मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा शेखर पक्षको प्रश्न : प्रचण्डलाई ढोका किन बन्द गरियो ?

आइतबार, ०८ माघ २०७९, १६ : ३०
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहले सरकारलाई विश्वासको मत दिनु नै थियो भने प्रचण्डलाई प्रधानमन्त्री नदिएर किन गठबन्धन टुटाएको भनेर सभापति शेरबहादुर देउवालाई प्रश्न गर्ने भएको छ । 

आज बिहान वत्तिसपुतलीमा बसेको सो समूहको बैठकमा नेताहरूले निर्वाचनअघि जनतासँग गरेको बाचा अनुसार गठबन्धन टिक्न नसक्नुको कारणबारे नेताहरूले आआफ्ना धारणा राखेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । 

‘पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र कुराकानी भयो । त्यस क्रममा नेताहरूले आआफ्ना धारणाहरू राख्ने काम भयो’, केसीले भने, ‘समग्रमा अव सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निभाउने र माघ १५ मा हुने पार्टीको केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्नेमा छलफल भए पनि कुनै निर्णय भएको छैन ।’

त्यस्तै अर्का नेता चन्द्र भण्डारीले निर्वाचनमा गठबन्धन बनाएपनि सरकार बन्ने बेला गठबन्धन किन टुट्यो, कमजोरी कहाँ भयो ? भन्ने समीक्षा भएको बताए । ‘सरकारलाई किन विश्वासको मत दियौँ ? कांग्रेस किन कन्फ्युजनमा ? स्पष्ट दृष्टिकोण किन हुन सकेन ? यस्तै प्रश्नसहितका धारणा नेताहरूले राख्नुभयो’, भण्डारीले भने, ‘अव कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने वा राष्ट्रपति पाउँछ कि पाउँदैन भनेर हिँड्ने ? यसबारे पार्टीको लाइन प्रस्ट हुनुपर्छ भन्ने मत आएको छ ।’ 

उनले पार्टीभित्र पनि विचारका दोकानहरू धेरै भएको भन्दै आगामी दिनमा सदन र केन्द्रीय समिति बैठकमा एकमतका साथ प्रस्तुत हुनुपर्नेमा नेताहरूको भनाइ आएको बताए ।

‘१० गते बिहान सदनमा जानुअघि एउटा धारणा बनाउँछौँ  । छलफल बल्ल सुरु भएको छ । विश्वासको मत दिएर गल्ती गरियो भन्ने आउटपुट आउदैछ । माओवादीलाई ढोका बन्द गर्नु हुदैन थियो भन्ने तर्क पनि आएको छ’, भण्डारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप