सभामुख पदमा उम्मेदवारी दर्तापछि न्यौपानेले भनिन्–तटस्थ भूमिकामा संसद् चलाउँछु
काठमाडौं । कांग्रेसका तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेकी ईश्वरी न्यौपानेले आफू निर्वाचित भए तटस्थ भूमिकामा रहेर संसद् चलाउने बताएकी छन् ।
बुधबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रत्याशी न्यौपानेले तटस्थ र सन्तुलित रूपमा सदन चलाउने बताएकी हुन् ।
‘निर्वाचित भए तटस्थ र सन्तुलित रूपमा सदन चलाउने मेरो प्रयास हुनेछ’, न्यौपानेको भनाइ छ । नेविसंघको सदस्य, महिला संघको उपाध्यक्ष हुँदै कांग्रेस केन्द्रीय सदस्य रहेकी न्यौपाने कैलालीबाट समानुपातिक सांसद हुन् । उनले यसअघि संविधान सभा सदस्य समेत रहेर काम गरिसकेकी छन् ।
प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थकका रूपमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् । उनले निर्वाचनमा गइसकेपछि जय र पराजय स्विकार्नुपर्ने भन्दै आफू जयको नजिक रहेकाले उम्मेदवारी दर्ता गरेको दाबी गरिन् ।
सभामुखको निर्वाचन बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा मत विभाजनमार्फत हुनेछ । न्यौपानेले उम्मेदवारी दर्तागर्नुअघि सत्ता साझेदार दलका तर्फबाट एमालेका स्थायी कमिटी सदस्य समेत रहेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए । घिमिरेलाई माओवादी केन्द्र, रास्वपा र राप्रपाको साथ रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण