बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सावधान ! कोइलाको न्यानोले जान सक्छ ज्यान

बन्द कोठाभित्र कोइलाले न्यानो पार्दा कसरी जान्छ ज्यान ?
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । शुक्रबार राति कोटेश्वरमा कोठामा कोइला बाली झ्याल ढोका बन्द गरेर सुतेका चार जना बेहोस भई अस्पताल भर्ना भएका छन् । 

तीन जनालाई सिभिल अस्पताल र एक जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । सिभिल अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले बेहोस हुनेहरू तीनै जनाको आईसीयूमा उपचार भइरहेकोमा अहिले अवस्था खतरामुक्त रहेको जनाए ।  कोइला बालेर सुत्दा बेहोस हुनेहरूमा ९० वर्षीया छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र ३५ दिनका शिशु श्रीयाल खड्का छन् ।

विषालु ग्यास उत्पन्न

कोठाभित्र न्यानोपनका लागि बालिने कोइला, गुइँठा, आगो, भुसले कार्बन मोनोअक्साइड विषालु ग्यास उत्पन्न गर्ने वीर अस्तपालका उपनिर्देशक तथा छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ बताउँछन् । 

न्यानोपनका लागि बालिएको कोइलाले निकालेको कार्बनमोनो अक्साइड विषालु ग्यास बालिएको ठाउँमा भेटिलेसन अर्थात् झ्याल, ढोका बन्द भई पर्याप्त मात्रामा हावा ओहोरदोहोर हुन सक्तैन । यसले सो विषालु ग्यास उत्पन्न भई स्वास्थ्यमा गम्भीर असर पुर्‍याउनुका साथै ज्यानै जान सक्ने डा.श्रेष्ठको भनाइ छ । 

त्यसरी कोइला ताप्दा कार्बनमोनो अक्साइड विषालु ग्यास ओहोरदोहोर गर्न नपाएमा सुरुमा टाउको दुख्ने, वाकवाकी हुने, रिंगटा लाग्ने, चक्कर लाग्ने, बेहोस भइ मृत्यु समेत हुने छाती रोग विशेषज्ञ डा श्रेष्ठले बताउँछन् ।

घरभित्र कोइला, आगो ताप्दा कोठाभित्र हावा छिर्ने गरी झ्याल ढोका खुल्ला अनिवार्य रूपमा राख्न उनको सुझाव छ ।

दीर्घरोगीले कोइला ताप्दा झन् असर

छाती रोग विशेषज्ञ डा. श्रेष्ठका अनुसार लामो समयसम्म दीर्घरोगीले आगो तापिरहँदा तातो हावाले असर गर्छ । हावाको आर्द्रता कम हुँदा हावा सुख्खा हुन्छ । 

सुख्खा हावाले घाँटी खस्खसाउने, खोकी लाग्ने, दमका बिरामी श्वास फेर्न गाह्रो हुने, हात, मुख, ओठ, नाक सुख्खा हुने, कतिपय अवस्थामा नाकबाट रगत आउने अवस्थासमेत सिर्जना हुने डा.श्रेष्ठ बताउँछन् । 

यसरी कोइला, आगो, गुइँठा, भुस ताप्दा १२ वर्षभन्दा कम उमेरका र ६० वर्षभन्दा माथिका वृद्धावृद्धलाई अझै जोखिम हुने उनको भनाइ छ । जाडो याममा बालबालिका र वृद्धावृद्ध प्रायः घरभित्र सीमित रहन्छन् ।  उनीहरूलाई न्यानोपनका लागि  गुइँठा, आगो, भुस न्यानोका लागि प्रयोग गर्ने चलन छ ।   

कोइला ताप्दा असर गरेको कसरी थाहा पाउने ?

न्यानोपनका लागि कोइला, भुस, आगो ताप्दा ताप्दै पनि स्वास्थ्यमा असजिलो भएको थाहा पाउन सकिने उपनिर्देशक डा.श्रेष्ठ बताउँछन् । 

यसरी आगो ताप्दा घाँटी खसखस हुने, नाक सुख्खा हुने, खोकी लाग्ने, श्वास प्रश्वासमा समस्या हुने क्रम बढ्यो भने औषधि सेवन गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । 

कुनै पनि दीर्घ रोग नलागेका अर्थात् स्वास्थ्यमा कुनै पनि समस्या नभएका व्यक्तिले पनि बन्द कोठाभित्र कोइला, आगो, गुइँठा, भुस तापेर निदाउँदा वा बस्दा स्वास्थ्यमा समस्या देखिन सक्ने डा.श्रेष्ठ जनाउँछन् । 

यस्तै, हिटरले पनि हावालाई सुख्खा बनाउँछ । बन्द कोठामा हिटर पनि लामो समय ताप्दा खोकी लाग्ने, घाँटी खसखस हुने, नाक चिलाउने, रगत आउने, छाला चिलाउने हुन सक्छ । जाडो याम बाँकी नै रहेकाले सचेत रहन उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया