शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कहाँ अड्कियो प्रचण्ड–बाबुरामको एकता प्रक्रिया ?

शनिबार, ०७ माघ २०७९, ०९ : २८
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)ले  वार्ता समिति बनाएपनि पार्टी एकताका लागि सकारात्मक नतिजा आउन सकेको छैन । माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गरेको छ  भने नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता गठन गरेको छ । तर, दुवै तर्फबाट वार्ता टोली गठन भएको दुई हप्ता पुग्दा समेत पार्टी एकता प्रक्रियाले गति लिन नसकेको हो । 

पार्टी एकता प्रक्रियाका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र नेसपाका अध्यक्ष बाबुराम भट्टराई समेत हतारमा देखिन्छन् । प्रचण्ड–बाबुरामसहितका कतिपय नेताहरू पार्टी एकता गरेर तत्काल टुङ्गो लगाउने पक्षमा पुगिसकेका छन् । तर, वार्ता समितिले अहिलेसम्म परिणाम देखिने गरी नतिजा निकाल्न नसकेको हो । 

तर, माओवादी केन्द्रका उपमहासचिव एवम् वार्ता टोलीका सदस्य शक्तिबहादुर बस्नेत भने बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसहित अरू पार्टीसँग पनि पार्टी एकताका विषयमा छलफल गर्न लागिएको बताउँछन् । वार्ता टोलीका संयोजक महरा केही दिन उपत्यका बाहिर व्यस्त भएकाले खासै छलफल हुन नसकेको उनको भनाइ छ ।  ‘महराजी केही दिन उपत्यकाबाहिर भएकाले विभिन्न वाम शक्तिका नेताहरुसँग खासै  भेटघाट हुन सकेको छैन । केही दलहरुसँग अनौपचारिक छलफल भइराखेको छ, त्यसले मूर्तरुप लिइसकेको छैन’ बस्नेतले रातोपाटीसँग भने, ‘महराजी फर्किसक्नु भएको छ । अब  विभिन्न शक्तिसँग संवाद थालेर निष्कर्षमा पुग्छौँ।’

नेपाल समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष महेन्द्रराय यादवले भने माओवादीसँग पार्टी एकता गर्न तयार भए पनि केही प्राविधिक पक्ष मिलाउनु पर्ने भएकाले ढिलाइ भएको प्रक्रिया दिए । ‘माओवादी केन्द्रसँग पार्टी एकता गर्न दुवै पक्षबाट वार्ता टोली गठन भइसकेको छ । मनोवैज्ञानिक रूपमा पार्टी एकता गरेर जाने वातावरण निर्माण भएको छ,’ यादवले भने,‘हाम्रो पार्टी विभाजन भएपछि पुनर्गठन गरेका छैनौँ । केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका र वडासम्म बैठक बसेर माइन्यूट गर्नुपर्ने छ । त्यसो भएमा तलदेखि माथिसम्म सबै साथीहरुलाई समेट्न सहज हुन्छ ।’

विगतको पार्टी एकताको समीक्षा गर्दै सबै नेता कार्यकर्तालाई समेट्नुपर्ने बाध्यता भएकाले एकता गर्न ढिलाई भएको यादवले बताए । अब माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्न महिना दिन भन्दा बढी नलाग्ने यादवको दाबी छ ।

नयाँ पार्टीको नामबारे बहस

बाबुरामले कम्युनिस्ट नाम नराखेर समाजवादी केन्द्र वा  समाजवादी मात्रै राखेर पार्टी बनाउनु पर्ने धारणा राख्दै आएका छन् । त्यसो भएमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग एकता गर्न सहज हुने बाबुरामको बुझाई छ । यस्तै हँसिया हथौडा चुनाव चिन्ह जनताले नरुचाएकाले अरू कुनै राख्नुपर्ने बाबुरामको मत छ । तर, माओवादी नेताहरू समाजवादी केन्द्र बनाएपनि नेकपा छोड्न नहुने अडानमा छन् । चुनाव चिह्न फेर्ने विषयमा भने माओवादी नेताहरू लचक देखिएका छन् । पार्टीको नाम र चुनाव चिन्हमा केन्द्रित भई छलफल नभएकाले कुनै टुङ्गो लागेको छैन । तर, पार्टी एकता गर्ने समझदारी भइसकेकाले पार्टीको नाम र चुनाव चिन्हले समस्या नआउने दुवैतर्फका नेताहरूले बताउने गरेका छन् ।

तत्काल माओवादी केन्द्र र नेसपाबीच एकता गरेपछि  जसपा, एकीकृत  समाजवादी, आमजनता पार्टी लगायत पार्टीसँग छलफल गर्ने तयारी गरिएको छ । तत्काल एमाले बाहेकका पार्टीलाई एकताबद्ध गरेर प्रधानमन्त्री प्रचण्ड शक्तिमा रहने रणनीतिमा छन् । एमालेबाहेकका पार्टीलाई एकताबद्ध गर्न सकेमा सरकार सञ्चालन र चुनावी मोर्चा बनाउन सहज हुने प्रचण्डको बुझाई छ । प्रचण्ड प्रधानमन्त्री भएपछि जसपा र एकीकृत समाजवादी पहिलेको तुलनामा टाढिएका छन् । यद्यपि उनीहरू समेत तुलनात्मक रूपमा एमाले भन्दा माओवादी केन्द्रसँगै नजिक देखिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप