शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गायक राजेश पायल राईसँगै झुमे विद्यार्थीहरू

आइतबार, ०१ माघ २०७९, १० : ५०
आइतबार, ०१ माघ २०७९

जापान ।  साङ्गीतिक कार्यक्रमका लागि हाल जापानमा रहेका गायक राजेश पायल राईले शुक्रबार अपरान्ह यहाँस्थित एभरेस्ट इन्टरनेशनल स्कुलको भिजिट गरेका छन् । गायक राईलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा एभरेस्ट स्कुलका सयौं कलिला विद्यार्थीहरू हर्षले विभोर हुँदै उनलाई तालीको गडगडाहतले न्यानो स्वागत गरेका थिए ।

विद्यालयको प्राङ्गणमा गायक राईको आगमनसँगै फेरिएको माहौल र उनीप्रति देखिएको क्रेज साँच्चिकै हेर्न लायक थियो । अटो लिने र सेल्फी खिच्ने विद्यार्थीहरुद्वारा घेरिएका गायक राई आफै पनि विद्यार्थीहरूको बिचमा आफूलाई पाउँदा प्रफुल्ल देखिन्थे ।

छोटो मन्तव्यका क्रममा गायक राईले विद्यार्थी नानीबाबुहरूलाई आफ्ना बाबुआमा र गुरुहरूप्रति सधैँ आज्ञाकारी हुन आग्रह गरे । विदेशमा बसे पनि नेपाली भाषा र संस्कृतिलाई कहिले नभुल्न आग्रह गर्दै उनले भने -'हाम्रो जस्तो पुरानो सभ्यता र सँस्कृति संसारमा अन्त कतै छैन, यसमा हामीले गर्व गर्नुपर्छ, नेपाली गीत-संगीतलाई पनि या गरिदिनुहोला । नयाँ पुस्तालाई देशको माटोसंग जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न स्कुललाई अझ थप सफलता मिलोस् ।'

विद्यार्थीहरूको विशेष आग्रहमा राईले उनका सदाबहार गीतहरु मध्यका 'सागर सरी चोखो माया', 'दर्शन नमस्ते' र एउटा जापानी गीत गाएर सुनाएका थिए । उनको गीतमा विद्यार्थीहरूले भरमग्दुर मनोरञ्जन लिएका थिए ।

गायक राईलाई विद्यालयको तर्फबाट सञ्चालक समितिका उपाध्यक्ष मेघराज नेपाल र सल्लाहकार तिलक मल्लले खादा ओढाएर स्वागत गरेका थिए । गायक राईको विद्यालयका शिक्षक(शिक्षिकाहरूसँग भएको भलाकुसारीका क्रममा आफ्ना साङ्गीतिक यात्राका अविस्मरणीय अनुभव सुनाउँदै विद्यालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए । सो अवसरमा विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद भट्टले गायक राईको न्यानो स्वागत गर्दै यस प्रकारका हाइ प्रोफाइलका व्यक्तित्वहरूबाट हुने विद्यालयको अवलोकन भ्रमणले आफूहरूलाई हौसला एवं ऊर्जा मिल्ने गरेको बताए । प्रिन्सिपल भट्टले यस अवसरका लागि आयोजक संस्था नेपाल आदिवासी जनजाति महासङ्घ जापानप्रति आभार व्यक्त गरे ।

विद्यालयले उनलाई मायाको चिनोस्वरुप विद्यालयको लोगो, लोगो अङ्कित डायरी र कलम प्रदान गरेको थियो भने गायक राईले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै १० हजार येन चन्दा हस्तान्तरण गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासङ्घ जापानको निमन्त्रणामा जापानको विभिन्न सहरहरूमा भइरहेको साङ्गीतिक कार्यक्रमका लागि गायक राई जापान आएका हुन् । उनीसँगै गायिकाद्वय सबिना लिम्बु र समृद्धि परियार पनि जापान आएका छन् । उनीहरुको विशेष साङ्गीतिक प्रस्तुति रहेको कार्यक्रम जापानको नागोया, फुकुओका, ओसाकामा भइसकेका छन् भने आज शनिबार चिबाकेनको फुनाबासीमा र भोलि आइतबार टोकियोको इकेगामीमा हुन गईरहेको छ । यसैगरी १८ तारिख बुधबार ओकिनावामा अन्तिम कार्यक्रम हुने आयोजक संस्थाका अध्यक्ष सञ्जिव चाम्लिङ राईले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप