । यसले प्रहरी र जनताबिचको दूरी घटाएको छ । नगर प्रहरी जनताको साथी भन्ने आभास दिलाएको छ । ललितपुर महानगर प्रहरी बलले देखाएको कार्यकुशलता र प्रविधिको प्रयोग अन्य स्थानीय तहहरूका लागि पनि उदाहरणीय बन्न सक्छ ।

जनप्रतिनिधिको राजनैतिक इच्छाशक्ति, प्रशासनिक सहयोग र नगर प्रहरीको इमानदार मेहनतले कसरी एउटा सहर सुरक्षित र व्यवस्थित बन्न सक्छ भन्ने गतिलो उदाहरण हो ललितपुर महानगर । यही गति, निष्ठा, समपर्ण रहेमा ललितपुर मुलुककै सर्वोत्कृष्ट र सुरक्षित सहरको लिस्टमा पर्न सक्छ । 

lalitpur mahangar (4)lalitpur mahangar (5)lalitpur mahangar (14)lalitpur mahangar (15)lalitpur mahangar (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप