शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनमत पार्टीका सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने

संसदमा बोल्नु अघि पार्टी सचिवालयलाई जानकारी गराउनुपर्ने
आइतबार, ०१ माघ २०७९, १८ : ४१
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । जनमत पार्टीले आफ्ना सांसदलाई प्रतिनिधिसभामा कुनै भनाइ राख्नु अघि पार्टीको सचिवालयमा जानकारी गराउनुपर्ने नीति लागू गरेको छ । कुनै कागजातमा हस्ताक्षर गर्नु अघि केन्द्रीय सचिवालयलाई जानकारी गराएर मात्र हस्ताक्षर गर्न पनि जनमत पार्टीले आफ्ना सांसदलाई सर्कुलर गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा तथा पार्टीका सदस्यहरूका लागि जनमत पार्टीले तयार पारेको आचारसंहितामा यी कुरा उल्लेख छन् । जनमत पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख दीपक कुमार साहले सो आचारसंहिताको मस्यौदा तयार गरी पार्टीलाई बुझाएका छन् । आचारसंहितामा सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने पनि उल्लेख छ ।

आचारसंहिताको बारेमा कार्यकारिणी समितिमा छलफलपछि मात्र कार्यान्वयनमा आउने उपाध्यक्ष साहले बताए । कुनै पनि कार्यक्रममा प्रमुख अतिथि भनेर बोलाएमात्र सो कार्यक्रममा जाने र कार्यक्रममा जानुभन्दा पहिले पार्टीको सचिवालयलाई जानकारी गराएर मात्र जाने गरी जनमतले आचारसंहिता बनाएको छ ।

जनतासँग सधैँ सम्मानका साथ व्यवहार गर्ने, जनताका सेवक बनेर सेवाको लागि सदैव तयार रहने उल्लेख गर्दै जनमत पार्टीले सांसदहरुलाई जनताका घरदैलोमा नियमित जान निर्देशन दिएको छ । जनताका समस्याबारे छलफल गर्ने, स्थानीयस्तरमा समाधान गर्ने, समाधान नहुन सकेका समस्याबारे प्रतिनिधिसभा, प्रदेशसभामा प्रस्तुत गरी समाधान गर्न पहल गर्ने आचारसंहितामा उल्लेख छ ।

संसद सदस्यको रूपमा आफ्नो पदको उपयोग गर्दै पार्टीको पार्टीको विधान, नियमावली, आचारसंहिता, घोषणापत्र आदि राम्ररी अध्ययन गरेर परिचित हुन पनि निर्देशन दिइएको जनमत पार्टीका उपाध्यक्ष दीपक साहले बताए ।

पार्टीको घोषणा पत्रमा उल्लेखित योजनाहरू कार्यान्वयनका लागि तत्परता देखाउने आचारसंहितामा उल्लेख छ । आफ्नो जिम्मेवारीमा रहेका पार्टीको गोपनीय विषय र सामग्रीलाई संरक्षण गर्नुपर्ने उल्लेख गर्दै पार्टीलाई बुझाउनु पर्ने सहयोग रकम (लेवी) नियमित बुझाउनु पर्ने आचारसंहितमा उल्लेख छ ।

जनमतले सांसदहरुलाई संसदीय दलको विधान, नेपालको संविधान,  प्रतिनिधि÷प्रदेशसभा सञ्चालन निर्देशिका वा नियमावली आदि समेत राम्ररी पढेर संसदीय काम–कारबाहीमा लाग्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले आफूले पाएको शक्तिलाई दुरुपयोग गर्नबाट जोगिनुपर्ने आचारसंहितामा उल्लेख छ । सदनमा आफूले दिएको वा नदिएको मतका लागि, विधेयक पेस गर्दा, प्रस्ताव पेस गर्न वा प्रस्ताव पेस नगर्ने, प्रश्न राख्ने वा नगर्ने वा नगर्दा कुनै पनि शुल्क, पारिश्रमिक वा लाभको अपेक्षा गर्न वा स्वीकार गर्नु हुँदैन भन्ने विवरण पनि आचारसंहितामा समेटिएको छ ।

कसैको पनि चरित्र हत्या हुने र मर्यादा भङ्ग हुने अभिव्यक्ति प्रकट गर्न नहुने भन्दै जनमतले सामाजिक सद्भाव र जातीय सहिष्णुतामा खलल पु¥याउने कार्यका विरुद्ध निरन्तर जागरूक रहन निर्देशन दिएको छ । कसैले कुनै कार्यमा सहयोग पु¥याइ दिए बापत आर्थिक लाभ लिनु हुँदैन भन्दै जनमतले आफ्ना जनप्रतिनिधिलाई आफ्नो निजी आर्थिक स्वार्थ र आफ्नो नजिकका परिवारका सदस्यहरू सार्वजनिक हितसँग बाझ्न नपरोस् भन्ने कुरामा सधैँ सतर्क रहनुपर्ने उल्लेख गरेको छ । 

पार्टीले जातीगत राजनीति वा गुटबन्दी वा अनावश्यक धाकधम्की वा दाबीलाई प्रश्रय नदिने पनि जनमत पार्टीले प्रस्ट पारेको छ । पार्टीका कुनै पनि सदस्यले आचारसंहिता उल्लङ्घन गरेमा अनुशासन उल्लङ्घन र कारवाहीको विषय बन्ने चेतावनीसमेत आचारसंहितामा दिइएको छ । आचारसंहिता कार्यान्वयन गर्दा सजायको रूपमा देहायमा उल्लेखित एक वा सोभन्दा बढी प्रकृयाहरू अपनाउन सकिने भनिएको छ ।

सम्बन्धित सदस्यलाई सचेत गराउने, आलोचना तथा आत्मालोचना गर्न लगाई सोको जानकारी सार्वजनिक गर्न लगाउने, प्रमाणसहित भ्रष्टाचार गरेको प्रमाणित भएमा पदबाट बर्खास्त गरिने आचारसंहितामा उल्लेख छ । पार्टीको अनुशासन बाहिर गएर स्वेच्छाचारिता देखाएमा निज प्रतिनिधिसभा÷प्रदेशसभा सदस्यलाई पार्टीले फिर्ता गर्न सक्ने पनि आचारसंहितामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप